गौतम बुद्ध र आँपको बोट

अनलाइन दर्पण 2020-05-08
img

  लोकमणि पौडेल

लघुकथा :

एक दिन गौतम बुद्ध आँपको फेदमा अडेस लगाएर विश्राम गरिरहेका थिए । दिउँसोको समय थियो । रुखमा लटरम्म आँप पाकेका थिए । त्यत्तिकैमा केही बच्चाहरूले बुद्ध बसेको आँपको बोटमा ढुंगाले हाने ।

ढुंगाले हानेर आँप त खस्यो । तर, आँपलाई हान्नको लागि हानेको ढुंगाले रूखमुनि बसेका बुद्धलाई समेत लाग्यो ।

तल झरेको आँप टिप्न बोटको नजिकै पुगेका बच्चाहरूले अकस्मात आँपको फेदमा ध्यान गरिरहेका बुद्धलाई देखे । ढुंगाले लागेर बुद्धको निधारबाट रगत बगिरहेको थियो। आँफूहरूले हानेको ढुङ्गाले जोगीलाई लागेछ भन्ने बुझेर बच्चाहरू डराए।

जोगीले हामीलाई पिट्ने भए भन्ने डरले उनीहरू थर्कमान भए। भाग्नुभन्दा क्षमा माग्नु उचित ठानेर उनीहरू अत्यन्त विनम्र भावले बुद्धसँग क्षमा मागे।

“हामीले आँप झार्न भनेर ढुंगा हानेका हौं। हजुरलाई देखेको भए हान्दैन’थ्यौं। हामीबाट ठूलो भूल भयो। हामीलाई बच्चा सम्झेर क्षमा गर्नुहोस् ऋषिज्यू !”

बच्चाको अनुहारमा हेर्दाहेर्दै बुद्धका आँखाबाट आँसु बग्न थाले।

जोगीका आँखाबाट आँसु बग्न थालेको देखेर बच्चाहरू झन् डराए। अबचाहिँ जोगीलाई निकै दुखेको हुनुपर्छ भन्ने सोचेर एउटा अलि ठूलो बच्चा केही अगाडि सरेर बोल्यो- “ऋषिवर ! हजुरलाई धेरै दुखेको छ हो ? हिँड्नुस् हामी हजुरलाई वैद्य बा’कोमा लैजान्छौँ।”

“नआत्तेऊ बाबू ! हो यो सानो घाउ हो। मलाई खासै दुखेको छैन।” बुद्धले जवाफ दिए।

“अनि हजुरका आँखामा आँसु किन त ?” बच्चाले सोध्यो ।

“तिमीहरूले आँपको बोटमा ढुंगा हान्यौ। आँपको बोटले तिमीहरूलाई आँप दियो। एउटा ढुंगाले मलाई पनि हान्यौ । तर, मैले तिमीहरूलाई डर सिवाय केही दिन सकिन ।

कति अन्तर छ आँपको बोटमा र ममा ! यही सोचेर म चिन्तित भएको हुँ। यही चिन्ताले मन दुख्यो र आँखा रोए।”

 

Related Post

Advertisement