काभ्रे । तामाङ चलचित्र संघको आयोजनामा काभ्रेको भकुण्डेमा तामाङ चलचित्र महोत्सब सम्पन्न भएको छ ।
सात बर्ष पछि काभ्रेको नमोबुद्द नगरपालिकामा आयोजना भएको तीन दिने तामाङ चलचित्र महोत्सव पाँच बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
तामाङ चलचित्र संघका अध्यक्ष एवं कलाकार विकु थोकरको नेतृत्वमा सुरु भएको महोत्सव तीन दिनसम्म चलेको थियो । तामाङ चलचित्रको विकास एवं प्रर्वधनका लागि आयोजना भएको महोत्सवमा देशभरका तामाङ चलचित्रकर्मी भेला भएका थिए ।
तामाङ चलचित्रलाई आगामी दिनमा कसरी आधुनिकतामा लैजाने र धेरै भन्दा धेरै दर्शकहरुमाझ लैजान सक्ने बनाउने भन्ने विषयमा वृहत् छलफलका साथ आगामी दिनमा यसको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि महोत्सवमा छलफल भएको थियो ।
‘हाम्रो कला हाम्रो पन तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने नाराका साथ भएको महोत्सवमा आप्लेङगा नाम्सा, रुङसी टिला, सेमरिन मुला माया, श्होङ र सेर्कु नामक ५ चलचित्र प्रर्दशनी गरिएको थियो । जसमा आप्लेङला नाम्सा उत्कृष्ठ चलचित्र घोषणा भएको थियो ।
उत्कृष्ठ भएको उक्त चलचित्रलाई प्रोत्साहन स्वरुप ५१ हजार नगद पुरस्कार सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
महोत्सवमा तामाङ कला झाँकी बुद्दचित्त मालासहित तामाङ खानाको पनि प्रर्दशनी गरिएको थियो ।