थुइक्क ! यो समाज

अनलाइन दर्पण 2018-07-20
img

  इच्छा गुरुङ

सुन्धाराको एक गल्लीको ५ तले भवनमा बिगत ३ बर्षदेखि सरसफाईको काम गर्छिन् उनी । उनी अर्थात बिनिता (नाम परिवर्तन) उमेर १९, घर खोटाङ, विवाह ३ बर्षअघि भएको,उनको श्रीमान २० बर्षका, गार्मेन्टमा काम गर्छन् । उनले स्कूलको सामान्य शिक्षा मात्र लिएकी छिन् । केही दिनअघि उनीसँग मेरो अकस्मात भेट भएको थियो । ती जोडी दुबै कलिला देखिएपछि मलाई कौतुहलता लागेर सोधेकी थिएँ ।

“बहिनी तिमीहरु दुबैजना बिहे गर्दा १६, १७ बर्षका रहेछौ । तिमीहरुले कच्चा उमेरमै लब म्यारिज गरेका हौ ?”

“लब त हैन तर बाध्यता चैं हो ।” उनले भनिन् ।

“कस्तो बाध्यता ?”

“बाले आँखा लगाए, त्यै भएर एउटा केटो खोजेर बिहा गरि हालेको”

उनको कुराले मेरो त आङ नै जिरिङ्क भो ।

“कसको बा…तिम्रो बा…?”

“अँ…मेरो आफ्नै बा…” उनको भाव सामान्य थियो ।

मेरो छाती ढक्क फुल्यो ।

“खुशी छौ त अहिले ?”

“खुशी,सुख—दुख त त्यस्तै हो, उहाँसँग विवाह गरेपछि ढुक्क भछु…आँखा कोईले लाउन्न् नि त…” छेउमै बसेर साइकलमा लागेको हिलो पुच्छदै गरेका श्रीमानलाई हेरेर खिसिक्क हाँसिन् उनी ।

कच्चै देखिने उनको श्रीमानलाई काममा जान हतार थियो सायद । केही नबोली थोत्रो साइकल चढेर हिंड्यो । म उनीसँग अरु एकछिन सामान्य भलाकुसारी सकेर आफ्नो बाटो लागें । त्यसदिनदेखि मेरो मस्तिस्कमा एकोहोरो त्यही एक वाक्य वाण बनेर बिझिरहेछ ।

“बाले आँखा लगाए, त्यै भएर एउटा केटो खोजेर बिहा गरि हालेको”….

उनले आफ्नै लवजमा भनिन् ।

कस्तो युगमा छौं हामी ? जहाँ एउटी छोरीमाथि जन्मदाता पिताले नै आँखा लगाउँछ ! म बिनिताको भावबिहिन मुहार सम्झन्छु, अनि आफै कल्पना गर्छु–आफ्नै जन्मदाता बुबाको कुदृष्टि उनीमाथि लाग्दा उनले कसरी आफूलाई जोगाइन् होला ? अनि त्यो किशोरीले लिएको निणर्यलाई सम्झन्छु ।

कस्तो युगमा छौं हामी ? जहाँ एउटी छोरीमाथि जन्मदाता पिताले नै आँखा लगाउँछ ! म बिनिताको भावबिहिन मुहार सम्झन्छु, अनि आफै कल्पना गर्छु–आफ्नै जन्मदाता बुबाको कुदृष्टि उनीमाथि लाग्दा उनले कसरी आफूलाई जोगाइन् होला ? अनि त्यो किशोरीले लिएको निणर्यलाई सम्झन्छु । जुन बोल्ड निर्णयको प्रतिफलस्वरुप गाउँकै केटासँग अकस्मात विवाह गरेर बुबाको गिद्वे नजरबाट जोगिदै काठमाडौमा आज दुखजिलो गरिरहेकी छिन् । यो सबै साँच्चै हो त ? कुनै दन्त्यकथा झँै लाग्छ मलाई अझै पनि ।

हामी समाचारहरुमा सुन्छांै–कतिपय बालिका आफ्नै बुबाबाट बलात्कृत भएका । आजकल यस्ता घटनाहरु सुन्दा सुन्दा कान पाक्छन् । कतिसम्म निर्दयी अर्धमी बन्न सक्छन् मान्छे । जसले क्षणभरको बासनाको लागि आफ्नो रगतसम्मलाई बाँकी छोड्दैनन् !

घर,परिवार आफैंमा एक आत्मीय नाता सम्बन्धले समेटिएको पवित्र स्थान हो । जहाँ सुखदुखको छानोमूनी विश्वासको चारभित्ताभित्र हरेकले सुरक्षित अनुभूत गर्न सक्छन् । जहाँ आमा बुबा जिवित देवताका रुपमा पुजिन्छन् र उहाँहरुको छत्रछाँयामा सन्तान हुर्किन पाउनुलाई सन्तानको सौभाग्य मानिन्छ । तर आजकल त्यही पुण्यभूमिभित्र केही छोरीचेलीहरु आफ्नैबाट प्रताडित छन् । घर बाहिरबाट जोगिएर आयो, घरभित्रै उसको अस्मितामाथि धावा बोलिन्छ भने कहाँ जाउन् तिनीहरु ? त्यसैले केही बोल्ड छोरीचेली बिनिताले जस्तै उमेर नहँुदै कोही एउटा परायासँग बिबाह गरी सुरक्षित हुन्छु भन्ने निणर्य लिन बाध्य हुन्छे ।

तर विवाह गर्दैमा समस्याको समाधान हो भन्नु पनि कसरी ? समस्याको समाधान यो होला कि त्यो होला भनेर भौतारिदा अनेकन जटिल सामाजिक समस्या निस्किएका यत्रतत्र देखिन्छन् । अर्कोतिर अपरिपक्क उमेरमा लिइएका निर्णयहरुले सम्बन्धहरुमा विभिन्न समस्याहरु जन्माईरहेका छन्– अनमेल विवाह, मानव बेचबिखन तथा तस्करी,हत्या आत्महत्या,अपहरण,सम्बन्धबिच्छेद आदि ।

अर्को एउटा प्रसँग,

एकदिन रत्नपार्कबाट बस चढेर नयाँबानेश्वर जाँदै थिएँ । भृकुटीमण्डपबाट एकजना अधबैंशे महिला बसमा चढिन् र मसँगैको सिटमा बसिन् ।
केही अफ्ठेरो मान्दै उनले सोधिन् “बैनीलाई सिडियो अपिस कता पर्च था’छ ?”

“हजुर थाहा छ,तपाई उही जाने हो ?”

“हो आफू काठमान्डु त्यती आइन्नँ, कता हो कता लाग्नी के…”

“हुन्छ झर्ने ठाउँ आए पछि म भन्छु है…कताबाट आउनुभयो दिदी ?”

“चित्तोनटी (चितवन) आ’की म,छोरोलाई पुलिसले समात्या एक हप्ता भैसक्या रच हिजो बल्लथा’पाइं…कलंकी चौकीबाट यता पठाका रे भन्चन् । आज सिडियो अपिसमा ल्याउचन् रे । त्यै भएर छोरो भेट्न आ’की….”

आफू पनि चितवनको भएकोले चितवनबाट आएको भनेपछि मलाई झनै चासो बढेकोे थियो । उनि नारायणगढ,कमलनगरमा डेरा लिएर बस्दै रहेछिन् ।

“किन तपाईको छोरालाई प्रहरीले समातेको दिदी..” मैले जिज्ञासा राखें ।

“खोई मेरो छोरो बदमास जस्तो त लाग्दैन…घुम्न जान्चु भनेर आकोथ्यो । यता आको रैच कोल्ले फसायो खै…झगडा गरेर सार्वजनिक मुद्वा लग्या छ रे भन्चन् । बुढा बटौली गा’का छन्,था’नदिई आकीछु… कोईलाई भन्या छैन मैले त । जति पैसा लाग्छ जसरी नि आज छोरोलाई धरौटीमा छुटाउनी भनेर आ’की”

उनको कुरा बुझें । उनी हतारमा थिइन्,हतास,आत्तिए जस्तो देखिएकी थिइन् । आमालाई सन्तानको मायाले केसम्म गराउछ जस्तो लाग्यो ।
सहचालकले सिडियो कार्यलय भनेर करायो ।

“दिदी यहाँ झरे पछि अलिकति भित्र ५ मिनेट हिडे पछि सिडियो कार्यालय आउँछ है ? ”

उनी टाउको हल्लाउदै उठिन् र गाडीबाट ओर्लिइन् ।

अहिले पनि मेरो मस्तिष्कमा जिज्ञासा सलबलाई रहेछ ति महिलाले आफ्नो छोरालाई धरौटीमा छुटाएर घर लगेर के असल मार्गमा हिड्न प्रेरित गर्न सक्छिन होला त ? अनि सबै आमाहरुले आफ्नो सन्तानका गल्तिहरुलाई सजिलै ढाकछोप गर्दै जाने हो भने कस्तो संस्कार सिक्लान् त सन्ततीले ?

ती आमाले छोरालाई छुटाएर लैजान सकिन् या सकिनन् थाहा छैन । तर लाग्यो यसरी नै हर आमा छोराछोरीको हजार गल्तिलाई सजिलै ममताले छपक्कै छोप्छिन् । बिना सर्त आफ्नो सन्तानकोलागि सबैतिर ढाल बनेर उभिन्छिन् । अहिले पनि मेरो मस्तिष्कमा जिज्ञासा सलबलाई रहेछ ति महिलाले आफ्नो छोरालाई धरौटीमा छुटाएर घर लगेर के असल मार्गमा हिड्न प्ररित गर्न सक्छिन होला त ? अनि सबै आमाहरुले आफ्नो सन्तानका गल्तिहरुलाई सजिलै ढाकछोप गर्दै जाने हो भने कस्तो संस्कार सिक्लान् त सन्ततीले ? आमाको ममताको आँचल ओढेर अझ अरु गल्तिमाथि गल्ति नगर्लान् भन्न सकिन्न । अनि त्यहां दोष कस्को मान्ने सन्तानको कि ममताको ?

समाजमा हुने यस्ता हरेक घटनाहरुमा हामी चेतना र शिक्षाको कमीले हो भन्ने सजिलै पन्छिने गर्छौं । तर शिक्षित जमातभित्र पनि उस्तै छन् समस्या । समाजशास्त्रका कक्षाहरुमा पढिन्थ्यो–हामी सामाजिक प्राणी,समाज नै हाम्रो घर यहाँ घट्ने हरेक ससाना घटना उपघटनाहरुले समाजको संरचना र त्यसको भबिष्य रेखा निर्धारण गर्दछ । शास्त्र र सिद्वान्त एकातिर,व्यवहार अर्कोतिर हुँदा मानवीय स्वभाव स्वयम सृष्टिकर्ताले पनि बुझ्न सक्दैन कि झंै लाग्छ । समयकाल परिस्थितिको दास बन्दै मानिसमा सकारात्मक भन्दा नकरात्मक सोच हाबी हुदै गएपछि दिनहूँ अनेकौं घटनाहरु समाचार बनिरहेका छन् । कतिलाई यस्ता उदाहरणहरु सामन्य लाग्न सक्छन् । किनकि यस्ता घटनाहरु हाम्रो आधुनिक जीवनशैलीका नाममा समाजले सजिलै पचाउन सक्ने भए भन्नु परेको छ । तर के यस्ता समस्याहरुले सिङगो मानव सभ्यतालाई व्यंग्य गर्दैन र ?

खोटाङकी बिनिता र चितवनकी ती आमा त एक प्रतिनिधिपात्र मात्र हुन् । हरेक कानूनले भन्छ– अपराध कुनै पनि हालतमा क्षम्य हुनै सक्दैन । तर कामना गर्न बाध्यछौं हामी कि कोहि अर्की बिनिता हुन नपरोस् अनि कोही अर्की आमाले सन्तानको गल्ति छोप्न पटक पटक ममताको बलिदान दिनु नपरोस् । हाम्रो घर समाजका हरेक नाता सम्बन्धको इज्जत जोगाउन सकियोस् । सुरक्षित घर,सभ्य समाजमा हामी सबैले निर्धक्क सास फेर्न पाइयोस् ।

हरेक दृश्य परिदृश्यबाट केही न केही पाठ सिक्नुपर्छ भन्ने लाग्छ मलाई । पढेर होस् या परेर अनुभवले मार्ग प्रदर्शित गर्छ भन्ने मान्यतालाई मान्दछु म । देखे भोगेका जतिपनि घटनाहरु छन्,तिनलाई ए फलना ठाउँमा यस्तो भएछ,त्यस्तो भएछ भनेर चियागफमा मात्रै सीमित राख्ने कि,त्यस्ता समस्या आफ्नो घर,समाजभित्र पनि छन् कि भनेर चनाखो हुने ? यति रहेछ भने फेरि नदोहोरियोस् भनेर सचेत हुने कि नहुने ? समाजभित्रका यस्ता गम्भीर र संगीन पक्षका खबरहरुलाई पनि आम समाचार सम्झेर बिहानको मिठो चियाको चुस्कीमै सीमित राख्ने हो भने हामी पछिका पुस्ताले कस्तो समाज पाउला ? यसबारे हरेक चेतनशील नागरिकले बेलैमा मनन र चिन्तन गर्नुपर्छ ।-साभार;जनतासमाचार

सम्बन्धित समाचार

Advertisement