आज विश्व बचत दिवस

अनलाइन दर्पण 2023-10-31
img

आज अक्टोबर ३१ । प्रत्येक वर्ष यस दिनलाई विश्व बचत दिवस (वल्ड सेभिङ्स वा वल्ड थ्रिफ्ट डे) का रुपमा मनाउने गरिन्छ । प्रचारप्रसार तथा जनअभिरुचिका विभिन्न कार्यक्रमहरु गरी बचतको महत्व बुझाउन यो दिवस मनाइन्छ ।

यस दिवसमार्फत भबिष्यका लागि बचत र सही वित्तीय निर्णयका फाइदाहरुबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ । 

सन् १९२४ देखि यो दिवस मनाउन थालिएको हो । इटालीको मिलान शहरमा आयोजित इन्टरनेशनल सेभिङ्स् बैंकको पहिलो भेलाले अक्टोबर ३१ मा यो दिवस मनाउने निर्णय गरेको थियो । भेलाको अन्तिम दिन इटालीयन प्राध्यापक फिलिपो राभिजाले विश्व बचत दिवस आयोजना गरिने घोषणा गर्नुभएको थियो ।

विश्व बचत दिवसको यस वर्षको थिम ‘भोलिलाई जित्नुहोस्’ रहेको छ । यसको तात्पर्य बचतको माध्यमबाट भोलिमाथि विजय प्राप्त गर्नुहोस् वा भविष्य सुरक्षित पार्नुहोस् भन्ने हो ।

सहकारीका लागि यो दिवसको पनि बिशेष महत्व छ । बचत ऋणको कारोबार गर्ने सहकारीहरुले सदस्य शिक्षाका कार्यक्रमहरुमार्फत पहिला बचत अनि ऋण भनेर बचतको महत्व जानकारी गराउँदै आएका छन् । संयोगवश अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस र विश्व बचत दिवस एकै अंग्रेजी महिना पर्दछन् ।     

बचतको महत्व सहकारी शिक्षाको आधारभूत विषयवस्तु पनि हो । पछिल्लो समय सहकारीहरुले बालबालिका तथा युवा लक्षित बचतका सेवासँगै कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छन् ।

सहकारी संस्थाहरुले यस दिनमा बचतको महत्व तथा वित्तीय साक्षरतासम्बन्धी विविध कार्यक्रम गरेर मनाउने गरेका छन् । 'कमाएर होइन बचत गरेर धनी भइन्छ', 'भोलिका लागि बचत गरौं', 'बचत बानी हो', 'बचत सुरक्षित भविष्यको आधार हो', जस्ता भनाइ चलनचल्तीमा रहेका छन् ।

सम्बन्धित समाचार