सुरेश प्रसाद निरौला
२०५० साल जेठ ३ गते समकालिन राजनीतिका नबिन विचारक, जवजका सिध्दान्तकार जननेता कमरेड मदन कुमार भण्डारी र उहांका सहयोध्दा कमरेड जीवराज आश्रितको हत्या भएको यो २८ औं पुण्य तिथिमा उहाँहरु प्रति भाबपूर्ण श्रद्धा-सुमन अर्पण गर्दै केहि स्मरणहरु गर्न चाहन्छु ।
आज म यस घडीमा अलिक भावुक र दुखित मुद्रामा छु किनकी यी बितेका २८ औं बर्षको अवधिमा उहांहरुका नाममा आ-आफ्ना स्वार्थसिद्ध गर्न खोलिएका संस्थाहरुले गर्ने सामान्य गतिविधि बाहेक हत्यारा खोजि गर्ने कार्य गर्न सकिएको छैन् । तापनि केहि केहि कामहरु संस्था वा केहि कमरेडहरुले गर्नु भएकै छ । उहाँहरुलाई मेरो "साधुवाद " छ ।
तर हाम्रो पार्टीका नेतृत्व,नेता,कार्यकर्ताहरुले भने आजका मितिसम्म आफुले गर्नु त परै जाओस उहाँहरुले गरेको योगदान, इतिहास, विचार, नीति र जबजका कार्यक्रमहरुलाई नै भजाएर खानु बाहेक अरु केहि काम भए जस्तो मलाई लाग्दैन । हाम्रो पार्टी एमाले धेरै पटक सत्ता र सरकारमा पुग्यो, कहिले अल्पमतमा त् कहिले मिलिजुली सरकारमा I त्यस समयमा भने बरु कहिलेकाही उहाहरुको नामसम्म लिने काम हुदै थियो तर जब झन्डै झन्डै दुई तिहाईको कम्युनिष्ट पार्टीको सरकार बन्यो, अझ राष्टपति देखि प्रधानमन्त्री, मन्त्री वा सिंगो सरकार नै कम्युनिष्टमय भयो तर त्यो सरकारले पनि उहाँहरुको हत्याकाण्डको खोजीनिती र कारबाही गर्नुपर्नेमा त्यस्को नाम निशाना लिईएको पनि पाइदैन , कि मैले सुनिन ? कि मलाई थाहा भएन ? कि के हो हँ ...............?
तर जे होस् मुखले देखाउने हात्तीका दात झैँ एमालेले जबज, मदन-आश्रित भन्दै साखुल्ले पल्टीएर गीत गाउनु भन्दा उहाँहरुले देखाएको बाटो, जवजका नीति-कार्यक्रमका साथै बिभिन्न समुहमा छरीएर रहेका बाम पार्टीहरुलाई एकिकृत गरि एउटै बृहद बाम पार्टी निर्माण गर्ने उहाँहरुको सोचलाई हामिहरु सबैले मिलि पुरा गर्न पट्टी लाग्यौ भने मात्र पनि हामी उहाँहरुको सच्चा नेता, कार्यकर्ताको रुपमा साबित हुने थियौं कि जस्तो मलाई लाग्छ ।
तर यहाँ त् बल्ल बल्ल उहाँहरुले नै बनाएको नेकपा एमालेलाई नै तहस नहस गरि सिद्ध्याउन र कु चरित्र देखाउन पो यो प्रतिस्पर्धा भएको जस्तो देखिन्छ I त्यसकारण त्यो अपबित्र ब्यबहार देखाउनु, पार्टी भित्रै भाड भैलो मचाउनु, अनि आ-आफु भित्र रहेका रिस-राग, दम्भ, कुण्ठा, अहंकार र तुष देखाउदै आफुहरु अगाडी बढ्ने कोसिश गर्न खोज्नु भनेको चाही "बिनाश्चकाले बिपरेत बुद्धि भने जस्तै हो " ।
त्यसकारण यस्ता गलत कार्यहरु हामी कसैले पनि नगरौ, नकारात्मक सोचका आधारमा अगाडी बढ्ने कोसिश पनि नगरौ, सकारात्मक सोचका साथ आजको यो पुन्यतिथिमा उहाँहरुलाई साक्षी राखी हामी सबैले एक प्रण गरौ कि अब हामी पार्टीलाई कुनै पनि आच आउँन दिने छैनौं र यसको रक्षा पनि गर्नेछौं साथै हाल पार्टी भित्र देखिएको समस्या समाधान गर्नका लागि बनेको कार्यदलले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्न सक्ने खालको सहमति गर्न सबै नेता कार्यकर्ता र कार्यदलमा रहनु हुने कमरेडहरुलाई सफलता प्राप्त गर्न सक्ने शक्ति प्राप्त होस भन्दै यदी यो प्रणलाई हामी सबैले ब्यबहारमै देखिने गरि आत्मसाथ गर्न सक्यौ भने मात्र पनि हामीहरुले उहाँहरु प्रति सच्चा भावपूर्ण श्रदान्जली अर्पण गरेको ठहरिनेछ नत्र भने एउटा उखान छ नि "मुखमे राम राम बगली मे छुरा " भने जस्तै यो पनि त्यहि साबित नहोला भन्न सकिन्न ।
तसर्थ सबै नकारात्मक भावनावाट मुक्त हुदै अब सकारात्मक सोचका साथ हामी एक भएर अगाडी बढ्ने सहासले मात्र आजको यस दिनमा जननेता कमरेड मदन कुमार भण्डारी र कुशल संगठक कमरेड जीवराज आश्रित प्रति सच्चा श्रध्दान्जली अर्पण गरेको ठहरिनेछ छ। उहांहरुको २८ औं स्मृति दिवसका अवसरमा मदन आश्रित स्मृति प्रतिष्ठान, प्राविधिक शिक्षालय र मेरो तर्फबाट भावपूर्ण श्रद्धा-सुमनका साथ पुन: श्रदान्जली अर्पण गर्दछु ।