काठमाडौं, १६ भदौ । भोटेकोशी तथा त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीले तीन जिल्लामा ६ हजारभन्दा बढी निजी घर बगाएको प्रारम्भिक अनुमान सरकारले गरेको छ। बाढीबाट निजी आवासतर्फ मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
शहरी विकास तथा भवन निर्माण विभागले गरेको प्रारम्भिक अध्ययनका आधारमा उक्त क्षतिको अनुमान गरिएको हो। पूर्वाधार विकास मन्त्रालय मातहतका विभागहरूले पत्रकारसँग गरेको छलफलका क्रममा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन्।
विभागका अनुसार बाढीले निजी घरसँगै सरकारी तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। हालसम्म ४५ वटा सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
यद्यपि, क्षतिको विस्तृत अध्ययन तथा विवरण संकलनको काम अझै जारी रहेकाले घर तथा संरचनाको संख्या र क्षतिको रकममा थपघट हुन सक्ने विभागले जनाएको छ।
बाढीका कारण घरबारविहीन भएका परिवारका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्ने देखिएको छ। विभागका अनुसार ६ हजारभन्दा बढी प्रभावित घरपरिवारका लागि त्यति नै संख्यामा अस्थायी आवास निर्माण गर्नुपर्ने अवस्था छ।
प्रारम्भिक अनुमानअनुसार ती अस्थायी आवास निर्माणका लागि मात्रै कम्तीमा ९० करोड रुपैयाँ तत्काल आवश्यक पर्ने देखिएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा आवास तथा सार्वजनिक संरचनाको क्षतिको विस्तृत मूल्यांकन भइरहेको विभागले जनाएको छ। अध्ययन पूरा भएपछि वास्तविक क्षतिको यकिन विवरण सार्वजनिक गरिने बताइएको छ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको उक्त बाढीले सडक, पुल, सरकारी तथा सार्वजनिक संरचनाका साथै निजी आवासमा समेत व्यापक क्षति पुर्याएको छ। सरकारले अहिले तत्काल राहत, अस्थायी आवास तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेर क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।