एमाले–माओवादी कार्यदल प्रतिवेदन : यस्ता छन् पार्टी एकताका ५ सैद्धान्तिक आधार

अनलाइन दर्पण 2018-04-12
img

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको सैद्धान्तिक आधार तयार पारेका छन् । पार्टी एकताका लागि तयार राजनीतिक प्रतिवेदनमा यस्ता आधारहरू तय गरिएको छ ।

प्रतिवेदनमा राखिएको पार्टी एकताका सैद्धान्तिक आधार :

१ यथार्थलाई आत्मसाथ गर्दै निकै लामो बहस, सघन छलफल  र अन्तरक्रिया पश्चात  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले गत असोज १७ गतेका दिन पार्टी एकताको लक्ष्य निर्धारण गर्दै निर्वाचनमा वाम गठबन्धन बनाएर अगाडि बढ्ने ऐतिहासिक घोषणा गरेका थिए  ।

यस ऐतिहासिक घोषणाको सहमति पत्रमा भनिएको छ, ‘फरक फरक पृष्ठभूमिका साथ अघि बढेका हामीहरू राष्ट्रिय सावैभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवम् स्वाभिमानको रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधानको रक्षा र प्रयोगको क्रममा देश र जनताको आवश्यकता अनुसार परिमार्जन र विकास गर्दै लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरण गर्ने र समृद्ध, समुन्नत एवम् न्यायपूर्ण समाजको निर्माण गर्दै समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं । नेपाली जनताले एकताबद्ध कम्युनिष्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन् । हाम्रो पृष्ठभूमि र जनताको चाहना एवम् आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन् । तसर्थ हामी हाम्रा आफ्नै अनुभव र जनता एवम् राष्ट्रको आवश्यकतालाई हृदयङ्गम गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न सहमत भएका छाै‍‌ ।’

२ निर्वाचनमा जनतासामु प्रस्तुत साझा चुनावी घोषणामा उल्लेख गरिएको छ– ‘यो एकताको पहल नेपालका आम श्रमजीवी र देशभक्त जनताको सम्मानको परिचायक हो । यो एकता प्रयत्न २००७ सालदेखि सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो ।

यो नेपाली जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माणको प्रतिबद्धता पनि हो । यो एकता राष्ट्र पुनःनिर्माण गर्ने सङ्कल्पको द्योतक हो । यस महाअभियानमा सामेल हुन हामी विभिन्न कम्युनिष्ट समूहका अतिरिक्त सबै वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादीहरूलाई आह्वान गर्छै । विज्ञान र प्रविधिको विकास, विश्वव्यापीकरण, संसारका अधिकांश देशहरूको विकास र दु्रतगतिमा विकसित भइरहेका दुई छिमेकी मुलुकहरूको अगाडि अब नेपाललाई संसारकै अल्पविकसित, गरिब, पिछडिएको, परनिर्भर र हेपिएर बस्न बाध्य मुलुकका रूपमा कदापि राख्नुहुँदैन । राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वधीनता, स्वभिमान र अखण्डता जोखिममा रहने स्थिति सदाका लागि अन्त्य गर्नुपर्दछ । नेपालसँग समृद्धिका अथाह आधारहरू छन् । राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्ने वीर पुर्खाका सन्तान हामीहरू श्रमशक्तिका रूपमा गर्छौ । नेपालको विकासका निम्ति संसारभरिबाट करडौ  हातहरू सहयोगका निम्ति तयार छन् । मात्र यी सबै सकारात्मक पक्षहरूलाई उपायोग गर्न सक्ने राष्ट्रिय नेतृत्वको खाँचो छ । यस्तो नेतृत्व क्षमता एकताबद्ध भइरहेका यी दुई कम्युनिष्ट पार्टीहरूसँग मात्र छ । यही क्षमतालाई उजागर गर्न हामी दुई कम्युनिष्ट पार्टीहरूले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने घोषणा गरेका छौं ।’

३ हाम्रो यस घोषणालाई नेपाली जनताले अत्यन्त उत्साहका साथ स्वागत र समर्थन गरेका छन् । जनताको यो स्वागत र समर्थन निर्वाचनमा वामपन्थीहरूका पक्षमा खसेको झण्डै ५५ प्रतिशत मत र दुई तिहाइ हाराहारी बहुमतमा अभिव्यक्त भएको छ । पार्टी एकताको विषय दुई पार्टीको मात्रै सरोकारको विषय रहेन, यो नेपाली जनताबाट अनुमोदित राष्ट्रिय एजेन्डा बन्न पुगेको छ ।

४ यसै सिलसिलामा यही फागन ७ गते हामीले एकीकरणका प्रारम्भिक आधारहरू विषयमा सात बुँदे सहमति ग¥यौं । उक्त सहमतिमा एकीकृत कम्युनिष्ट पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने कुरा उल्लेख गरिएको छ । पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहने कुरामा स्पष्ट गरिएको छ । नेकपा (एमाले) ले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका आन्यता र नेकपा (माओवादी केन्द्र)का पनि शान्ति सम्झौता र त्यपछिका लोकतान्त्रिक अभ्यासद्वारा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता हासिल गर्नेलगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट पारिएको छ । प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक, आर्थिक रूपान्तरणमार्फत समाजवादका आधार निर्माण गरिने कार्यदिशासमेतको बारेमा उक्त सहमतिले स्पष्ट पारेको छ । नेकपा एमालेले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा माओवादी केन्द्रले अवलम्बन गरिआएको‘माओवाद र एक्काइसौं शताब्दीको जनवाद’सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने कुरा पनि सहमतिमा उल्लेख गरिएको छ ।

५ आगामी महाधिवेशनसम्म एकीकृत पार्टीलाई यिनै सिद्धान्त, कार्यदिशा र मान्यताहरूले मार्गदर्शन गर्नेछन् । गम्भीर वैचारिक बहसका माध्यमबाट नेपाली क्रान्तिको सिद्धान्तलाई थप विकसित र समृद्ध गर्न तथा नेपाली मौलिक विशेषतासहितको समाजावाद निर्माण गर्ने सहमतिका साथ आज दुवै पार्टी एकीकृत भएका छन् । २००६ साल वैशाखमा कमरेड पुष्पलालको नेतृत्वमा गठित कम्युनिष्ट पार्टी विभाजनको साढे पाँच दशक लामो पीडादायी कालखण्ड पार गर्दै आज पार्टी स्थापना दिवसकै दिन एकीकृत हुन ऐतिहासिक संयोग बन्न पुगेको छ ।

सम्बन्धित समाचार

Advertisement