स्टेफन हकिङको जबाफ दिदैछौं

अनलाइन दर्पण 2017-03-05
img

२१ औं शताव्दीका महान् भौतिकशास्त्री स्टेफन हकिङले आफ्नो चर्चित पुस्तक ‘द ग्राइन्ड डिजाइन’को सुरुमै यस्तो लेखेका छन्– ‘दर्शन (दर्शनशास्त्र) मरिसकेको छ । दर्शनले आधुनिक विज्ञानका आधुनिक विकासहरुसँग कदम मिलाएको छैन । विशेषगरी भौतिक विज्ञानका विकाससँग ।’

सन् १९४२ मा बेलायतको लन्डनमा जन्मेका स्टेफन हकिङले सन् २०१० मा पुगेर ‘द ग्राइन्ड डिजाइन’मार्फत् आजका आधुनिक दार्शनिक र राजनीतिज्ञहरुलाई जर्वजस्त ठूलो चुनौती थोपरेका छन् । वैज्ञानिक हकिङले दिएको चुनौती कम चानचुने छैन । जुन प्रश्नले आजका दार्शनिक र राजनीतिज्ञहरुलाई झस्काइरहने खालको छ ।

यो सत्य होकि २० औं शताव्दीको अन्त्यसँगै आजको विश्वमा १९ औं र २० औं शताव्दीमा जन्मेका दार्शनिक र राजनीतिज्ञहरुको जस्तै जन्म र विकास हुन सकेन । चाहे त्यो पुँजीवादी खेमामा होस् या कम्युनिस्ट खेमामा । बीसौं शताव्दीको अन्त्यतिर अर्थात् ९० को दशकमा सोभियत युनियनको विघटनपछि फ्रान्सिस फुकुयामाले सन् १९९२ मा ‘इतिहासको अन्त्य र अन्तिम मानिस’ मार्फत् कम्युनिस्ट कार्यकर्ता र शुभ चिन्तकहरुमाथि निकै ठूलो वैचारिक हमला गरेका थिए ।

फुकुयामाको वैचारिक हमलापछि विश्व कम्युनिस्ट आन्दोलनमा नेपालजस्तो निकै पिछडिएको देशबाट क्रान्तिकारी माओवादीहरुले पुँजीवादी र साम्राज्यवादी थिङट्याङलाई जोशिलो झापड हान्नेगरी महान् जनयुद्धको उद्घोष गरे । मुलतः नेपालबाट ०५२ सालमा सुरु भएको जनयुद्ध फुकुयामाको वैचारिक प्रतिरोध त थियो नै त्यसले विश्व कम्युनिस्ट आन्दोलनमा एउटा ठूलो क्रान्तिकारी आशावादको लहर फैलाउन पुग्यो ।
७० र ८० को दशक या अन्त्यतिर वर्मा, मलाया, थाइल्याण्ड, कोलम्बिया, फिलिपिन्स, भारत र पेरुमा चलेका माओवादी आन्दोलनहरुले शुरुमा गति लिए पनि पछि क्रमशः धक्का खाइरहेको बेला नेपालबाट माओवादी क्रान्तिकारीहरुले ९० को दशकको अन्त्यतिर महान् जनयुद्धको शंखघोष गरे । त्यसले १० वर्षको बीचमा देशैभरि निकै ठूलो आयतन लियो ।

जब नेपालको माओवादी आन्दोलनले १० वर्षमा लिएको परिवर्तनसँगै विश्व र नेपालको अर्थ–राजनीति र सूचना–प्रविधि अनि सामाजिक मनोविज्ञानमा पनि ठूलै परिवर्तन आइरहेको थियो । खासगरी साम्राज्यवादी सूचना भुमण्डलीकरणले ल्याएको परिवर्तनले नेपालको राजनीतिक र आर्थिक क्षेत्रमा पनि उत्तिकै परिवर्तन ल्याइरहेको थियो । यसरी नेपालको अर्थ–राजनीतिमा आइरहेको परिवर्तनले मानिसको सोच र चेतनामा पनि ठूलो बदलाव लिइरहेको थियो ।

हो, त्यही पछिल्लो अर्थ–राजनीतिमा आएको परिवर्तनलाई आत्मसात् गरेर माओवादी आन्दोलनले पनि आफुलाई वैचारिक क्षेत्रमा अपडेट गर्नै पर्दथ्यो । खासगरी माओद्धारा प्रतिपादित दीर्घकालीन जनयुद्ध (सन् १९३८) को विचारलाई माओवादीहरुले विकास गरेर जानै पर्दथ्यो । नेपालको पछिल्लो बदलिदो परिवेश भन्नाले गाउँहरु शहरतिर उन्मुख भइरहेको अवस्था । अनि त्यही उन्मुख अवस्थासँगै युवाहरु पनि शहरतिर प्रवेश गर्दै गरेको स्थिति । अझ पछिल्लो युवाहरुको सोच विदेश हान्निने संस्कृति विस्तार भइरहेको बेला त्यो विकसित र बदलिएको परिस्थितिमा माओवादीहरुले आफ्नो रणनीति र कार्यनीतिमा क्रमभंग या विकास गर्दै पथ्र्यो ।

त्यही बदलिदो परिवेशसँगै माओवादी आन्दोलनले ०६२ को चुनबाङ बैठकबाट धेरै हदसम्म वैचारिक क्रमभंग गर्न खोजेकै हो । चुनबाङले गरेका निर्णयहरु माओवादी आन्दोलनको इतिहासमा एउटा वैचारिक क्रमभंगताको कोसे ढुंगा हो । त्यही क्रमभंगतासँगै माओवादीहरु गाउँबाट शहर प्रवेश गरे । तर त्यसपछि माओवादीको मुख्य नेतृत्वले वैचारिक विचलनको बाटो समायो । वैचारिक क्षेत्रमा आएको संकटलाई हल गर्नु पर्ने आवश्यकता खड्किरहेको बेला तत्कालीन नेतृत्व प्रचण्डले त्यो आवश्यकता पूरा गर्नतिर लागेनन् । त्यही विन्दुबाट नेपालको माओवादी आन्दोलन विचलनको बाटोहुँदै विघटनतिर जान थाल्यो ।

प्रचण्डमा आएको वैचारिक विचलन र माओवादी आन्दोलनमा निम्तिन खोजेको विघटनलाई रोक्न क्रान्तिकारी विचारसँगै क्रान्तिकारी नेतृत्वको अभाव पैदा भयो । त्यो अभावलाई पूरा गर्न क्रान्तिकारी विचारका साथै गतिशील नेतृत्व पनि चाहिएको थियो । ०६९ को बौद्ध भेलाबाट तत्कालीन क्रान्तिकारी विचार समुहको नेतृत्व मोहन वैद्य किरणले गर्न खोजेपनि उनले लामो दुरी तय गर्न सकेनन् ।

मोहन वैद्य किरणले प्रचण्डमा आएको वैचारिक विचलनलाई चिन्न सकेपनि क्रान्तिकारी विचारको रक्षासँगै विकास गर्नेतिर भने सकेनन् । १२० वर्ष अघिको तत्कालीन रुसी विचार र ८० वर्षअघिको चीनको विचारलाई विकास गर्नेतिर वैद्यले कुनै पहल र भूमिका खेलेनन् । यस्तो बेला दश वर्षे माओवादी जनयुद्धमा प्रत्यक्ष युद्धको नेतृत्व गरेर आन्दोलनमा ठूलो सफलता हात पार्न अग्रणी भूमिका खेल्ने क्रान्तिकारी युवा नेता नेत्र विक्रम चन्द विप्लवको उपस्थिति पैदा भयो ।

०७१ मा वैद्यसँग अलग भएसँगै क्रान्तिकारी युवा नेता कमरेड विप्लवको नेतृत्वमा माओवादी आन्दोलनले वैचारिक क्रमभंग गर्न पुग्यो । त्यो वैचारिक क्रमभंग या वैचारिक संश्लेषण एकीकृत जनक्रान्ति थियो । २१ औं शताव्दीको प्रारम्भमा खासगरी सन् २०१० मा आधुनिक भौतिक विज्ञानका प्रणेता हकिङले ‘दर्शन र दार्शनिकको मृत्यु’ भएको भनेर दिएको चुनौतीलाई नेपालबाट महासचिव कमरेड विप्लवको नेतृत्वमा माओवादीहरुले वैचारिक संश्लेषणमार्फत् धेरै हदसम्म जबाफ दिने प्रयत्न गरेका छन् । त्यो वैचारिक संश्लेषण एकीकृत जनक्रान्ति हो ।

कस्तो तादम्यता ! स्टेफन हकिङले सन् २०१० मा ‘दर्शन र दार्शनिकहरुको मृत्यु भएको र खोई दार्शनिकहरु’ भन्दै प्रश्नको सुई तेर्साइरहेको बेला विश्वको सम्पन्न देश भनेर चिनिने अमेरिका र संसारको निकै पिछडिएको देश मानिने नेपालबाट एकचोटी वैचारिक क्रमभंगता या वैचारिक संश्लेषण हुन पुगेको छ । खासगरी अमेरिकामा रेभुलसनरी कम्युनिस्ट पार्टी (आरसीपी) अमेरिकाका अध्यक्ष बब अभायकिनले सन् २०१५ मा न्यु सेन्थेसिसको संश्लेषण गर्नु र सन् २०१५ कै अन्त्यतिर नेपालबाट कमरेड विप्लवद्धारा प्रक्षेपण गरिएको वैचारिक संश्लेषण एकीकृत जनक्रान्तिले धेरै हदसम्म हकिङको जबाफ दिने काम भएको छ ।

माक्र्सको पेरिस कम्युन (सन् १८७१) देखि माओको सर्वहारा सांस्कृतिक क्रान्ति (सन् १९६६) पछि विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ वैचारिक क्रमभंगता या वैचारिक संश्लेषणको अभाव खड्किरहेको थियो । त्यो अभावलाई धेरै हदसम्म परिपूर्ति गर्ने काम आरसीपी अमेरिका र नेपालबाट विप्लव कमरेडको नेतृत्वमा माओवादी पार्टीले गरेको छ ।

खासगरी नेपालबाट हाम्रो पार्टीका महासचिव कमरेड विप्लवद्धारा एकीकृत जनक्रान्तिको नयाँ विचार संश्लेषण गरेर हामीले स्टेफन हकिङले तेर्साएको प्रश्नको धेरै हदसम्म जबाफ दिने काम गरेका छौं ।

सम्बन्धित समाचार

Advertisement