काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्। प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसद मध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्।
विश्वासको मतका लागि १३६ चाहिने भए पनि ओलीले त्यो प्राप्त गर्न सकेनन्। विश्वासको मत प्राप्त नभसँगै ओली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन्।
ओलीको विपक्षमा १२४ मत खसेको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरे।
संसदमा माधव नेपाल पक्षले बहिस्कार गरेको छ। नेपाल पक्षका २८ जना सांसदहरुले सामूहकि रुपमा ह्वीप उल्लंघन गर्दै अनुस्थित भएका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा मत दिएका छन्। जसपाको महन्थ ठाकुर पक्ष भने तटस्थ बसेको छ। तटस्थमा १५ जना सांसदले मतदान गरेका छन्।
एमालेको नेपाल पक्ष अनुपस्थित र जसपाका सांसदहरुले दुई लाइनमा मत दिएपछि दुवै दल पनि औपचारिक विभाजनको प्रक्रियामा प्रवेश गरेका छन्।
यही वैशाख १९ गते प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि सोमबार (आज) प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। ओलीले २०७४ साल फागुन २७ गते गठबन्धन सरकारका रुपमा विश्वासको मत प्राप्त गरेका थिए।
ओलीले विश्वासको मत नपाएसँगै अब नयाँ सरकार गठनको ढोका खुलेको छ।