कविता: मेरो छोरोलाई गुण्डा भन्नुहोस्

अनलाइन दर्पण 2018-02-20
img

  अम्बिका कार्की

मेरो बूढो ससुरा कप्तान हुनुहुन्थ्यो।
ससुरा बा आर्मीकै हवल्दारमा
पेन्सन निस्किनुभयो ।
मेरो पति पेन्सन पाक्ने बेलासम्म पनि
प्र. ज .हुनुहुन्छ ।
इमान्दारी र आदर्श बोकेर 
राष्ट्र सेवक कहलाएको मेरो सन्तान
बाच्न निकै गार्‍हो भएको महसुस हुदैछ ।
छोरालाई भने अब गुण्डा बनाउन मन छ मेरो 
त्यसैले मेरो छोरालाई गुण्डा भन्नुहोस् ।

हो
तीन पुस्ताले नै हिजो बेइमानीको छायाँ समेत
आफ्नो बंशमा पर्न दिएनन् 
हिङ नभएपनि हिङ बाधेको टालो हौं भन्दै
छोरा ,छोरीलाई नै त्यही शिक्षा दिदैं आएँ
आजसम्म छोरीलाई पनि छोरोलाई पनि 
पश्चिमा रीतले छोएको छैन ।

म पनि पुर्ख्यौली बिंडो थाम्दै 
रमाउन चाहें यहि समाजमा .....
तर मैले हरेक क्षेत्रमा तिखा प्रहार भन्दा 
अरु केही भेटिन किनकि 
सहिलाई सहि गल्तीलाई गल्ती बोल्नु 
मेरो मान्यता हो ।

अनि छोरीलाई हातमा शैक्षिक योग्यता 
बोकाएर कुन बर्षको लोक सेवा लडाइन ?
अनि कुन मन्त्रालय पठाइन ?
न मसंग गोजी भरिदिने सामर्थ्य छ 
न त मेरा ठाउँमा मान्छे नै छन् ।
कल्पना भनें मनमा मीठा -मीठा आउँथे
म खेतीमा उछार नपाएपनि 
छोरो छोरी ठूलो मान्छे बनाउँछु भन्ने सोच्थें
तर मैले मेरो देशको थीति देखि हारें 
सोझो भएर बाच्न नसकिने रहेछ 

त्यसैले पनि छोरोले अब कुण्डल लगाओस्
लामो लामो कपाल पालोस् 
घाँटी, हातमा मोटो सिक्री लगाओस् 
दुई चार जना त काचै खाउँला झैं गरोस् 
मान्छे कुट्ने काममा नै दुई चार लाख 
महिनावारी तलव थापोस् ।

पुर्खेउली सान भुलेर भा`पनि
यहि पद्धति अंगालेर 
नमस्कार खाएकाहरू संग मिल्यो भने 
नमस्कार खादैं पैसाले पनि भविष्य त बन्छ ।

त्यसैले 
मेरो छोरालाई गुण्डा भन्नुहोस् ।
ढाट्नु ,छल्नु हुदैन 
फोकटमा अरूलाई रुवाएर 
कसैको एक पैसा खान हुदैन है!
भनेर आजसम्म सिकाउँदैछु 

तर 
इमान्दारीले जिउँदो हुँदै 
पलपलमा म मरेकोछु
फेरि मेरा सन्तानलाई 
मरेको कसरी हेरौं ?
यसरी घुटघुटीको जीवन 
जिउन बाध्य गराउनु भन्दा नि सरकार!
आजै मेरो छोरालाई भित्री रुपमा तेरो सहयात्री बना 
बाहिर देखाउन बरु पक्राउ पुर्जी निकाली दे 


मेरो छोरालाई गुण्डा भन
अँह मलाई छोरो परदेश पठाएर
बिदेशीलाई उसको पसिना बेचाउन 
कत्ती मन छैन 
पढाइ सकेर शहरमा जागिर खोज्न 
भौतारिइरहेकोछ ।
खेतीबाट दुख गरेर मैले 
शहरमा छोरो पाल्न नसक्ने
अवस्थामा रहेकीछु 
आखिर के गर्‍यो मेरो इमान्दारीताले ?
के गर्‍यो मेरो आदर्शले ?
के गर्‍यो मेरो संस्कार र संस्कृतिले ?
के गर्‍यो मेरो प्रतिष्ठाले?
र कसले चिन्यो मलाई ?
अहिलेको परिस्थितिमा 
उसले मैले भनें झै गर्‍यो भने 
सलाम पनि खान्छ, इज्जत पनि पाउँछ 
पैसा पनि पाउँछ झन् सानको कुरै नगरौं ।
तर मान्छ कि मान्दैन दोधारमा छु 
तैपनि मेरो छोरालाई 
आजैदेखि हजुरहरूले 
गुण्डा भन्नुहोस् ।

अम्बिका कार्की अमु
सर्लाही वाग्मती नपा
हाल चितवन भरतपुर

सम्बन्धित समाचार

Advertisement