भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल भक्तपुरले नेपाल सरकारलाई भ्रष्टाचारविरूद्ध सचेत गराउँदै ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसले देशैभर भ्रष्टाचारविरूद्ध कार्यक्रम गर्न तरुण दललाई निर्देशन दिएपछि आइतबार भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । तरुण दलले वाइड बडी, बूढीगण्डकी लगायतमा भ्रष्टाचारका काण्डै काण्ड भएको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ ।
नेपाल तरुण दल भक्तपुरका सभापति राजु थापाले पार्टीले घोषणा गरेको राष्ट्रिय जनजागरण अभियान सफल बनाउन र भ्रष्टाचारविरूद्ध कार्यक्रम गर्न देशैभरका तरुणलाई आग्रह गरिए बमोजिम यो कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो । तरुण दलले सरकारको विरोध स्वरुप ज्ञापन पत्र बुझाएको हैन ,यो त नेपालमा ब्याप्त भ्रष्टाचार बेथितीको अन्त्यका लागि सरकालाई ध्यानाकर्षण स्वरुप बुझाएको अध्यक्ष थापाले बताए ।
कार्यक्रममा जिल्लाका विभिन्न नेता कार्यकताहरुको सहभागिता रहेको थियो । पछिल्लो समयमा मुलुकमा बढ्दै गएको हत्या हिंसा,बलात्कार,राज्य आतंक र सामाजिक असुरक्षा जस्ता घटनाहरु दिनानुदिन बददै गएको दलको ठहर छ ।
भक्तपुरको दुधपाटी देखि जिल्ला प्रशासन कार्यालय भक्तपुर सम्म विरोध र्याली गर्दै तरुण दल भक्तपुरले प्रजिअ नारायण प्रसाद भट्ट मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको हो ।
जनता को जिबन स्तर उकास्न प्रयोग गर्नु पर्ने राज्यको कोशबाट राष्ट्रपतिलाई १८ करोडको विलाशी गाडी खरिद गर्ने निर्णय,डेड अरबको हेलिकोप्टर खरिद तथा आलंकारिक रास्ट्रपतिको विदेश भ्रमण नाममा राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग जस्ता गतिविधिहरुले देशले सम्बृद्धि प्राप्त गर्न नसक्ने ठहर नेपाल तरुण दलले गरेको सरकारलाई बुझाईको ज्ञापनपत्रमा उल्लेख छ ।