भक्तपुर । घर बनाउने क्रममा छतबाट लडेर आफ्नो आधा अंग नचल्ने भएका सुर्यविनायक - ९ नंखेलका हरिगोपाल ब्याञ्जू १५ बर्षदेखि ओछ्यायनमै छटपटाइरहेका छन् ।
दुःख माथी दुःख भने जस्तै छोरा शारीरिक रुपमा अपांग हुनुको पीडा त छँदै थियो उनकी आमा ७३ बर्षीया काईली ब्याञ्जूलाई फेरी अर्को पीडा थपिएको छ, बुहारी विष्णुदेवी ब्याञ्जू पनि क्यान्सरको समस्याबाट पीडित भएकी छिन ।
घरमा कमाएर ल्याउने एक मात्र पुरुष त्यो पनि अपांग भएर १५ बर्षदेदेखि ओछ्यानमा परेको र हाल बुहारी पनि क्यान्सर ग्रसित भएपछि ७३ बर्षीया आमाको विजोक भएको छ ।
न्यून आर्थिक अवस्थाका कारण छोरा बुहारीको उपचार गराउन त परै जाओस हात मुख जोर्न समेत उनीहरुलाई धौ-धौ रहेको उनका छर छिमेक बताउँछन् ।
न्यून आर्थिक अवस्था भएका उनीहरु हाल सहयोगी मनको पर्खाईमा रहेका छन् ।
कमाउने छोरा विगत लामो समय देखि पिडामा छदैं थियो सकुसल रहेकी बुहारी समेत क्यान्सरका कारण थला परेपछि आफु मर्नु न बाँच्नु भएको ७३ बर्षीया बुढी आमैले सुनाइन ।
घरमा कमाउने कोहि छैन छोरा बुहारीको औषधी उपचारमा त परै जाओस आफुहरुको दुई छाक टार्न समेत धौ धौ भएको उनले गहभरी आँसु पार्दै सुनाइन ।
१५ बर्ष अगि घर बनाउने ठेक्का पट्टाको काम गर्ने ब्याञ्जू हाल कम्मर भन्दा तलको भाग चलाउन सक्दैनन् । उनी १५ बर्ष देखि शौचालय सम्म पनि जान सक्दैनन् । उनको कम्मर भन्दा तलको भाग हाल सुकेर गएको छ भने क्यान्सरको समस्याबाट पीडित भएकी बुहारीको उपचार भक्तपुर क्यान्सर अस्पतालमा हुदै गरेको छ।
मानव धर्मले भन्छ दिन दु:खीको सहयोग गर्नु उनी जस्ता दिन दु:खीको सहयोग गरेका खण्डमा अर्को लोकमा पनि पुण्य प्राप्त हुन्छ । त्यसैले सहयोगी मनहरुमा नमन रहेको छ मेरा छोरा बुहारीलाई बचाउनुहोस् ।