कमरेडलाई अज्ञात शहीदको पत्र

अनलाइन दर्पण 2019-11-01
img

  सरल सहयात्राी

मलाई एउटा पत्र कोर्न मन थियो मसँग कागज र कलम छैन सम्झेको थिएँ- त्यो डायरी र कलम जसका पानाहरू आधा खाली थिए र कलममा आधा मसि सकिएको थियो त्यस दिन मैले पहिलोपटक देखेको हुँ तपाईलाई कति लामो प्रतिक्षा पछि भेटेको थिएँ मनमनै गौरवशाली प्रश्न गरें सबैले चाहेर कसरी देख्न सक्थे तपाईलाई ? कहाँ भेट्न पाउँथे ?

तर मैले साक्षात तपाईलाई भेटेको थिएँ एक पटक त तिघ्रातिर चिमोटेर आफैंसंग सोधेकोपनि हुँ मनसंग गदगदिएर भित्रभित्र खुत्खुतिएको थिएँ । त्यत्रो कार्यक्रम भयो कतिजनाले कति लामालामा भाषण गरे होलान तर मैले केहीपनि सुनिन कस्सैलाई देखिन केवल तपाईलाई मात्रै हेरिबसें तपाईलाई प्रत्यक्ष भेटेको र हात मिलाएको कुरा झन ठुलो बनाएर आफ्ना सहयोध्दालाई कसरी भन्ने ? सोचिबसें । तर तपाईले बोलेका सप्पै कुरा सुनेको थिएँ घत मानेर तपाईले भन्नु भयो – ‘हामी हाँस्दाहांस्दै रुएका छौं, रुँदा रुँदै हाँसेका छौं’ तपाईंले यसो भन्दा तपाईकै ठिक अघिल्तिर बसेर तपाईका हाउँभाउलाई ट्वाल्ल हेरिरहेको थिएँ म मेरो मन भने अघिनै त्यहाँबाट भागिसकेको थियो पुगिसकेको थियो कमरेड बिहानी र कमरेड बारुदको जनबादी बिबाहमा हामी उनिहरु दुबैलाई जिस्क्याई जिस्क्याई हाँसि रहेका थियौं उनीहरु लजाई लजाई मुस्कुराई रहेका थिए त्यहीबेला अकस्मात् बर्सिएको थियो हेलिकप्टरबाट बम र गोली झण्डै एक घण्टाको दोहोरो भिडन्त पश्चात देख्दा कमरेड बारुद अघिनै पड्किसकेको रहेछ बाँकी बसेको त केवल उसको छ्याल्ब्याल शरिर र गिदी पोखिएको टाउको थियो आँशुको बर्षात कमरेड बारुदको रगतमा पोख्दै चिच्याईरहेकी थिइन कमरेड बिहानी हो, हामी हाँस्दा हांस्दै रुएका थियौं ।

कयौंपटक रुइरहेको बेला आएको थियो बिजयको खबर र हामी रुँदा रुँदै हाँसेका थियौं । कमरेड, मैले एक एक सुनेको थिएँ तपाईका कुरा तपाईले थप्नुभयो – ‘बलिदान क्रान्तिका लागि उर्जा हो बलिदान गर्ने अवसर सबैलाई मिल्दैन यस युगमा बलिदान गर्ने अवसर हामीलाई मिलेको छ वलिदान मृत्यु होइन अमरत्व हो मृत्युको नाम दिएर हामी शहीदहरुको अपमान गर्न सक्दैनौं पटक पटक मर्न सक्छन बाँच्नेहरु कहिल्यै मर्दैनन शहीदहरु ।’ करेण्ट झैं तपाईको कुरा सुनिसकेपछी झट्का लागेको थियो मेरो मनोभावमा झट्काको झोकमै होला आफुलाई सोधेको थिएँ – ‘बाँचेर किन बारबार गल्ति गर्ने ? बरु छिट्टै मरेर शहीद किन नहुने ?’ प्रतिबध्द जवाफ आफ्नै लागि थियो ‘अबको पहिलो शहीद हुने पालो मेरो आए असाध्य गौरवशाली मान्छे ठहरिने थिएँ म ।’ भोलीपल्ट हो बन्दुक बोकेको थिएँ तयार अबस्थामा हिंडिरहेको थिएँ तपाईको ठिक पछिल्तिर अवयान खुशी थिएँ यसरी हिड्न पाएकोमा हिड्दाहिड्दै सोचें ‘कति ठुलो बिश्वास गरेको पार्टीले मलाइ ? यदी म दुश्मन बनेर तपाईलाई गोली हानिदिएँ भने ?’ हैट ! ढुक्क मुटु फुल्नेगरी खराव सोचेको थिएँ यस्तो सोचेकोमा कयौं दिनसम्म आफुले आफैंलाई गद्दार घोषणा गरेँ ।

गाउँ पुग्नासाथ अझ राम्ररी देखें तपाईलाई सच्चा श्रमिकको रुपमा आत्मिय तर अग्लो ब्यक्तित्वको रुपमा जनमनको आदीवासी मनपुत्रको रुपमा गरीव दुखी प्रतीको बर्गभावले बिनित रुपमा त्यसपछि त झन आफुलाई दण्डयोग्य बनाएर प्रश्न गरें ‘मेरो मनमा एकक्षण कै भएपनि त्यस्तो कुबिचार किन आयो ?’ अर्कोदिन को कुरा हो पक्कै याद होला अकस्मात् बर्सिएका बमगोला तपाईलाई नै तार्जेट गरेर बर्साईएको थियो त्यसक्षणको हरपल मध्य एकपलपनि मलाई मेरो याद आएन मैले बिहे गरेको भर्खर एकबर्ष भएको थियो मेरो जिवनसाथी कमरेड सपना गत तिन महिना देखी आफ्नो पेटमा हाम्रो सपना हुर्काउँदै थिइन मलाई मेरी प्रीय सपना कमरेडको पनि याद आएन मलाई उनको पेटमा हुर्किरहेको हाम्रो सपनाको पनि याद आएन आमा-बा, दाजु-भाई, दिदी-बहिनी, साथी-छिमेक र आफन्त कसैको याद आएन एउटै डर, एउटै चिन्ता, एउटै तनाव केवल तपाईको भएको थियो किनकी तपाईको सपना नै खासमा हाम्रो सपना थियो । त्यही भएर कमरेड तपाईंलाई दुश्मनले ताकेर हानेको गोली आफ्नो छातिमा थापिदिएँ ।

मलाई प्रस्ट याद छ आफु ढलिरहेको अहिलेपनि म ढल्दा मलाईनै लागेको थियो, बर्षौं उभिएको सतिसाल ढलिरहेको छ बिस्तारै बिस्तारै जमिनतिर पछारिई रहेको छ एकएक थोपा रगत धर्तीमाथी पोखिइ रहेको छ ढल्दा ढल्दै म झलझलती घुमेको थियो कमरेड सपनाको अनुहार प्राणले छाड्दा छाड्दै मलाई आँखाभरी छाएको थियो गर्भे सन्तानको माया छ महिना पछी जन्मदा कस्तो देखिन्थ्यो होला त्यो हाम्रो संयुक्त सपना ? म जस्तो देखिन्छ कि कमरेड सपना जस्तो ? जन्मदा रुँदै जन्मन्छ कि सालिन ? हुर्कदा म जत्तिको मात्रै बन्ला कि चलाख ? कौतुहलता छचल्किएको थियो । तर म, सम्झनाहरु नसकिंदै पछारिई सकेको थिएँ मर्नुअघि उत्पात छट्पटाएर पानी खोजेको थिएँ अन्तिम सास छाड्नुपुर्व जब देखेँ तपाईको ज्युँदो अनुहार दुश्मनको फायर रेन्ज बाहिर हो, त्यसलगत्तै बिर्सि दिएको हुँ मैले सारा-संसार । कमरेड, आज मैले तपाईलाई सोधें भने म को हुँ ? याद नहुन सक्छ तपाइलाई मेरो नाम ठिकै पनि हो, खासमा म ठुलो पद धारी शहीद थिइन पद धारीहरुको नाता-आफन्त थिइन तर बिश्वास छ मलाई मेरो खास नाम याद नभएपनि अर्को दुइनाम स्पस्ट याद छ तपाईलाई – त्यो हो ज्ञात-अज्ञात ।

हो, म त्यही अनगिन्ती ज्ञात-अज्ञात मध्य एक अज्ञात शहीद हुँ शहीदका लागि शहीद भएको शहीद हुँ । कमरेड , अपसोच छैन मलाई मेरो मृत्यु प्रति ज्ञात हुनु वा अज्ञात हुनुप्रति मृत्यु हुनु वा अमरत्व प्राप्त गर्नुप्रति अबिश्वास छैन उबेला तपाईले भनेका हर कुराप्रति म बुझ्दछु अकलुषित तपाईंद्वारा सृजित सर्बोत्तम बिचार थिए ती निश्छल बलिदान र बलिदानी भावबाट जन्मिएका उदगार थिए ती ।

तर कमरेड आजको तपाईसंग मेरो हजारौं हजार प्रश्नहरु छन । हो, यही प्रश्नका कारण हो त्यो कलम र डायरीको याद आइरहेछ खाल्डोमा पुर्नुअघि झण्डाको साथ मलाई आधा लेख्न बाँकी मेरो डायरी र आधा मसि सकिएको कलम समेत पुरिदिएको भए म तपाईलाई लामो पत्र लेख्ने थिएँ चिहान भित्रबाट र भन्ने थिएँ – यदी तपाईले आफैंलाई भुल्नुभयो भने पनि कुनैपल मेरो गाउँ पुग्ने बाटो नभुल्नुस नब्बे पुग्न दुई तिन बर्ष बाँकि मेरो बा र आमालाई भेट्ने गर्नुस यौवन थाहै नपाई जोबान सकिंदै गएकी मेरी सपनालाई मेरो बारेमा सोध्ने गर्नुस बा भन्ने एक शब्दपनि बोल्न नपाई सोह्रबर्ष काट्दै गरेको मेरो छोराको आँखाभित्र मेरो अभावको महसुष हेर्ने गर्नुस । कमरेड तपाईको पुरानो बर्गिय भाव उर्जाशिल भएर जाग्न सक्छ तपाईको पुरानो बिचार नवोदित भएर फर्कन सक्छ ।

Related Post

Advertisement