भक्तपुर, ८ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधान संशोधन नगरी निर्वाचन गरे देश रक्तपातमा डुब्ने चेतावनी दिएका छन् ।
रफत सञ्चार क्लबलद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महतोले माओवादी, काँग्रेस र एमालेको बेइमानीका कारण संबिधान संशोधन हुन नसकेको भन्दै संशोधन बिना स्थानिय तहको निर्वाचन गर्ने कसैको आँट नभएको र निर्वाचन भए देश रक्तपातमा डुब्ने बताएका हुन् ।
उनले भने - मधेशमा दुई प्रदेश दिने सहमति भएता पनि त्यसको कार्यान्वयनमा ठूला दलहरुले राजनीतिक बेइमानीको चरित्र पेश गरेको आरोप लगाउँदै सिंमाकन नै मधेशी मोर्चाको पहिलो एजेन्डा भएकाले यसलाई थाँति राखेर निर्वाचन जाने भन्नु मधेश र मधेशीलाई धोका दिनु बाहेक अरु हुन सक्दैन ।
उनले मधेशलाई प्रमुख दलहरुले सामान्य रुपमा लिने गरेता पनि मधेश बिनाको देश एक मिनेट पनि चल्न नसक्ने भन्दै मधेशलाई बाईपास गरेर निर्वाचन गर्न खोजे देशकै लागि दुर्भाग्य सावित हुने बताए ।
मधेशी दललाई भारत परस्त देख्ने नेपालका ठुला राजनीतिक दलहरुलका नेता नै दिल्लीबाट सञ्चालित भएको आरोप लगाउँदै अदृश्य रुपमा मधेशी दलहरु भन्दा भारतसँग आफू नजिक हुन बिभिन्न कसरत गर्र्ने गरेको बताए ।
आफूहरुले बिगतमा पटकपटक सरकारमा बसेता पनि सिंहदरवारको चार किल्लाले मधेशलाई अधिकार दिन नचाहेकै कारण केही गर्न नसकेको भन्दै आन्दोलनको बाटो रोजेको र अब पनि अधिकार प्राप्त नभएसम्म जनतालाई दुःख नहुने गरि सरकारलाई दबाब दिने गरि आन्दोलनको खाका तयार भईरहेको उनले बताए ।