पानीको स्रोत जोगाउन ५१ रिचार्ज पोखरी निर्माण

अनलाइन दर्पण 2019-10-22
img

रामेछाप । पानीको मुहान संरक्षणका लागि रामेछापको पकरवासमा ५१ वटा रिचार्ज पोखरी निर्माण गरिएको छ । वर्षायाममा परेको पानीलाई बगेर खेर जान नदिनका लागि वडा कार्यालयले नै पोखरी निर्माण अभियान चलाएको हाे।

सुक्खा पाखो जमिनमा रिचार्ज पोखरी खन्नका लागि वडा कार्यालयले अभियानकै रुपमा काम थालिएको हो । वडा अध्यक्ष तुलसी श्रेष्ठले अहिलेसम्म ५१ वटा रिचार्ज पोखरी निर्माण गरेको र आगामी वर्ष त्यति नै संख्यामा थप पोखरी निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

बर्षामा समेत पानी पर्दै नपर्ने, परे पनि सतहबाटै बगेर जाने भएकाले वडा कार्यालयले रिचार्ज पोखरी निर्माण अभियान थालिएको हो । वर्षायाममा परेको पानीलाई बगेर खेर जान नदिनका लागि पोखरी निर्माण अभियान चलाएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । वातावरणविद्हरूले जम्मा भएको पानीले जमिनभित्र पानीको रिचार्ज हुने र मूल नसुक्ने सुझाव दिएपछि रिचार्ज गर्न थालिएको हो । ।

पहाडमा जथाभावी धुलेसडक निर्माण गर्दा बगेर जाने माटोले साविकका आहाल र पोखरी पुरिएका थिए । पुरिएका पोखरी र आहालहरूको पनि माटो झिकेर पुनः सञ्चालनमा ल्याइएको छ । प्रायः गोरेटोबाटो, साना खोल्सीहरूको पानी बगेर जाने स्थान र आसपास मैदान भएको स्थानमा पोखरी र आहाल निर्माण गरिने गरिएका हुन्थे । त्यसमा संकलित पानी हिउँदमा पशुचौपायलाई खुवाउने गरिन्थ्यो ।

झन्डै दुई दशकयता सुक्खा बन्दै गएको पकरवासका खोला खोल्सीमा पानीका स्रोत सुकेपछि स्थानीय जनजीवन कष्टकर बन्दै गएको छ । स्रोत सुकेपछि २ रुपैयाँको १ लिटर पानी किनेर खान बाध्य पकरवासका बासिन्दामध्ये धेरै पानीको अभाव धान्नका लागि बेसी झरेका छन् । खोला, खोल्सीमा पानी रसाउन छोडेपछि स्थानीयले पशुचौपाया घटाएका छन् भने, नुहाउन र लुगा धुनका लागि बेसीमा झर्ने गर्छन् ।

छिमेकी वडामा पोखरी निर्माणको अभियान चलेपछि वडा नम्बर ४ ले पनि उक्त कार्यको सिको गरेको छ । भीरपानी, माकादुम लगायतका सुक्खा क्षेत्रमा वर्षाको पानी खेर जान नदिन पोखरी निर्माण गर्ने योजना अघि सारिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो । सुक्खा क्षेत्रमा पर्ने मन्थली नगरका १४ मध्ये १२ वटा वडामा पनि जलवायु परिवर्तनको असरलाई कम गर्न सुक्खा पाखोमा वर्षाको पानी अड्याउनका लागि पोखरी निर्माण गर्ने योजना नगर योजनामा समावेश गरिएको छ ।

नगरप्रमुख रमेशकुमार बस्नेतले जथाभावी माटो काटेर वातावरणको विनाश गरेको विगतको तीतो अनुभव बिर्साउनका लागि अब पानीका स्रोत संरक्षण र वातावरणको रक्षा गर्ने योजना नगरपालिकाले अघि सारेको बताउनुभयो ।

मन्थलीको फुलासीका २ वटा वडा बाहेक अन्य सबै वडामा पानीको स्रोत प्रायः सुकेका छन् । महाभारत पर्वत भन्दा उत्तरतर्फ रहेको रामेछापको साँघुटारदेखि बेथानसम्मको भाग सुक्खा क्षेत्रमा पर्छ । उक्त क्षेत्रमा सदियौंदेखि सञ्चालन हुँदै आएका पानीका धारा कुवा सुकेका छन् ।

भएका पानीका श्रोत सुक्दै जान थालेपछि श्रोत संरक्षणको विकल्पमा जिल्लामा रिचार्ज पोखरी निर्माण गर्न थालिएको छ ।  भिरालो जग्गामा भलकारुपमा बग्ने र माटो कटान गर्ने पानीलाई पोखरीमा जमाएर हरियाली बढाउन र पानी सुसाउनका लागि रिचार्ज पोखरी निर्माण गरिएको हो । पोखरीमा जम्मा भएको पानी गाईबस्तुलाई खुवाउन र घर निर्माणकाक्रममा  समेत उपयोग गर्न सकिने जनाइएको छ । 

सम्बन्धित समाचार

Advertisement