वाम गठबन्धनलाई जनताको ठूलो साथ र समर्थन छ

अनलाइन दर्पण 2017-11-15
img

 दोलखा। दोलखा एमालेका संस्थापक नेता आनन्दप्रसाद पोखरेल पूर्व पर्यटन मन्त्री हुन् । दोलखाको जिल्ला कमिटी सदस्य, सचिव हुँदै बाग्मति अञ्चल कमिटी सदस्य र केन्द्रीय ऊर्जा विभाग सचिव बन्नु भएका पोरखेल युवा संघ नेपालका  पूर्व केन्द्रीय सदस्य हुन् । 

दोलखाको साविक जफे गाबिसको अध्यक्ष हुँदै दोलखा क्षेत्र नं.–बाट दुई पटक प्रतिनिधिसभा सदस्य बन्नु भएका पोखरेल यस पटक भने उम्मेदवार हुनुहुन्न । राजनीतिमा क्रियाशीलताकै कारण पद निर्माण हुनेमा विश्वास राख्नुहुने पोखरल अहिले दोलखामा वाम गठबन्धनको चुनावी कमाण्डर हुनुहुन्छ ।

संसदीय राजनीतिक, विकास, पर्यटन र ऊर्जा क्षेत्रमा विशेष दख्खल राख्नुहुने पोखरेलाई जिल्लामा धेरैले बौद्धिक र विकासवादी नेताको रुपमा चिन्ने गर्छन् । सहयोगी, शुभेच्छुक र समर्थकसँगै पार्टीभित्र र बाहिर उनी बौद्धिक र बिकास प्रेती नेताका रुपमा परिचित छन् । तथापी आफ्ना आलोचकप्रति कट्टर बन्ने आरोप उनीमाथि लाग्ने गर्छ । 
दोलखा प्रदेश सभाका दुवै क्षेत्र र प्रतिनिधि सभामा वाम गठबन्धनका उम्मेदवार जिताएर लालकिल्ला जोगाउने अभियानमा सक्रिय पोखरेल सवै उम्मेदवारले भारी मतका साथ जित्ने बताउनुहुन्छ । 

यो निर्वाचनमा तपाईं चुनाव लड्नु भएन । राजनीतिबाट ओझेल पर्ने मनस्थितिमा पुग्नु भएको हो ?

हैन । म निरन्तर राजनीतिमै छु । यस पटक मात्रै चुनावमा नउठेको हो । मैले  दोलखा क्षेत्र नं. २ मा दुईपटक चुनाव लडेँ । यस पटक पोलिटब्यूरो सदस्य  पशुपति चौलागाईं लड्नुभएका छन् । यसमा मैले गर्व गरेको छु । किनकी मैले पछिल्लो नेतृत्व योग्य, समक्ष र परिपक्क व्यक्तिलाई हस्तान्तरण गर्दैछु । प्रतिनिधि सभामा पार्वत गुरुङ, क्षेत्र १ मा विशाल खड्का लड्नुभएको छ । यस अभियानमा म उहाँहरुको निर्वाचन कमाण्डर बनेको छु । अहिले मैले राजनीति छोड्ने बेला भएको छैन । हाम्रा उम्मेदवारहरुलाई जिताएर उहाँहरुको समृृद्धि अभियानमा सहयोगी बन्ने योजना छ । पार्टी र गठबन्धनले घोषणा गरेका नीति, कार्यक्रम लागू गर्न लागि पर्ने र दोलखाली जनताको विकास र समृद्धिका लागि मेरो अनुभव र योग्यतालाई उच्च ढंगले प्रयोग गर्ने योजनामा छु । 
 

दोलखाको निर्वाचन परिचालन अवस्था कस्तो छ ? 

दोलखा जिल्ला वामपन्थीहरुको वर्चश्व रहेको जिल्ला हो । त्यसमाथि यो निर्वाचनमा एमाले र माओवादीको गठबन्धन भएको छ । जस कारण दोलखामा निर्वाचनको प्रतिस्पर्धा नै देखिँदैन । वाम गठबन्धनलाई जनताको ठूलो साथ र समर्थन छ । जनत उत्साहित छन् । वामपन्थीहरुले देशको राष्ट्रियता र अखण्डता जोगाउँछन् ।  देशको विकास गर्छन् । जनतालाई न्याय र समृद्धि दिन्छन् । यही भनेर जनसहभागिता उत्साहजनक छ । पार्टी प्रवेशको लहर चलिरहेको छ । दोलखामा हामी दुईतिहाई मत ल्याएर चुनाव जित्छौं । 

एमाले माओवादीका कार्यकर्ताको मत मिलेको छैन । एमालेका पुराना नेताले विद्रोह पनि गरेका छन् । जसले गर्दा भोट कम आउँछ भन्ने आँकलन पनि छ नि ? 

एमाले सांगठनिक रुपले बलियो आधार भएको पार्टी हो । स्थानीय निर्वाचनमा एक्लै लड्दा पनि एमालेले सातवटै पालिका जितेको ताजै छ । त्यसमाथि यो चुनावमा माओवादी केन्द्र पनि एमालेसँगै छ । त्यसैले हामी भोटका हिसाबले निकै बलिया छौं । अब विद्रोहको कुरा जुन छ । कोही नेताले पार्टी छोड्दैमा विद्रोह हुँदैन । तपाईंले भन्नुभएको नेता अहिले माले पार्टीको उम्मेदवार हो । ५४ सालमा एमाले फुटेर माले बन्दा आधा पार्टी गएको थियो । त्यस्तो बेलामा त दोलखा जिल्लामा मालेको उम्मेदवारको जमानत जफत भएका थियो । त्यसैले अहिलेको समयमा केही आशंका नगरे हुन्छ । हाम्रा कार्यकर्ता, दोखाली जनता निकै बाठा भइसकेका छन् । उनीहरुलाई प्रष्ट थाहा छ । के गर्नुपर्छ भनेर ।

वामपन्थी गठबन्धन कति बलियो छ र यो टिक्छ कत्ति ? 

यो संविधान बनाउन वामपन्थीले बलिदान गरेका छन् । आफ्नो जीवन अर्पेका छन् । त्यसैले यसको कार्यान्वयन गराउनु छ । देशका स्रोत साधन परिचालन गर्नुपर्ने छ । ठप्प भएका उद्योग, धन्दा, कलकारखाना सबै चलाएर नयाँ खुलाउनुपर्ने छ । देशमा सामाजिक न्याय स्थापना गरेर जनतालाई समृद्ध बनाउनुपर्ने छ । देशलाई आत्मनिर्भर बनाउन र राष्ट्रियता जोगाउन पनि देशमा बलियो शक्ति निर्माण गर्नुपर्नेछ । नेपाली जनताको आयस्तर बढाउन, देशमा पुँजी विकास गर्न पनि भिजन भएको नेतृत्व आवश्यक छ । एमालेले लामो राजनीतिक यात्रामा धेरै अनुभव बटुलेको छ । माओवादीले निकै ठक्कर र हण्डर खाएर यहाँसम्म आएको छ । त्यसैले राष्ट्रिय एकता र आवश्यकताले मालेको यो गठबन्धन निकै बलियो छ र यसले देशलाई निष्कर्ष दिन्छ । 
दोलखामा २० वर्ष शासन गरेर एमालेले केही गरेन भन्ने आरोप छ नी ?

यी काँग्रेसीले लगाएका आरोप हुन् । ती बबुरोलाई के थाहा की दोलखामा अपर तामाकोशी एमालेले ल्यायो भन्ने ? त्यसैले म उनीहरुलाई प्रश्न गर्न चाहन्छु । दोलखामा १५ सय मेगावाट विजुली निकाल्ने आधार कसले तयार पा¥यो ? लामोसाँगु जिरी सडक डबल लेनको कस्को पालामा बन्दै छ ? मुडे–मेलुङ सडक आोजना कसले ल्यायो ? दोलखा–सिंगटी सडक कसको पालामा पिच हुँदैछ ? सुनखानी–साङवा सडक बाह्रै महिना चल्नेगरी कसले तयार गर्दैछ ? कालिञ्चोक सडक पिच गराउने योजना कसले ल्याएको हो ? फिल्म सिटी र वृद्धाश्रम निर्माणको काम कसले सुरु ग¥यो ? भीनपामा साना सहरी विकास खानेपानी आयोजना कसले ल्याएको हो ? शैलुङको टावर कसले ल्याएको हो ? तामाकोशी चर्नावती मेलुङ सडकदेखि जिल्लाका सबै सडक बाटाहरु कसको पालामा बनेका हुन् ? भीनपामा रिङरोड निर्माण कस्ले गर्यो ? एमालेले ले होइन ? त्यसैले यी  सबै विकासको स्वामित्व हामी लिन चाहन्छौं । कांग्रेसले दोलखामा गरेको एउटा मात्रै काम देखाउनुहोस् । स्थानीय चुनावमा गलत ढंगले बल प्रयोग गरेर दुई सिट जितेको छ । तर, त्यसो हुँदा दोलखामा स्वतस्फूर्त चुनाव हुँदा जनताले सतप्रतिशत रुपमा वामपन्थीलाई नै जिताउँछन् । 
 

यो चुनावमा कस्तो परिणाम आउला ? 

दोलखामा एमालेको हैसियत के हो भन्ने सबैलाई थाहा छ । अहिले माओवादी पनि मिल्दा हाम्रो जित शानदार हुन्छ । त्यसमा दुईमत छैन । हाम्रो गठबन्धन दोलखामा बलियो छ । जिल्लाभरको विश्लेषण गर्दा हाम्रा प्रतिनिधि सभाका उम्मेद्वार पार्वत गुरुङले कांग्रेसको भन्दा कम्तीमा पनि ४० हजार मतले चुनाव जित्नुहुन्छ । हाम्रा तीनै जनता उम्मेद्वार दक्ष, योग्य र अनुभवी हुनुहुनछ । उहाँहरुले कुशलतापूर्वक यो अभियान पूरा गर्न सक्नुहुन्छ । दोलखाली मतदातालाई ढुक्क भएर हाम्रा उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दछु । 
यो निर्वाचनमा गठबन्धनलाई जिताएपछि जनताले के के पाउँछन् ?

पहिलो कुरा त बलियो सरकार बन्छ । संविधानको कार्यान्वयन हुन्छ । जनता समृद्ध बन्छन् । आर्थिक विकास हुन्छ । पराईको दासत्व स्वीकार्नुपर्दैैन । भारत र चीनसँगको सुमधुर सम्बन्ध बन्छ । सामाजिक सुरक्षाको ग्यारेन्टी हुन्छ । विकासको गति तीव्र हुन्छ । उद्योगधन्दा र कलकारखानाको विकास हुन्छ । रोजगारको सुनिश्चितता हुन्छ । १० वर्षमै देश विकासको गतिमा पुग्छ । सबै जनताको सुनौलो भविष्य निर्धारण हुन्छ । 
प्रस्तुतीः शरद सापकोटा

सम्बन्धित समाचार

Advertisement