गाउँले सहर

अनलाइन दर्पण 2018-09-25
img

आमा सहर हैन म पनि गाउँमै बसेको छु

फागुन चैतमा बारीमा डल्ला फोर्दा

नाकको प्वालले धुलो ननिलोस् भनी

दिदीको सलले नाक र मुखलाई ढाक्थेँ

आज बारीको धुलो ढाक्न हैन

सडकको धुलो ढाक्न

नाकमुखे कट्टु लगाउँछु

त्यसैले त आमा सहर हैन म पनि गाउँमै बसेको छु।

असारामास गैरी खेतमा पानी लगाउन जाँदा

हिलोले खुट्टा नखाओस् भनी

बुबाले हाटबाट रु १२० मा ल्याइदिएको गम्बुट लगाउँथेँ

आज गैरी खेतको बाटोको हिलो छेक्न हैन

सहरे सडकको हिलो छेक्न

जुत्तालाई प्लास्टिकले बेरि

आधुनिक गम्बुट लगाउँछु

त्यसैले त आमा सहर हैन म पनि गाउँमै बसेको छु।

बाले नयँको सगुन थापेको भेटी जम्मा पार्थ्यौँ

एकदिन सुखदिने भगवानको मुर्ति किन्न भनी

आज महिनाभर जोरजाम गरेको पैसा

सुख दिने भगवानको मुर्ति किन्न हैन

घरबेटीको पाँच गतेको अनुहार छेक्न

खाटको सिरानमुनी जम्मा गर्दै छु

त्यसैले त आमा सहर हैन म पनि गाउँमै बसेको छु।

- श्रीकृष्ण बुढाथोकी

 

सम्बन्धित समाचार

Advertisement