नेपाल कम्युनिस्ट पार्टी भित्रका अन्तर मनका कुराहरु

अनलाइन दर्पण 2020-07-24
img

  सुरेश प्रसाद निरौला

नेकपा भित्रका केही गन्थनहरुः –
क) अलिकति - आक्रोस, अलिकति - धम्की, अलि अलि घुर्की, थोर बहुत सुधारका कुरा, काम कर्तब्य र जिम्मेवारी सम्बन्धमा साथै पूर्व एमाले र पूर्व मावोबादी विचको पार्टी एकीकरण वा पार्टी विधान, विधि पद्धती भन्दा पनि आफ्नो पद, प्रतिष्ठा, पावर को खोजी आखिर के हो ? यिनै विषयहरु भित्रको गन्थन र मन्थनको एक झलक ।......

ख) आदरणीय कमरेडहरु हाल हाम्रो पार्टी भित्र देखिएका केही चित्र विचित्रहरु– किन, कस्ले,कस्लाई, कस्को र के का लागि यि सबै खाले हर्कतहरु हुदैंछन् ? नेता कार्यकर्ता र जनताहरुमा निरासा छाएको छ । के हुने हो पार्टी भित्र भन्दै सबै न्याउरो अनुहारमा देखिन्छन भने एक खाले कमरेडहरु बलेको आगोमा घिउ थप्न ब्यस्त छन् । अर्का थरी कमरेडहरु नेताहरुको मान–मर्दन, राष्ट्रघाती–राष्ट्रबादी , भ्रष्ट, अनैतिकको आरोप-प्रत्यारोप लगाउदैं सामाजिक संजालै भरि र बाटा बाटा हरुमा जिन्दाबाद–मुर्दाबाद भन्दै उफ्रदैछन्, फेरी अर्काथरी कमरेडहरु एकजना बाहेक पार्टीका सबै नेता कार्यकर्ताहरु गलत वा .......... छन् भन्दै जुहारी खेलीरहेका छन् । केही विद्योत वर्गहरु भने यस्तो गलत हर्कतहरु कसैले नगरौं भन्दै आफ्नो आफ्नो लेख, रचना र ईन्टरभ्यु मार्फत नेतृत्वलाई संयमित हुन र  विधान, विधि, पद्धती साथै सहमति , सहकार्य र संम्वादबाट मात्रै  अगाडी बढ्नुहोस भन्दै सुझावहरु दिइरहेका छन् तर यि सबै गति बिधिहरुको नजर अन्दाज गरी आ–आफ्नो बालहठ नछोडी सबैको कुराको बेवास्था गर्दै नेतृत्व अगाडी बढ्न खोज्दैछ, किन ? यसका पछाडी के छ ?

ग) माथि उल्लेखित सबै प्रयास र प्रयत्नको बेवास्था गरेर नेतृत्वलाई के हात लाग्ला ? अनि झण्डा, डण्डा, पावर त परै जाओस पछी पछुताउनु सिवाय हात लाग्यो शुन्य नै हुनेछ, होइन र ? केही नेतृत्वको भने हात्ती, घोडा, पद, प्रतिष्ठा , अघि ,पछि सबैथोक छदैं छ आखिर मरेपछि “डुमै राजा” भने झै वा “न रहे बास न बझे बासुरी”  भन्ने उक्तिलाई चरितार्थ गर्न खोजिएको हो कि जस्तो मलाई लाग्दछ । कमरेडहरु हो एक पटक आफुहरु पछाडी फर्किएर त हेर्नुहोस् । तत्कालिन एमाले फुट्दा देश र पार्टीलाई कती क्षती भयो ? कतिका हातखुट्टा भाँचिए ? कतिको सिङ – जुरो खुस्कीयो ? आखिर मालेलाई चुनावमा के हात लाग्यो ? अनि काम गर्ने कमरेडहरुले धेरै दुःख गर्नुभयो , धारे हात लगाउनेहरु नै फेरी पार्टी जुट्दा नेतृत्वमा पुग्न सफल हुनुभयो । केही ब्यक्तिहरुको व्यक्तित्व त बढ्यो होला तर पार्टी १५ बर्ष पछाडी धकेलियो I त्यसैले अव फेरि पनि त्यस्तै हुने हो कमरेड, त्यसैले एस्तो हर्कत किन गर्नुहुन्छ ? के कमरेड सिपि मैनली , क. अशोक राई, क. मोहन विक्रिम, क. चित्र बहादुर के.सी , क. नेत्र विक्रम चन्द , क. नारायणमान विजुक्छे आदी आदी,  यिनै उदाहारणहरु काफी छैनन् र ? आखिर तिनिहरु पनि पार्टी नै हुन् ,सबै  नेता नै  हुनुहुन्छ, आफुहरु बाहेक अरु कसैलाई पनि कम्युनिष्ट मान्न तयारै हुनुहुन्न तर पनि उहांहरु चलिराख्नु भएकै छ नि होईन र .....? 

घ) हाम्रो पार्टी भित्र धेरै जिम्मेवारीका पदहरु उल्लेखित छन् I ति पदहरुमा पुग्नका लागि हामी भित्रैबाट लिलिकोटको दौडको आयोजना हुन्छ I जिम्मेवारी राम्रालाई भन्दा हाम्रालाई दिने प्रचलन छ I पद प्राप्त नहुन्जेल दौडधुप गर्ने अनि पद प्राप्त भईसकेपछि भने कानमा तेल हाली सुत्नु सिवाय केही छैन तर यो कुरा सबैमा भने लागु हुदैन , युवा विद्यार्थी ,महिला , किसान , पेशागत मजदुर, वा संगठन , विदेश, स्कुल विभाग आदी यि पार्टी भित्रका हात–खुट्टा , मुटु , कलेजो, मिर्गौला ,आखां, कान, नाक, जस्तै  अङ्गहरु हुन् I के नेतृत्वले यि निकायहरुका प्रमुखहरुलाई हात खुट्टा बाधी मुख बन्द गरि हातीको देखाउने दात जस्तै गरि देखाउन दिएको यो पद हो ? यदी यसै गरि दिएको हो भने यो गलत हो I मानका खातिर मान मात्र हो भने पनि यि सबै कार्यहरु गलत हुन् I यदी पूर्ण अधिकार सहित उहांहरुलाई त्यो पदमा राखिएको हो भने जिम्मेवारी बहन गर्नुपर्दैन ? अनि काम गर्न नसक्नेहरुले त्यो पद छोड्नु पर्दैन ? सबै काम दूई अध्यक्षले मात्र गर्ने हो भने किन चाहियो यि विभागहरु ? आफुहरु भने जिम्मेवार नबन्ने, आफु काम नगर्ने, अनि अरुहरुलाई मात्र औला ठड्याएर हुन्छ ? भनिन्छनी “आफ्नो जिउको भैसी नदेख्नेले अरुको जिउको जुम्रा देख्छ अरे” यो यस्तै हो होला होइन ?

ङ) कमरेडहरु हो आखिर देखाउने हात्तीको दात जस्तै मात्र हो भने मलाई भन्नु केही छैन, यदी होईन भने विधान , विधि, पद्धतीका पछाडी लुकेको, राष्ट्रपति, प्रधानमन्त्री वा पार्टी अध्यक्ष पदमा जोड दिएको हो भने यो सोह्रै आना गलत हो किनभने राजनिति जोगी बन्न होईन, पद प्रतिष्ठाकै लागि गरिन्छ होला तर यो उचित र उपयुक्त समय भने होईन I त्यसैले धर्य गरौं “संसार देर छ अन्देर छैन” । यदी सबै कुरा पद मै जोडीएको हो भने “कामकुरो एकातिर कुम्लो बोकी ठिमितिर” भने जस्तै भयो होइन यो ? देश भित्र भने यत्रो हाहाकार छ, शिक्षा, स्वस्थ्य, उद्योग, कल-कारखाना, यातायात , कोरोना, बाढि पहिरो आदीबाट जनताहरु आक्रान्त छन् । यिनिहरुलाई के कसरी संचालन गर्ने हो भनि चिन्ता लिनु पर्दैन र ? आफुलाई भन्दा पनि कार्यकर्ता र जनताहरुलाई प्राथमिकतामा राख्नुहोस् । राजनिति भनेको लामो समयसम्म चल्छ, क्षण भरमै आफुलाई तल नझार्नुहोस र आफ्नो हैसियत नदेखाउनुहोस । यो सरकारले अहिले के गर्यो ? अनि आउने सरकारले पछि के गर्छ ? खाली ब्यक्तिहरु त फेरिएलान् तर अरु केही हुंदैन, त्यसैले अहिले नै यसमा धेरै पर जान बल भने नगरौं ।

च) हिजो क. मनमोहन अधिकारी प्रधानमंत्री हुदा होस् वा क. माधव कुमार नेपाल साथै क.झलनाथ होस् अनि क. केपी शर्मा ओली हुदा के के भए र के के गरियो ? सायद खुकुरीले त बिर्सियो होला तर अचानोलाई भने त्यो घाउ को पिडा अहिले पनि आलै छ तर जे होस् अव त्यसको पछि नलागौं I अनि घेरा बन्दी, जोड घटाउ हिजो भएनन् र ? आफुलाई पर्दा भने दुख्ने अनि अरुहरुलाई भने पर्दा दुख्दैन र ? यि सबैको सुरुवात क. माधव कुमार नेपाल बाट सुरु भई हाल क. केपी शर्मा ओली, भोली क. प्रचण्ड, पर्सी क. झलनाथ अनि यसै गरि क. बामदेव, क. ईस्वर पोख्रेल आदीलाई एक्ल्याएर अरुहरु खुशी हुने परम्पराले पार्टी भित्र यसको निकास निस्कन्छ र ? अनि यो के दाल भात खाए जस्तो हो ? बारम्बार किन यो दोहोरिरहन्छ ? कमरेडहरु हो यस्तै कमिकमजोरी बाट पाठ सिक्नुहोस् । हिजो सम्म कुरा मिल्दा सबै निकायहरुबाट दुई अध्यक्षलाई पूर्ण अधिकार सहित पार्टी एकिकरणको र पार्टी संचालनको जिम्मा दिएको होईन ? यस्तै हुन्छ पार्टीका बिधान, विधि , पद्धती बाहिर गई गरेका गलत निर्णयहरुको परिणाम तर अहिले के मा कुरा मिलेन अनि टाउकामा हात लगाएर हुन्छ ? जहां बाट गल्ती सुरु गर्नु भयो त्यही बाट नै गल्तीलाई सच्च्याउने कोसिस गर्नुहोस्, निकास त्यही बाट निस्कन्छ । अन्यथा कुना काप्चा , गुट–उपगुटहरु र अध्यारा कोठामा बसी गरेका सबै कार्यहरुको नतिजा गलत नै निस्कन्छ । त्यसर्थ निकास बाहिरबाट होईन पार्टी भित्रै बाट खोजौं , पार्टीको विधान, विधि, पद्धती , निति अनुरुप नै अगाडी बढौं । “सर्प देख्दा बाहिर हात - माछा देख्दा भित्र हात” भने जस्तो चहि नगरौं । आ–आफुले आत्मा समिक्षा गरि मित्रता , आत्मियता, एकता र विश्वासका साथ संयमित भई देश, पार्टी, नेता, कार्यकर्ता ,सुभेच्छुक, सुभचिन्तक र जनताहरुको अनुहारलाई गहिरिएर हेरि सही निर्णयका साथ अगाडी बढ्नुहोस् निकास त्यसैबाट निस्कन्छ ।

छ) अब आयो पार्टी एकीकरणको सवाल – पार्टी कि पहिले नै कार्यगत एकता वा चुनावी एकतामा जोड दिनु पथ्र्यो, त्यो काम हिजो भएन तर अव ढिला भईसक्यो किनकी दुई महिना भित्र एकिकरणको काम सक्ने भनियो तर दुई बर्ष वितिसक्दा पनि त्यो काम हुन सकेन किन ? यसको दोष कस्लाई दिने ? पार्टी साखा कमिटि देखि केन्द्रीय कमिटि सम्म मिटीङ, भेला , सभा , जिम्मेवारी केही छैन I पार्टी तहस- नहस छ अनि  कसैको केही काम छैन I एक जमानामा भनिन्थ्यो कम्युनिष्ट पार्टी भनेको एउटा क्यार्डस बेस पार्टी हो भनेर तर यो त हाल मास बेस पार्टी जस्तो पो देखिन्छ I यसको जिम्मा कसले लिने ? यसको दोसी कसलाई बनाउने ? अनि  एउटा पूर्ण शरिरलाई अपाङ्ग बनाई टुक्रा टुक्रामा विभाजन गरी अपाईज र असक्त अवस्था पुर्याएको छ यता भने नेता - कार्यकर्ताहरुले काम नपाएर कामको खोजिमा फेसबुक , सामाजिक संजालहरुमा अभिब्यक्त, लेख, रचना, इन्टरभ्यु मार्फत प्रकट गरिएका रोस , अभिब्यक्तिहरुले हाल निम्त्याएको अराजकता हो  यो जस्तो मलाई लाग्दछ । त्यसैले छिटो भन्दा छिटो पार्टी एकीकरणको काम सकौं, सबैलाई जिम्मेवारी दिउ, जिम्मेवार बनौ, महाधिवेसनको मिति तोकौं साथै तलका सवै कमिटिहरुको मिटिङ राखी अधिवेसनहरुको टुङ्गो लगाउ, त्यसपछि हेर्नुहोस् नेकपाको फुर्ती नै अर्को हुन्छ । सरकारले गरेका राम्रा कामहरुको विज्ञापन पनि कार्यकर्ताहरुले नै गर्ने छन् अनि पार्टी चलायमान हुनेछ । आशा गरौं समयले सबैलाई यसै ठांउमा पुर्याउन सफल हुनेछ

ज) आदरर्णीय कमरेडहरु हो पार्टी विभाजन त् देखि नै रहनु भएको छ नि होईन ? कम्युनिष्ट पार्टीहरुको इतिहासं हेर्नुस त मिल्दा सम्म प्रसंसै प्रसंसा गरेर नथाक्ने नेताहरु अलिकति मात्र मात्रा  विग्रने वित्तिकै कुहिएको फर्सि वा बिग्रेको अण्डा झै सतो सराप गरि दिएको उपमाहरु थामी नसक्नुका हुन्छन् । तसर्थ भर्खरै टुट फुट हुदैं हाल एक जुटका साथ एउटा मुल कम्युनिष्ट पार्टी नेकपा हो भन्ने कुरालाई जनताहरु समक्ष पूर्ण रुपमा राख्न पनि नपाउदै कम्युनिष्टहरु भित्र रहेका कु–चरित्र भने नदेखाउनुहोस् । यदि सबै जनालाई पद–प्रतिष्ठा नै चाहिएको हो भने भनिन्छनी “मर्ता तो क्या नही कर्ता” भने जस्तै :– अध्यक्ष क.केपी शर्मा ओली पार्टी , अध्यक्ष क.पुष्प कमल दाहाल पार्टी, अध्यक्ष क.  माधव कुमार नेपाल पार्टी , अध्यक्ष क. झलनाथ खनाल पार्टी वा त्यस्तै सबैको नामको पछाडी पार्टी लेखी बोर्ड झुण्ड्याउने काम गरौं अनि हामीहरु जस्ता भोका नाङ्गा कार्यकर्ताहरु पनि ती पार्टीका पछि लागी हालौं , पार्टी खोल्ने होडबाजीमा पार्टी त खोलौला, नेता पनि बनौंला तर त्यस्तो पार्टीले भने देश र जनताको केही उन्नती प्रगती हुदैन I स्वार्थले टुक्रिएको हुंदा यस्ताको विनाश निश्चित छ । अनि फेरी पार्टी एकताको निमित्त पार्टीहरुको सिला खोज्दै हिन्नुपर्ने दिनहरु पनि आउनेछन् । त्यसकारण यसबेला मलाई लेनिनको एउटा भनाईको याद आउछ की कमरेड हो पार्टी भित्र असहज र अप्ठ्यारो स्थितिमा पार्टी हितको निमित्त एउटा कुशल नेतृत्वले समस्या बाट समाधान खोज्दा कहिले काही एक स्टेप पछाडी हट्न पनि सक्नुपर्छ साथै अवस्था सहज भइसकेपछि भने दुई स्टेप अगाडी बढ्दा पनि फरक पर्दैन भन्ने उहांको उक्तिलाई आत्मसाथ गर्दै हाल पार्टी भित्र देखिएका सबै खाले खोक्रा नारा, खोक्रा राष्ट्रबाद, खोक्रा मान सम्मान यि सबै अस्थिर कुराहरुलाई आ–आफ्नो मानस पटलबाट हटाई एकतालाई जोड दिदै निकास पार्टी बाहीर बाट होईन पार्टी भित्रैबाट खोजौं, आ–आफ्नो ठांउबाट हामी सबैले अभिमान, दम्भ, घमण्ड, कुण्ठा आदी सबै बाट मुक्त भई बालहठ त्याग गरौं । सबैले सबैथोकमा आफ्नो पद प्रतिष्ठा र पावर भने नजोडौं । अव यति भन्दा र गर्दा पनि कसैले “मेरा गोरुको बारै टक्का” भनि बालहठ त्यग्दैन भने म त अव यती मात्र भन्न सक्छुकी :–
 “बिनास्च काले – विपरेच बुद्धी”
त्यसैले भनिन्छनी भिर बाट लड्ने गाईलाई राम राम भनिन्छ तर काध थाप्न भने सकिदैन ।
अस्तु ।

सम्बन्धित समाचार

Advertisement