तीन पुस्ताका कवि एकै मञ्चमा

अनलाइन दर्पण 2016-11-06
img

भक्तपुरको लोकन्थलीस्थित सँझ्या साहित्यले तीन पुस्ताका कविलाई हालै एकै मञ्चमा उतारेको छ । २०२१ सालदेखि कविता साधनामा लागेका कवि द्वारिका श्रेष्ठ, पचासको दशकका सक्रिय कवि राजेन्द्र पराजुली र सत्तरीको दशकदेखि कविता लेख्न थालेकी  नवकवि बिना थिङ तामाङले सँझ्यामा कविता प्रस्तुत गरेका हुन  ।

‘हामी फरक तरिकाले कविता सुन्छौँ,’ सँझ्याका अभियन्ता रामगोपाल आशुतोषले बताए । ‘उमेर र लेखनका हिसाबले पच्चीस वर्ष फरक कविलाई सुन्यौँ,’ उनले थपे । बाक्लो उपस्थितिबीच तीन कविले आफ्नै परिस्थिति र परिवेशका कविता प्रस्तुत गरे । भिन्नै वर्ग र पहिचानको प्रतिनिधित्व गर्ने कविका कवितामा फरक विचार र चिन्तन प्रस्तुत गरेको बताउँदै सँझ्याका अर्का अभियन्ता महेश पौड्यालले वरिष्ठ कवि द्वारिका श्रेष्ठका कविता आत्मकेन्द्रित र विश्वजान्य परिस्थितिको सूक्ष्म एवम् प्रयोगात्मक प्रस्तुति रहेको छ भने उपन्यासकार एवं कवि राजेन्द्र पराजुलीका कविता समाज उन्मुख र अबौद्धिक वर्गका लागि पनि अति हितकार भएको बताए ।

एउटा भक्कुको क्रुसिफिकेइसनको रङगशाला शीर्षकको कविताबाट कवि द्वारिका श्रेष्ठले आफ्नो असफल प्रेमको आत्मविवेचना गरे । आफ्नी पत्नी जलेश्वरी श्रेष्ठको उपस्थितिमा उनले आफ्नो पहिलो प्रेम असफल भएको सुनाए । मेरो यात्राका अशोक वाटिक शीर्षक कवितामा उनले आफ्नो विदेश यात्राको विस्मृति प्रस्तुत गरे ।

त्यस्तै कवि तथा आख्यानकार राजेन्द्र पराजुलीले कथा शीर्षक कवितामार्फत् राजनीतिक स्खलन, वैचारिक स्खलन र देशको विषम परिस्थिति चित्रण गरेर प्रशंसा बटुले । ब्रेकिङ न्युज शीर्षक कवितामा उनले राष्ट्रिय रोगको कारण र कारक तत्व केलाए ।

बिना थिङ तामाङले प्रेषक बुद्ध शीर्षक कवितामा किनाराको आवाज बुलन्द गरिन् । उनले उक्त कवितामा कसरी आदिवासीजनजाति विदेश जान बाध्य छन् र उनीहरू लाश देशमा दिनदिनै भित्री रहँदा पनि सरकार अकर्मण्य रहेकोमा शालिन विद्रोह गरिन् । त्यस्तै माइली दिदी कवितामार्फत् उनले आफ्नो समुदायको आर्थिक वाध्यताको मार्मिक प्रस्तुत गरिन् ।

कार्यक्रममा रेडियोकर्मी लक्ष्मी रुम्बाले पनि कविता सुनाएकी थिइन् भने युवा कवि जीवन खत्रीले बोनस कविता सुनाएका थिए । कार्यक्रम मध्यपुर थिमिको लोहकिल्थलीस्थित ॐ ज्ञान मन्दिरमा सम्पन्न भएको थियो ।

Related Post

Advertisement