सिन्धुापाल्चोकको मेलम्ची आसपासका विभिन्न पन्ध्र विद्यालयका लागि कम्प्युटर लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
शिक्षा र बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था टीम नेपालले उक्त सामग्री तालामाराङमा एक कार्यक्रमका बीच जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे मार्फत हस्तान्तरण गरेको हो ।
सामग्री पाउने विद्यालयहरुमा महाँकाल, किउल, पाल्चोक, दुवाचौर, थकनी गाविसका साथै मेलम्ची नगरपालिका वडा नम्बर १ र २ का विद्यालयहरु रहेका छन् । जिल्लाको तालामाराङमा असहाय बालबालिकाहरुका निम्ति बालगृह समेत सञ्चालन गरिरहेको संस्थाले सबै विद्यालयमा गरी ३७ सेट कम्प्युटर र तीनवटा प्रिन्टर वितरण गरेको हो ।
जिल्ला शिक्षा अधिकारी घिमिरेले विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न यस्तो सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षकहरुको सहयोगको भरपूर सदुपयोग गर्दे समयसापेक्ष शैक्षिक सुधारमा केन्दित हुनुपर्ने बताउनुभयो ।
शैक्षिक गुणस्तरमा सघाउन आफ्नो संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएको टिम नेपालका अध्यक्ष निलबहादुर शाहीले बताउनुभयो ।