दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा आलु महोत्सव २०७६ हुने भएको छ । गाउँपालिकाको आयोजनामा आलुबाट आत्मनिर्भर बनाउँदै समृद्ध गाउँ निर्माण गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गर्न लागिएको हो ।यहि कात्तिक १ र २ गते मेलुङ गाउँपालिका वडा नम्बर ३ स्थित भुमेस्थानमा दुई दिने आलु महोत्सव हुने गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।अध्यक्ष श्रेष्ठका अनुसार मेलुङ गाउँपालिकालाई आलुबाट आत्मनिर्भर बनाउँदै प्राङगारिक आलु उत्पादन गर्न, संकलन गर्न र प्रशोधन गरि विक्री वितरण गर्न, विभिन्न स्थानमा आलुको परम्परागत भण्डारण र आधुनिक प्रविधिको भण्डारण केन्द्रको व्यवस्था गर्ने लगाएतका उद्धेश्यका साथ आलु महोत्सव गर्न लागिएको हो ।
गाउँपालिकाले गरेको सर्वेक्षण अनुसार गाउँपालिकामा वर्षेनी करिव १ करोड रुपैयाँ बराबरको आलु उत्पादन भइरहेको छ । गाउँपालिकाको वडा नम्बर ३ को भूमेस्थान, काडेँ, बाटुले, वडा नम्बर ४ का फुर्के सल्ला, तीतेचौर, सहरे, भाथिल्लो दम्बुवा, सरङथली, वडा नम्बर ५ को दुधिले भन्ज्याङ, कल्छे, डाँडाखर्कमा वर्षे आलु उत्पादन हुन्छ । त्यसैगरि गाउँपालिकाको वडा नम्बर १ पवटी, वडा नम्बर २ को सुकाठोकर, वडा नम्बर ४ धनुके र थामीडाँडा, वडा नम्बर ७ को ज्यामिरे, गर्भे र सितली, वडा नम्बर ६ को सिम्रास र निङासी लगाएतका स्थानमा हिउँदे मौसमी आलु उत्पादन हुने गरेका छन् ।
महोत्सवमा आलुका विभिन्न स्वादका परिकारहरुको खानको स्टल राखी उक्त परिकारको स्वाद चखाउने, मौसमी र वमौसमी तरकारीहरुको स्टल राखीने, विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा सांगीतिक प्रस्तुती लगाएतका कार्यक्रम हुनेछन् ।