काठमाडौ, १९ कार्तिक । अरूण कावेली हाइड्रो पावरले सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा ४० गुणा बढि आवेदन परेको छ ।
कम्पनीले ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेकोमा १२ अर्ब रुपैंयाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको भनाइ छ ।
कम्पनीको सेयरका लागि १ लाख ४० हजारले आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि कात्तिक ९ देखि कात्तिक १२ गतेसम्म ३० लाख कित्ता शेयर निष्काशन गरेको थियो । शेयर निष्काशन गरेको दोस्रो दिनसम्ममा नै ७० करोडको हाराहारीमा आवेदन परेको थियो ।
क्यापिटलका अनुसार कम्पनीको साधारण शेयरमा परेको आवेदनको प्रारम्भिक तथ्यांक मात्र तयार भएका कारण अन्तिम तथ्यांक आउँदा केही हेरफेर हुन सक्नेछ । कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ ।
कम्पनीले ताप्लेजुङ र पाँचथरको सिमानामा पर्ने कोबली नदीमा काबेली बी वान नामक २५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।