नेपाली कांग्रेसकाे जागरण अभियान आजबाट, कहाँ कसले सम्बोधन गर्दै?

अनलाइन दर्पण 2019-09-10
img

काठमाडौं, २४ भदाै ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको १०६ औँ जन्म जयन्तीको अवसर पारेर आयोजना गर्न लागेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदैछ। नेपाली कांग्रेसले आज (बुधबार)बाट देशै भर ७७ वटै जिल्लामा एकै साथ एकै समय पारेर पार्टीको जनजागरण अभियान सुरु गर्दै छ । 

जागरण अभियानको पहिलो दिन आज १०६ वटा विरुवा रोपेर अभियानको सुरुवात गरिने  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। जागरण अभियानका लागि कांग्रेसले सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ। आजदेखि सुरुहुने जागरण अभियानमा पार्टीका शीर्ष नेताहरुले  सम्बोधन गर्ने कार्यक्रम छ।

सभापति शेरबहादुर देउवाले सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने बरिष्ठ नेता रामचन्द्र पौडेलले कास्कीमा आयोजित सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

त्यस्तै उपसभापति विमलेन्द्र निधिले धनुषामा सम्बोधन गर्नेछन् भने अर्का उपसभापति विजयकुमार गच्छदार पनि सुनसरीमा आयोजित सभालाई सम्बोधन गर्न जनाइएको छ। महामन्त्री डा. शशांक कोइरालाले मकवानपुर, अर्का महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा. प्रकाशशरण महतले काठमाडौंमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुईवर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेशलगायत कार्यक्रम हुनेछन्।

अभियान क्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, सहिद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र देश एवं कांग्रेसका लागि सल्लाह सुझावहरु लिने प्रवक्ता शर्माले बताए।

पन्ध्र दिने अभियानको अन्तिम दिन आगामी असोज ७ गते विभिन्न पाँच मुद्दामा केन्द्रित रहेर ७७ जिल्लामा एकसाथ जनप्रदर्शन गरिनेछ। कांग्रेसले स्वदेश र विदेशमा सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन आह्वान गरेको छ।

कुन केन्द्रीय प्रतिनिधि कहाँ खटिँदैछन् ?

Related Post

Advertisement