किन खस्कन्छ सरकारी शिक्षा ?

अनलाइन दर्पण 2017-12-16
img

  रमेश प्रसाद गाैतम

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुँदै गएको सम्बन्धमा विभिन्न प्रकारका गोष्ठी, सेमिनार, अन्तरक्रिया, छलफल, तालिम आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आए तापनि व्यवहारमा सार्थकता पाउन सकेको छैन । शिक्षक तालिम गोष्ठी, सेमिनार आदिमा करोडौँ रकम खर्चेर पनि प्रतिफल निराशाजनक छ । सरकारी आँकडामा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर कमजोर रहेको तथ्यांक सार्वजनिक हुँदै आएको छ । अर्कातर्फ संस्थागत विद्यालय जहाँ निजी स्रोतको लगानीमा सञ्चालित छन् त्यहाँ तालिम प्राप्त छैनन्, विषयगत शिक्षकको पनि खासै बन्दोबस्त राम्रो देखिँदैन, सरकारी अनुगमन पनि हुँदैन तैपनि सामुदायिकभन्दा माथि रहेको आमधारणा बन्दै आएको छ । यसबाट के पुष्टि हुन आउँछ भने सरकारी नीति र कार्यान्वयनबीच तालमेल छैन । यहाँका शिक्षक पनि आफ्नो दायित्वप्रति कम बफादार छन् र राजनीतिक पिछलग्नु बन्नु मूल कारण बनेको छ ।
सरकारअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षणबाट आएको जानकारीले नेपालमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएको देखापरेको छ । देशका बालबालिकाको भविष्य निर्धारणका लागि स्थापित विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर घट्दै गएको देखिनुमा कमजोरी कसको ? यसको दायित्व कसले लिने ? विद्यालय उमेरका बालिका घरपछि अघिकांश समय विद्यालयमै रहने हुन् र तिनलाई विद्यालयकै निगरानीमा राखी पठनपाठन कार्य हुने हो । तैपनि किन यसरी गुणस्तर भने माथि उठ्न सक्तैन ? यसतर्फ सरोकारवाला किन मौन छन् ? बालबालिकाको भविष्यप्रति राज्यले सोच्नुपर्छ कि पर्दैन ? राज्यले जुनसुकै शिक्षा नीतिमा फेरबदल गरे तापनि व्यवहारमा सार्थकता छैन । कार्यान्वयन तह एकदमै फितलो छ । जसको परिणामस्वरूप मुलुकको शिक्षा अस्तब्यस्त बन्दै गएको छ ।
विद्यालय कक्षाकोठामा व्यवस्थापन चुस्त र दुरुस्त राख्ने कोसिस हँुदैन । विद्यार्थीले नबुझेका कुरामा प्रश्न सोध्दा कमै शिक्षकबाट प्रोत्साहन पाउँछन् । कक्षा क्रियाकलापमा भाग लिँदा हात उठाएर अनुमति माग्दा साइडमा बस्ने साथीहरूमा कानेखुसी गर्ने जस्ता आदत पनि नभेटिएका होइनन् । शिक्षकले पढाउँदा राम्रोसँग ध्यान दिएर सुन्ने बानी पनि कमै विद्यार्थीमा पाइन्छ । यो परिस्थितिमा विद्यार्थीलाई मेहनत र अध्ययन गर्न प्रेरित गरी सिकाइ सस्ंकृति विकास गर्न कम चुनौतीपूर्ण भने देखिँदैन ।
हरेक विद्यालयले आफ्ना विद्यार्थीलाई राम्रो कसरी बनाउने ? विद्यार्थीलाई सहकार्यमा कसरी लगाउने ? तिनमा कसरी सिप र ज्ञानको विकास गराउने ? यसैसँग सम्बन्धित शैक्षिक सामग्रीको व्यवस्था कक्षा कोठामा कसरी पु¥याउने ? विद्यार्थीले बुझ्ने भाषामा शिक्षकले पढाउन सक्ने कि नसक्ने ? शिक्षक आफू उदाहरण बन्न सक्ने कि नसक्ने ? यस्ता यावत् कुराको समाधानमा शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षक कक्षा कोठामा जाँदा तयारीसाथ जानुका साथै समयको उचित व्यवस्था मिलाई सकारात्मक ढंगले विद्यार्थीसामु उपस्थित हुन सक्नुपर्छ । उसले विद्यार्थीको आवश्यकता तत्कालै सम्बोधन गर्न सक्नुपर्छ । यस किसिमका गतिविधिले केटाकेटीमा अनुकूल प्रभाव परी कक्षा कोठाको पठन–पाठन प्रभावकारी ढंगले अघि बढ्न सक्छ ।
यस सन्दर्भमा शिक्षक र अभिभावकको भूमिका अपरिहार्य मान्न सकिन्छ । केटाकेटीलाई आफ्नो विचार राख्न खोजेर तिनमा राम्रो सिप र ज्ञान भर्न सकिँदैन । विद्यार्थीको रुचि र चाहनालाई कदर गर्दै समयसापेक्ष ढंगले सिप सिकाइ यसतर्फ उन्मुख गराउन सकियो भने त्यो नै सार्थक हुन सक्छ । सुरुमा बालबालिकालाई सुन्दर अक्षर र वाक्य रचना गर्न सक्ने क्षमतामात्र विकास गर्दाखेरी पनि अभिभावक खुशी भइ शिक्षक लाभान्वित हुन पुग्छ । केटाकेटीमा यस किसिमको सिप विकास हुनासाथ तमाम अभिभावक प्रसन्न हुन पुग्छन् । यसपछि शिक्षक र विद्यालयको प्रशंसा गर्न थाल्छन् । विस्तारै विद्यालयको छवि माथि उठ्न थाल्छ । यस्ताखाले विद्यालयलाई कुनै पनि विज्ञापन आवश्यक पर्दैन । असल सिप र दक्षता आर्जन गर्ने विद्यार्थी स्वयंले राम्रो कुरा उजागर गर्छन् ।
विद्यालयले हरेक बालबालिकालाई रेखदेख, माया र स्नेह दिन सक्नुपर्छ । तर हाम्रा कतिपय विद्यालयमा जिम्मेवार पदाधिकारीबाट यस विषयमा कम वास्ता गरिएको पाइन्छ । त्यहाँ केटाकटी आपसमा झैझगडा गरुन्, धुलोमैलोमा परुन्, हिलोमा गाडिउन्, कम मतलव राखिन्छ । अझै भन्ने हो भने ठूलो विद्यालयका प्रायः साना केटाकेटीले प्रधानाध्यापकलाई समेत चिन्दैनन् । प्राथमिक तहका केटाकेटीमा ठूलो विद्यालयको प्रशासन र व्यवस्थापनको समेत लापरबाही देखिन्छ । यसरी कलिलो मनमष्तिस्कमा अनुकूल वातावरण निर्माण गरी असल सिप र ज्ञान दिन सकिने हो तर यही अवस्थामै प्रतिकूल प्रभाव दिन्छौँ भने हाम्रा भविष्य कहाँ जाने ?
सामुदायिक विद्यालयमा विद्यार्थी सख्या दिन÷प्रतिदिन घट्दै जान थालेको छ । यस्ता विद्यालयको लापरबाहीदेखि अनेक कारण होलान् तर पनि कतिपय अभिभावक भने अंंग्रेजी मोहका कारण निजी विद्यालयतर्फ आकर्षण देखाउँछन् । हुन त अहिले कतिपय सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गराउने भन्न थालेका छन् । यसले अंग्रेजी मोह राख्ने अभिभावकको चाहनालाई सम्बोधन गर्न खोजे तापनि सामुदायिक विद्यालयको पूर्ववत् छवि सुधार्नेतर्फ पनि चेष्टा राख्नुपर्छ ।
हुन त २०५१ सालमा राष्ट्रिय भाषा नीति सुझाव आयोगले प्राथमिक शिक्षाको माध्यम मातृभाषा हुनुपर्ने सुझाव पेश गरेअनुरूप २०२८ को सातौ संशोधनले उक्त आयोगको सुझावलाई नै कानुनी मान्यता प्रदान गरिसकेको छ । अब सबैतिर मातृभाषा शिक्षालाई नै प्राथमिकता दिने क्रम चल्दै आएको छ । मातृभाषामा प्राथमिक शिक्षा हुनुपर्नेमा मुलुकका शिक्षाविद्, भाषाविद्, समाजशास्त्री, मनोविद् र राजनीतिक, सामाजिक कार्यकर्ता सबैको एउटै राय थियो । अहिले अन्तर्राष्ट्रिय भाषा अंग्रेजी र सरकारी कामकाजको भाषा नेपालीबाहेक अरु विषयका लागि मातृभाषामा पढ्न पाउने छुट पनि गरिएको नै छ । तर सबै विषय मातृभाषामा पाठ्यपुस्तक लेख्ने विज्ञहरुको कमी भएका कारण पाठ्यक्रम विकास केन्द्रले समयमै सबै विषयको सबै मातृभाषामा पाठयपुस्तक निर्माण गर्न सकिरहेको छैन ।-नागरिक न्यूजबाट 

Related Post

Advertisement