ब्रह्माण्ड ध्वस्त हुँदैछ भनी भविष्यवाणी गर्ने नेतालाई मृत्युदण्ड

अनलाइन दर्पण 2018-07-06
img

जापान । पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने एक जना व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । ब्रह्माण्ड समाप्त हुँदैछ भनी अफवाह फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा गरिएको रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार सोको आसहारालाई मृत्युदण्ड दिइएको हो ।

आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् । उनी सन् १९९५ को २० मार्चमा स्नायू प्रणालीमा असर पुर्‍याउने रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए । कम अपराध हुने र सामाजिक एकताको नमूना देश मानिने जापान उक्त आक्रमणपछि स्तब्ध बनेको थियो ।

उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरुमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति कुरेर बसेका छन् । -एजेन्सी

सम्बन्धित समाचार

Advertisement