पैसा कमाउने उद्देश्यले डाक्टर पढेकाहरूको असली चरित्र अहिले थाहा भयो

अनलाइन दर्पण 2021-06-11
img

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पैसा कमाउने उद्देश्यले डाक्टर पढेकाहरूको असली चरित्र अहिले थाहा भएको बताएका छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीहरूबीच शुक्रबार अनलाइनबाट मार्गनिर्देशन दिँदै उनले स्वास्थ्यकर्मीहरुलाई आफ्नो पेशागत दायित्व निर्वाह गर्न आग्रह गरे।

पैसामुखी स्वास्थ्यकर्मीहरुको कारण स्वास्थ्य क्षेत्र बद्नाम भएको र त्यसले जनताको स्वास्थ्य अधिकासमेत कुण्ठित भइरहेको प्रसंग उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले कोभिड १९ महामारीलाई पनि एकप्रकारको युद्धको संज्ञा दिए।

युद्धको बेला आफ्नो कर्तव्य निर्वाह नगर्ने इमानदार सिपाहीँ हुन नसक्ने उदाहरण दिँदै अहिलेको महामारीमा स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने भएकाले सो भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो।

अध्यक्ष बिजुक्छेँले स्वास्थ्य सेवामा रहेका डाक्टर, नर्स र कर्मचारीको व्यवहार राम्रो नभए जनताको गुनासो आउनु स्वाभाविक भएको उल्लेख गर्दै आफूमा भएको कमी कमजोरीलाई समयमै सुधार्नु जरुरी रहेको बताए।

उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय भएको समेत बताए। ‘नगरपालिकाको आह्वानकै भरमा करोडौंको रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको भन्ने हो।’

सम्बन्धित समाचार

Advertisement