भरतपुर–१९ मा आज मतदान : उम्मेदवार एमाले र माओवादीको, भर कांग्रेसी  मतदाताको

अनलाइन दर्पण 2017-08-04
img

काठमाडौं, २० साउन, । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचन हुँदै छ । गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणअन्तर्गत भएको स्थानीय निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको चितवनको भरतपुर महानगरपालिका–१९ नम्बर वडामा  निर्वाचन आयोगले गरेको पुनः मतदान गर्ने निर्णय लाई  सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि निर्वाचन हुन लागेको हो ।

मेयरका लागि माओवादी केन्द्र–कांग्रेस गठबन्धनका तर्फबाट प्रचंड पुत्री रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मैदानमा छन् । महानगरका जम्मा २९ मध्ये २७ वडाको परिणाम आइसकेको छ । वडा नम्बर १९ मा शुक्रबार मतदान भएपछि वडा नम्बर २० को मत पनि एकैचोटि मतगणना हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

६ वटा मतदान केन्द्र

भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगन्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर मावि बखानपुरमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मतदानस्थलको सय मिटरवरपर निषेधित क्षेत्र घोषणा गरिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

तीन पार्टीका केन्द्रीय नेता चितवनमा

निर्वाचन आफ्नो पक्षमा पार्न प्रमुख दलका केन्द्रीय नेताहरू चितवन केन्द्रित भएका छन् । कांग्रेस केन्द्रीय नेताहरू डा. प्रकाशशरण महत, बालकृष्ण खाण चितवनमै छन् । सर्वोच्चको आदेश आएको भोलिपल्टै नेता अर्जुननरसिंह केसी चितवन आएर फर्किए । चितवनकै सांसद रामकृष्ण घिमिरे पनि जिल्लामा खटिएका छन् ।

त्यस्तै, एमाले उपाध्यक्ष भीम रावल र नेता सुरेन्द्र पाण्डे निर्वाचनका लागि चितवनमा खटिएका छन् । रावल बिहीबार बिहान मात्र चितवन आइपुगेका हुन् । दुई नेताका साथै चितवनकै काशीनाथ अधिकारीलगायतका नेताहरू निर्वाचनमा खटिएका छन् । माओवादी केन्द्रका नेता अमिक शेरचन, चित्रबहादुर श्रेष्ठ र नारायण दाहालको टोली पनि चितवनमै खटिएको छ ।

 

सम्बन्धित समाचार

Advertisement