म 'घरबेटी आतंक' सहेरै बसुँ

अनलाइन दर्पण 2019-09-11
img

  बविता ढकाल

बल्ल बल्ल एउटा जागिर मिल्यो । काम गर्नुपर्ने बिजुली बजार एरिया । आफ्नो बसाई बालाजु वाईपास थियो । कोठाबाट अफिस आउन दुईवटा गाडी फेर्नुपर्ने । त्यसैले अनामनगर तिर कोठा पाए राम्रै हुन्थ्यो, गाडी भाडापनि बच्ने, समयको पनि बचत हुन्छ भन्ने सोचेर कोठा खोज्ने अभियानमा लागें । आफु एक्लैले कोठा खोजेर नसक्ने देखेपछि कोठा खोज्ने एजेन्ट भएको ठाउँसम्म पुगे ।  

पुरानो बानेश्वरमा कोठा खोजिदिने एजेन्टेको अफिस रहेछ । त्यो पनि फेसबुकबाट नै भेट्टाएँ । फेसबुकमा रुम फाईन्डर भनेर नम्बर पनि राखिएको एउटा एजेन्टको नम्बर पाएँ । त्यसैमा फोन गर्दै पुरानो बानेश्वरसम्म पुगें । 

त्यहाँ गएर एउटा फर्म भरे तीन सय रुपैंया लाग्यो । अनि रुम पाउने वित्तिकै रुम देखादिन्छौं भने । त्यसपछि म त्यो तीन सयको बिल बोकेर त्यहाँबाट हिँडे । म दिनदिनै तीनिहरुलाई फोन गरेर कोठा पाउनु भयो भनेर सोध्दथें । करिब एक महिनासम्म कोठा पाउन सकिनँ ।  

उनीहरुको तीन सयको बिलको डेट सकिन्न लाग्यो । मैले कोठा पाइन । एजेन्टले तीन सय रुपैंया फर्म भरेको लिने र त्यो बिल काटेको एक महिनासम्म मात्रै काम गथ्र्याे । त्यसैले म दिन दिनै उनीहरुलाई कोठा पाउनु भो भन्दै फोन गर्थें । त्यो बिलको समय सकिनै लाग्दा एउटा कोठा भेटिएको खबर पाएं ।  
त्यसपछि बल्ल कोठा पाइने भो भनि खुशी भएँ । अनामनगर घट्टेकुलोको घरमा कोठा भएको एजेन्टबाट खबर आयो । त्यसपछि म अफिसबाट अलि चाँडै निस्किएँ । कोठा भएको घरमा पुगेँ । कोठा ठीकै लाग्यो भाडा साह्रै महंगो, ९ हजार ५ सय । 

कोठा नापाएर हैरान भएको म महंगो भएपनि बस्छु भन्ने लाग्यो । घरबेटीलाई बैना १५०० दिएर बुक गरेँ । बैना छोडेको दूई दिन पछि म फेरि घरबेटी भेट्न पुगेँ । त्यहाँ थप दुई हजार दिएर घरबेटीलाई अरु पैसा तलव आएपछि दिन्छु भन्दै निस्किएँ ।  

घरवेटीलाई अग्रीम भाडा दिनुपर्ने सर्त भएकाले भरबेटीलाई केही दिनमा तलब आएपछि बाँकी पैसा दिने प्रतिबद्धता व्यक्त गरेँ । त्यसको भोलिपल्ट बालाजुबाट कोठाको सामान प्याक गरी अनामनगरको नयाँ कोठामा सरेँ ।  

कोठा सरेको दिन थियो जेठ २७ गते । महंगो भएपनि अफिस नजिकैको क्षेत्रमा कोठा पाएकोमा म दंग थिएँ । कोठामा बस्न थालेँ । एक दिन, दुई दिन हुँदै दिनहरु वित्दै गए । मेरो तलब आउने ५ गते भएकाले सोही दिन पैसा दिने बचन दिएको थिए । त्यसको अघिल्लो दिन असार ४ गते घरबेटी एउटा चिट लिएर आईन् ।  

के को चिट रहेछ भनि हेरेँ । त्यो त मलाई पैसा माग्नका लागि लाग्ने शुल्क तोकिएको चिट पो रहेछ । त्यसमा लेखिएको थियो कोठा भाडा ९ हजार ५ सय, पानीको ५ सय, फोहर १००, बिजुलीको बिल भनेर १५० सहित जेठको २७ गते देखी ३२ गते सम्मको एक्स्ट्रा भाडा लेखिएको थियो ।  

त्यो चीट हेरेपछि म त ट्वाँ परेँ । के भनौं र के गरौं भयो । सोच्नै सकिन । शुरुमा कोठा हेरेर बैना गर्दा पानीको २५० लाग्छ भनेका थिए ।  पछि ५ सय भएर आएछ । जब पानी बिहान र बेलुका गरेर एक बाल्टि आउँछ । दुईजना बस्नु हुन्छ भन्दै ५ सयको पानीको बिल पो आयो त । त्यसपछि म रन्थनिएँ ।  
म घरबेटीलाई भन्न गएं ‘तपाईले त यी सबै भन्नु भएको थिएन यो कस्तो बिल बनाको ?’ उनले मलाई हकार्दै भनिन्, ‘तपाईलाई पहिल्यै भनेको थिएं ।’ त्यसपछि अझ रिसको बढ्यो र मैले भने ‘मलाई पानीको कुनै समस्या छैन विहान र बेलुका दुबै समय पानी एक एक घण्टा आउँछ थापेर राख्नु होला भनेकोमा त्यो पनि पाएको छैन । फेरी बिल पनि थपेर आएछ त ? 

ठीकै छ पानीको समस्या त खासै झेल्नु पर्दैन भन्ने लागेर चुप बसें । तर असार साउनको वर्खामासमा पनि मज्जाले धारामा पानी आउनु त परै जाओस्, आकाशबाट झरेको पानीले लुगा धुनु, भाँडा माझ्नु, नुहाउनु भनेपछि मैले पानीका लागि दिएको पाँच सयले चाहीँ के गर्ने रहेछ भन्ने लागि रह्यो । यी यावत कुरालाई वेवास्ता गर्दै असार महिना गुजारेँ । साउन महिनाको ६ गते मेरो हातमा फेरि घरबेटीको अर्को चिट आयो । बिहान अफिस निस्कनै लाग्दा मेरो हातमा घरवेटीले चिट थमाइन । 

चिटमा झ्वाट्ट हेरेर मात्र अफिस लागेँ । अफिसमा के पुगेको थिएं, त्यो चिटको याद आयो । चिटमा लेखिएको विषयले तनाव दियो । एकमुष्ट १० हजार ३ सय रुपैंया तिर्नु पर्ने कोठाभाडाको पैसाले दिनभरि मेरो दिमाग रिंगाई रह्यो । कहिले घर पुगौला र घरबेटीसंग कुरा गरौंला भन्नेमा नै मेरो दिन बित्यो । 
साँझ कोठामा पुगेर त्यो चिट लिएर म सिधै घरबेटीको कोठामा हान्निए । र सोधें, ‘तपाईले कसरी बत्तिको पैसा दुई सय पुर्याउनु भो ?’ उनले पनि ठाडो जवाफ दिइन् ‘तपाईको बत्तिको बिल नै धेरै उठेको छ ।’ यो सुनेपछि म फेरी तनावमा आएँ । हैन एउटा ट्युवलाईट बालेको बत्तिको यति धेरै युनिट कसरी उठ्छ ? 

मलाई अचम्म लाग्यो ‘असारमा पनि बत्तिको पैसा १ सय ५० रुपैंया तिरेँ, फेरि साउनको पहिलो हप्तामै मेरो बत्तिको बिल कसरी धेरै आयो,?’ मैले प्रश्न गरेँ । जबकी म असारदेखि त्यस घरमा बसेको छु । मिटर रिडिङ महिनाको अन्तिममा हुन्छ भने त्यो महिनाको पहिल्यै बत्तिको बिल चाँही कसरी आउँछ ? यही कुरा घरबेटीसंग गर्दा कुरा मात्रै घुमाउँछन् सही जवाफ नपाएपछि म यो ब्लग लेख्न बाध्य भएँ ।  
म मात्रै होइन घरबेटीको आतंकमा धेरै डेरावालहरु परेका छन् । जसरी पनि बस्नु पर्ने बाध्यताको फाईदा घरबेटीले उठाउँदै आएका छन् । घरबेटीले सकेसम्मको बलले निचरिरहेका छन् डेरामा बस्नेहरुलाई । जब मैले मेरो समस्य सहकर्मी साथीहरुलाई बताएँ । उनीहरुले पनि मेरो जस्तै भोगाईमा गुजारा टारिरहेका रहेँछन् । यसको जवाफदेहि को हो ? डेरावालको समस्याको सुनुवाई कहाँ हुन्छ ?

सम्बन्धित समाचार