राजपा बैठकमा राजेन्द्र महतो र महन्थ ठाकुरबीच झण्डै हात हालाहाल

अनलाइन दर्पण 2018-07-08
img

काठमाडौं,२४ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष द्धय महन्थ ठाकुर र राजेन्द्र महतोबीच बैठकमै भनाभन भएको छ । तीनदिनसम्म चलेको बैठकमा सबैले आआफ्नो धारणा राखिसकेपछि बैठकलाई निर्णायक बनाउनुपर्ने भन्दै महाधिवेशन तथा अन्य विषयमा निर्णय सार्वजनिक गर्नुपर्ने कुरालाई लिएर दुई गुटबीचमा भनाभनसमेत भएको थियो । 

बबरमहलस्थित पार्टी कार्यालयमा तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकमा ११ वटा कार्यसूचीमा सबै सदस्यले पालैपालो आफ्ना धारणा राखेका थिए ।   अन्तिम दिन शनिबार अध्यक्षमण्डलका छजना सदस्यले पनि आआफ्नो कुरा राखेका थिए । उक्त क्रममा ठाकुर र महतोबीच भनाभन भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भएका छलफलका आधारमा राजनीतिक समितिको बैठकबाट निर्णय गर्नुपर्ने अडान लिएका थिए भने अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बैठकमा उठेका विषयहरूलाई कम्पाइल गरेपछि मात्र अध्यक्षमण्डलको बैठकबाट निर्णय सुनाउनुपर्ने अडान राखेका थिए । त्यसपछि राजेन्द्र महतोले ‘बैठक राजनीतिक समितिको बसाउने अनि निर्णय अरू बाटोबाट गर्ने यस्तो कहाँ हुन्छ, भन्दै कड्कीएका थिए ।

राजनीतिक समितिको बैठक सकिएको छ, निर्णय सुन्नलाई जजसलाई बस्नुछ बसौँ, जजसलाई जानुछ जाऔँ, म कसैलाई बाँधेर राख्न सक्दिनँ । सबै विचारलाई ‘कम्पाइल’ गरेपछि मात्र निर्णय सुनाउँछु’, महन्थ ठाकुरले भनेका थिए । त्यसपछि महतोले कड्किएर भने, ‘अध्यक्षमण्डलबाट नै निर्णय गराउनु थियो भने राजनीतिक समितिको बैठक किन बोलाउनुभयो त ? तपाईंको अध्यक्षतामा बैठक बसेको छ, यसको जवाफ तपार्इंले नै दिनुपर्छ ।’ एक नेताका अनुसार महतोले कड्किएर बोलेपछि संयोजक ठाकुरले टेबलमा मुक्का बजार्दै भने, त्यसो भए तपाईंले नै गर्नुस् न निर्णय । तपार्इंबाट हुन्छ भने तपार्इं नै गर्नुस् ।’ पार्टीको संयोजक तपार्इं हुनुहुन्छ, तपाईंको अध्यक्षतामा बैठक बसेको हो । निर्णय सुनाउने अधिकार तपार्इंसँग छ भने मैले कसरी सुनाउने’ महतोले भनेका थिए ।

बैठकको अन्त्यमा यसरी महतो र ठाकुरबीच भनाभन चलेपछि कुनै निर्णय हुन सकेन । राजपा नेपालले महाधिवेशनका लागि लामो समय लिए पनि तोकिएको समयमा हुन्छ कि हुँदैन भनी अन्योल देखिएको छ । 

सम्बन्धित समाचार

Advertisement