मधेसमा सचेतनतापूर्वक अभियान चलाउनुपर्ने महसुस भएको छः एमाले सचिव भट्टराई

अनलाइन दर्पण 2020-10-14
img

० फागनु २१ गतेदेखि मेची–काली अभियान गर्दै हुनुहुन्छ, तयारी कस्तोे छ ?

फागुन २१ गते बिहान १० बजे झापाका काँकडभिट्टाबाट मेची–महाकाली राष्ट्रिय अभियान सुरु हुँदै छ । यो देशभरिकै राष्ट्रिय अभियान हो । तर, भौगोलिक हिसाबले यसले २२ वटा जिल्लालाई छुन्छ । अहिले २२ वटै जिल्लामा तयारीको काम तीव्र गतिमा भइरहेको छ । विशेष गरी प्रदेश नं. १ र २ मा यसको तयारी अन्तिम चरणमा पुगेको छ । यसका निम्ति प्रदेश कमिटीका बैठकहरू बसेर योजना बनाइसकेका छन् । त्यस्तै, जिल्ला कमिटीका, निर्वाचन क्षेत्रीय कमिटी, त्योभन्दा तलका कमिटीहरू, जनसङ्गठनहरू, मोर्चा सङ्गठन, पेसागत सङ्गठनहरू सबैले भेला, बैठक बसेर यसको तयारीका लागि आफ्ना कामहरू अगाडि बढाइरहेका छन् । यो अभियानमा पार्टी अध्यक्ष, वरिष्ठ नेताहरू, केन्द्रीय सदस्य, सांसदहरूसहित नियमित हिसाबले १ हजार जना सहभागी हुनुहुनेछ । उहाँहरूलाई बस्ने, खानेलगायतका व्यवस्था स्थानीय कमिटीहरूले गर्नुपर्नेछ । त्यसका निम्ति पनि स्थानीय कमिटीहरूले आवश्यक तयारी गरिरहेका छन् । यो टोलीलाई धेरै ठाउँमा शुभचिन्तकका, कार्यकर्ताका घरघरमा राख्ने, त्यही खाना खुवाउने तयारी गरिराख्नुभएको छ ।

० राष्ट्रिय अभियान भन्नुभएको छ, तर केन्द्रितचाहिँ किन तराई–मधेसमा मात्र गर्नुको उद्देश्य के हो ?

यो अभियान हामीले तराईको पूर्व–पश्चिम राजमार्गलाई केन्द्रित गरेर गरेका हौं । यद्यपि, यसमा पूर्व १ नं. प्रदेशमा सोलुखुम्बुदेखि ताप्लेजुङसम्मका र पश्चिममा मुस्ताङदेखि दार्चुलासम्मका पार्टी कमिटीहरू क्रियाशील छन् । तराईका आफूलाई अनुकूल पर्ने राजमार्गका स्थानहरूमा उहाँहरू पनि आउनुहुन्छ । तर, विशेष गरी यसले तराईका २२ जिल्लालाई फोकस गर्न खोजेको छ । पहिलेदेखि नै हामीले यो अभियान चलाउन खोजेका हौं । जनसंख्याको एउटा ठूलो हिस्सा तराई–मधेसमा बस्छ । एमालेप्रति जुन खालको भ्रम, अन्योल फैलाउने दुचेष्टा गरिएको छ, यो हिस्सालाई ती भ्रम र दुचेष्टाबारे प्रस्ट पार्ने, विशेष गरी तराई–पहाड र हिमालको एकतालाई सुदृढ गर्ने, जाति–जनजातिबीचको एकतालाई सुदृढ गर्ने र नेपालको सामाजिक सद्भावलाई अझै बलियो बनाउने हाम्रो अभियानको उद्देश्य हो । मैले अझै भन्ने गरेको छु– पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दा कतिपय कुरा उनको कार्यकालमा पूरा भएन । त्यसपछिका उनका उत्तराधिकारीहरू, भाइभारदारहरू आपसी झगडा, सत्तालिप्सा र भोगविलासमा लागे । तिनले एकीकरणको अभिभारा पूरा गरेनन् । त्यसकारण, नेकपा (एमाले) ले मेची–महाकाली अभियान पृथ्वीनारायण शाहको बाँकी कार्भभार पुरा गर्ने अभियान पनि हो । यसले आउने शताब्दीयौंसम्म नेपालको राष्ट्रिय एकतालाई सुदृढ मात्र होइन, अझै बलियो बनाउँछ ।

० पहाडी, हिमाली जिल्लाका पार्टी कमिटी पनि यो अभियानमा जोडिने भए पनि कार्यक्रम गर्ने भनेको तराईमै हो । पहिले पनि तराई–मधेसकेन्द्रित चारमहिने अभियान चलाउनुभयो । मूलतः एमालेलाई मधेसविरोधी भनेर भिराइएको बिल्ला हटाउनकै लागि यो सबै गरिरहनुभएको हो ?

 हामी कुनै स्पष्टीकरण दिन त्यहाँ गइरहेका छैनौं । हामी आफ्नो कुरा बताउन गइराखेका छौं । हामी प्रतिरक्षात्मक भएर गएका पनि होइनौं । तराई–मधेसमा अलिक ज्यादा सचेतनताका अभियान चलाउनुपर्ने आवश्यकता हामीलाई महसुस भयो । अर्को कुरा, यस्ता अभियानहरू भौगोलिक हिसाबले पनि सुगम ठाउँमै गरिन्छ । पहाडमा पनि यस्ता अभियान हुन्छन्, जिल्ला–जिल्लामा भइ नै रहेका छन् । तर, यातायातलगायतका कारण एउटा जिल्ला र अर्को जिल्ला जोड्ने खालको सुविधा पहाडमा छैन । मध्यपहाडी मार्ग पूरा भएपछि पहाडमा पनि यो अभियान चल्छ । हाम्रो सोचाइ यो अभियानलाई दोस्रो चरणमा हुलाकी राजमार्गलाई आधार बनाएर चलाउने र तेस्रो चरणमा पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई आधार बनाएर चलाउने र आउने संसदीय चुनावसम्म (आउने मंसिर) तीनवटै अभियान चलाइसक्नेछ ।

० अभियानको पूर्वसन्ध्यामा मधेसका गौर, जनकपुरलगायतका ठाउँमा भएका तपाईंको पार्टीका कार्यक्रम बिथोल्ने प्रयास भइसककेका छन्, यो अभियानले मुलुकलाई अझ मुठभेडतर्फ लैजाने, दलहरूबीचको दूरी बढाउने त होइन ?

पहिलो कुरा, नेकपा (एमाले) ले यो देशमा शान्तिपूर्ण र वैधानिक राजनीति गर्ने कुनै पनि पार्टीलाई आफ्नो शत्रु पार्टी घोषणा गरेको छैन । त्यसो हुँदा अरू सबैले पनि नेकपा (एमाले) प्रति त्यही खालको खालको दृष्टिकोण बनाउन भन्ने हाम्रो शुभेच्छा छ, चाहना छ । दोस्रो, लाोकतन्त्र, खुला समाज र अधिकारका निम्ति सबैभन्दा अग्रभागमा लड्ने पार्टी नेकपा (एमाले) हो । आज संविधानमा पनि ती अधिकारलाई सूत्रबद्ध रूपमा सुस्पष्ट गर्ने पार्टी एमाले नै हो । यो पार्टीलाइ कुनै पनि भूभागमा कार्यक्रम गर्न दिँदैनौं, छेक्छौं भन्ने कसैले दुष्प्रयत्न गर्छ भने त्यो उसको अवसानको बाटो हो भन्ने बुझे हुन्छ । एमाले एउटा जिम्मेवार पार्टी पनि भएको हुनाले हामी हाम्रो अभियानको दौरानमा कुनै उत्तेजनात्मक अभिव्यक्ति वा गतिविधि गर्दैनौं । हामी संयम र धैर्यका साथ जाँदै छौं । हामी आफ्नो कुरा बताउन गइराखेका छौं । कसैलाई हाम्रो कुरा मन पर्दैन भने त्यस्तै कार्यक्रम आयोजना गरेर खण्डन गर्ने स्वतन्त्रता उसलाई छ । तर, शान्तिपूर्ण कार्यक्रम बिथोल्न कोही आउँछ भने एमालेले त्यसको प्रतिवाद गर्छ ।

० कतिपय राजनीतिक दलले नै खुलमखुला कार्यक्रम बिथोल्ने घोषणा नै गरेका छन् नि ?

 हामीले प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायसँग सम्बद्ध सबै निकायका प्रमुखहरूलाई हाम्रो अभियानका बारेमा पूर्वजानकारी गराएका छौं । एउटा राजनीतिक दलको कार्यक्रमको, दलका नेताहरूको सुरक्षा गर्नु राज्यको दायित्व हो । त्यसकारण, हामी सरकारलाई पनि भन्न चाहन्छौं, त्यस्ता खालका उच्छृंखल गतिविधिमाथि नियन्त्रण गरियोस् । त्यसो गर्न उत्प्रेरित गर्ने, कार्यक्रम बिथोल्ने घोषणा गर्ने राजनीतिक दलका मान्छेसँग कुराकानी गरेर स्थितिलाई सामान्यीकरण गर्ने काम सरकारको हो । हामी आफ्नो अधिकार हो, निर्धारित ठाउँमा कार्यक्रम लिएर जान्छौं । स्थानीय तहमा आउने जस्तासुकै चुनौतीको पनि सामना गर्ने साहस, हिम्मत र सम्पूर्ण तयारीका साथ हामी जाँदै छौं ।

० यही बीचमा स्थानीय चुनाव पनि घोषणा भइसकेको छ, अब यो अभियान निर्वाचनसँग पनि त जोडिने होला होइन ?

 पक्कै पनि यो अभियान निर्वाचनसँग जोडिन्छ । यसले नेकपा (एमाले) को पक्षमा जनमत सिर्जना गर्छ । संविधानको पक्षमा, राष्ट्रिय एकता सुदृढ गर्ने कुरामा जनमत सिर्जना गर्छ । सामाजिक सद्भावलाई अभिवृद्धि गर्ने काम गर्छ र यो देशमा नेकपा (एमाले) को नेतृत्व अपरिहार्य छ भन्ने कुरालाई हामी यो अभियानका क्रममा अझ सुस्पष्ट ढंगले स्थापित गर्छौं । स्थानीय निकायमा एमालेका उम्मेदवारहरूले अत्यधिक ठाउँमा जित्ने पूर्वतयारी पनि हामी यो अभियानका क्रममा गर्छौं । यो अभियानले पार्टीलाई आन्तरिक हिसाबले एकताबद्ध र सुदृढ पनि बनाउँछ । पार्टीको संगठनात्मक मामिला, नीति, विचार आदिका मामिलामा सामान्य मनमुटाव हुन्छन् । तर, अहिले स्थानीय तहदेखि केन्द्रीय तहसम्मको चुनावमा एमालेले बहुमतसहितको पहिलो पार्टी बन्नुपर्छ भन्ने कुरामा हामीबीच कुनै विमति छैन । त्यसैले, यो अभियानले एमालेलाई त्यो ठाउँसम्म पु¥याउने पूर्वाधार पनि तयार गर्छ ।

० मधेसकेन्द्रित क्षेत्रीय दलहरूले सार्वजनिक रूपमै एमालेलाई मधेसबाट ब्यान्ड बाजासहित लखेट्ने उद्घोष गरेको अवस्था यो अभियानले मधेसमा एमालेको पोजिसनमा कस्तो प्रभाव पार्ला ?

 पहिलो कुरा त उहाँहरूले प्रयोग गर्ने ‘लखेट्ने’ भन्ने शब्द नै अधिनायकवादी शब्द हो । त्यो भनेको चरमपन्थी विचार बोक्नेहरूको दृष्टिकोण हो । हामी मधेसवादी दलहरू जो अहिले व्यवस्थापिका–संसद्मा पनि प्रतिनिधित्व गरिरहनुभएको छ, उहाँहरूलाई भन्न चाहन्छौं– के तपाईंहरू सामाजिक फासीवादी दिशामा जान चाहनुहुन्छ ? तपाईंहरू अधिनायकवादी दिशामा जाँदै हुनुहुन्छ ? चरमपन्थी विचार र पृथकतावदी दृष्टिकोणका साथ जाँदै हुनुहुन्छ ? त्यो हो भने तपाईंहरूले आफ्नो कित्ता प्रस्ट पार्नुस् । होइन शान्तिपूर्ण बाटोमा हुनुहुन्छ, राजनीतिक अभियानका साथ अगाडि बढ्न चाहनुहुन्छ भने शान्तिपूर्ण बाटोमा हिँड्ने दलसँग हाम्रो दुश्मनी हुँदैन ।

० सरकारले स्थानीय तहको चुनावको मिति त घोषणा ग¥यो, तर आम जनता अझै चुनाव हुन्छ कि हँुदैन भन्ने द्विविधामै छन् । तपाईंलाई के लाग्छ, सरकारले साँच्चिकै चुनाव गर्नकै लागि मिति घोषणा गरेको हो कि प्रतिपक्षलाई अलमल्याउनका लागि मात्र हो ?

 नेकपा (एमाले) पुरापुर चुनावको वातावरण वनाउने काममा लागिरहेको छ । तर, चुनावको राजनीतिक, प्रशासानिक, भौतिकलगायतका सबै तयारीको दायित्व सरकारको हुन्छ । सरकारले चुनावको मिति घोषणा गरिदिएपछि पुग्छ भन्ने ठानेको होला, तर त्यसले हुँदैन । चुनाव हुने विश्वासिलो वातावरण बनाउने काम सरकारको हो, त्यो काम सरकारले बनाउनुपर्छ ।

० विडम्बना, सरकारले चुनावको मिति घोषणा गरेको छ, तर सत्तापक्ष नै चुनावविरोधी आन्दोलनमा छ नि ?

त्यसकारण, हामीले मधेसी मोर्चाका साथीहरूलाई भनिराखेका छौं– तपाईंहरू प्रतिपक्ष हो कि सत्तापक्ष हो, त्यो स्पष्ट गर्नुस् । प्रतिपक्ष हो भने तपाईं र हाम्रा बीचमा सहकार्य हुनुप¥यो, तपाईंहरू आउनुस् । होइन, तपाईंहरू सत्तापक्ष हो भने सरकारले गरेको चुनाव घोषणालाई सफल बनाउन लाग्नुस्, हामी चुनावको पक्षमा छँदै छौं । स्वयं कांग्रेस र माओवादी केन्द्रलाई पनि हामी भन्दै छौं– तपाईंहरू केन्द्रदेखि तलसम्म तपाईंको पार्टी कमिटीहरू चुनावको पक्षमा माहोल बनाइरहेका छैनन् । चुनावको पक्षमा अभिव्यक्ति दिइरहेका छैनन् । के साँच्चै तपाईंहरू चुनाव गर्न खोजिरहनुभएको त छ ? यो उहाँहरूलाई हाम्रो प्रश्न हो ।

० संविधान संशोधनको पूर्ववत् अडानबाट एमाले पछि हट्यो, अब संविधान संशोधन हुन्छ अनि चुनाव पनि हुन्छ भन्ने एकथरी धारणा पनि सुनिन थालेको छ नि ?

 संविधान संशोधनको विषयलाई अवरोधविना छलफल र टेबुल गर्न जुन दिन हामीले दियौं, त्यो दिन हामीले यो सरकारलाई एउटा मौका दिएका हौं । किनभने, सरकार संविधान संशोधनको एकदम गलत बाटोमा जाँदै थियो । त्यो असम्भव बाटो थियो । जहाँ जाँदै थियो, त्यसका निम्ति अगाडि बाटो पनि थिएन । स्वयं सत्तारूढ दलभित्रैबाट यो संशोधनको विपक्षमा मतहरू प्रकट भइरहेका थिए । एमाले त स्वतः यसको विपक्षमा छँदै थियो, अरू नौ दल पनि हामीसँग थिए । यो सबै कुराले संविधान संशोधन विधेयक पास नहुने कुरा निश्चित थियो, आज पनि छ । अर्कातिर पुस १६ को सर्वोच्च अदालतको फैसलाले संविधान संशोधनका विषयहरू सम्मानित संसद्मा छलफल हुन सक्ने कुरा हुन्, तर ती संवैधानिक हुनुपर्छ, असंवैधानिक विधेयकहरू संसद्मा छलफल हुन सक्दैनन् भनेको अवस्थामा फेरि त्यसलाई जबर्जस्त अगाडि बढाउनु सर्वोच्चको फैसलाको विपरीत हुन्छ । त्यसैले, हामीले मौन बसेर सरकारलाई पछाडि हट्ने बाटो दिएका हौं । अथवा, अगाडि जाने बाटो छैन, जहाँ पुग्नुभएको त्यही बस्नुस् । जहिले अगाडि जाने बाटो बन्छ, अनि अगाडि बढ्नुहोला । अगाडिको बाटो आउने संसदीय चुनावपछि मात्र बन्छ ।

० मोर्चालाई मनाउन २ नं. प्रदेशमा केही दिनभित्रै स्थानीय तहको संख्या बढाइँदै छ भन्ने सुनिन्छ, यदि त्यो भएका तपाईंहरूको पोजिसन के हुन्छ ? चुनावको सर्तमा मान्ने कि विरोध गर्ने ?

स्थानीय तह पुनःसंरचना आयोगलाई दिएको कार्यदेशमा २ नं. प्रदेशका लागि एउटा मापदण्ड, अरू प्रदेशका लागि अरू नै मापदण्डबाट स्थानीय तह बनाउने कुरा थिएन । त्यसमा समान मापदण्ड आकर्षित भएका छन् । त्यसैले, फेरि यसलाई चलाउनु, गिजोल्नु भनेको मुलुकलाई थप अन्योलतिर लैजाने, दलहरूबीचमा अविश्वास सिर्जना गर्ने, मुलुकलाई असफल राष्ट्र बनाउने, संविधानलाई निकम्मा बनाउने षड्यन्त्रको काम हो । हामी सरकालाई त्यो नगर्न आग्रह गर्छौं । अहिले पुनःसंरचना आयोगले जे प्रतिवेदन दिएको छ, त्यसैका आधारमा यो चुनाव हुनुपर्छ । स्थानीय तहको सीमा, संख्याको पुनःसंरचनाको आवश्यकता भयो भने अर्को स्थानीय तहको चुनाव अघि गर्न सकिन्छ ।

० पछिल्लो समयमा प्रधानमन्त्री र तपाईंको पार्टी अध्यक्षका शृंखलाबद्ध गोप्य भेटघाटका कुरा बाहिर आएका छन् । के फेरि सत्ता फरेबदलका प्रयास सुरु भएका हुन् ? एमालेलाई सत्तामा जान हतारो भइसकेको हो र ?

एमालेभित्र पनि केही साथीहरूलाई छिटो–छिटो सरकार चाहिन्छ । त्यस्ता साथीहरूले केही अदृश्य कोसिस गरेका होलान् । तर, नेकपा (एमाले) को आधिकारिक धारणा भनेको अहिले हाम्रो दृष्टिकोण सरकारतिर छैन । हामी यही सरकारले चुनाव गराओस् भन्ने पक्षमा छौं । एमाले प्रतिपक्षमा रहेर चुनाव लड्छ । एमालेको तलदेखि माथिसम्मको ठूलो पंक्तिले आफूलाई प्रतिपक्षमा बसेर चुनाव लड्दा नै अनुकूल ठान्छ । त्यसकारण, आज एमालेका निम्ति अनुकूल परिस्थिति छ ।पहिलोपोस्ट 

सम्बन्धित समाचार