काठमाडौ, ८ वैशाख। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध सात दलमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी बाहेकका पाँच दलले बिहिबार पार्टी एकीकरण गरे र नाम जुराए "राष्ट्रिय जनता पार्टी"। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच बैशाख ८ गते एकीकरण हुने सूचना पाएका एकीकरण गर्न तयारी गरिरहेका मोर्चाका नेताहरुले यसअघी अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसंग एकता गरिसकेका उपेन्द्र यादवलाई उछिन्न हतार हतारमा विना तयारी नै बैशाख ७ मा मधेशी पार्टीबीच एकताको घोषणा गरे । तर उनीहरुको सूचनाअनुसार उपेन्द्र र बाबुरामको एकता बैशाख ८ मा भएन ।
मधेसमा केन्द्रित यी दलले एकीकरण पश्चात आफ्नो नामबाट मधेश शब्द हटाउदै जुराएको "राष्ट्रिय जनता पार्टी" भने निर्वाचन आयोगमा पहिले नै दर्ता भईसकेको थाहा हुन आएसँगै मधेसी पार्टी एकीकरण भएको एक दिन बित्न नपाउदै नामका कारण बिबादित बनेको हो । नेत्रबहादुर लिम्बूले "राष्ट्रिय जनता पार्टी" नामको पार्टी दर्ता गर्न महिना दिन अगाडि नै निर्वाचन आयोगमा निवेदन दिइसकेको आयोगले जनाएको छ ।
यति लामो अथक मेहनत पछाडि जुराइएको नाममा अरुले नै निवेदन दिएसँगै एक भएका पाँच मधेसी पार्टीलाई नामले सास्ती दिएको हो । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार,दल दर्ताका लागि पहिले कुनै दलले निवेदन दिएको रहेछ भने त्यही नाममा अर्को पार्टी दर्ता गर्न नसक्ने तर्क पेश गरे ।
सो नामको पार्टीलाई गत चैत्र दुई गते नै निर्वाचन आयोगले मान्यता दिएको भेटिएपछि एकीकृत भएका ६ मधेसी दललाई पहिलो गाँसमै ढुंगा भनेझै भएको छ ।
महन्थ ठाकुर अध्यक्ष बनाई राजेन्द्र महत्तो, शरत्सिंह भण्डारी,महेन्द्र राय यादव,राजकिशोर यादव समेतको पार्टी एक आपसमा मिलेर पार्टीबाट मधेस नाम हटाई राष्ट्रिय जनता पार्टी बनाइएको थियो । पार्टी एकीकरण गर्दा सामूहिक नेतृत्वको सिद्धान्तलाई आत्मसात गर्ने र अध्यक्ष मण्डलीय प्रणालीअनुसार सञ्चालन गर्ने जनाइएको सो पार्टीका एक भएसँगै नामले मात्र होइन झण्डाकै कारण बबाल स्थिती श्रृजना भएको छ । राजपा पार्टीको झण्डा ठ्याक्कै भारतको झण्डा संग मेल खाएपछि उनीहरुको चर्काे आलोचना सुरु भएको छ ।
नवगठित राष्ट्रिय जनता पार्टीमा तपलोपाका ११, राष्ट्रिय समाजवादी पार्टीका तीन, नेपाल सद्भावना पार्टीका एक, सद्भावना पार्टीका ६, तपसपाका तीन तथा फोरम गणतान्त्रिकका एकजना गरी २५ सांसद छन् ।