काठमाडौं ,२० पुस । बिगत ८ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ । त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)को बुधवारको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो ।
अन्तिम पटक २०६५ सालमा भएको स्ववियु निर्वाचन त्यसयता बिभिन्न विवाद र असहमतिका कारण हुन सकेको छैन । त्रिवि नियमअनुसार प्रत्येक २ वर्षमा स्ववियु निर्वाचन हुनुपर्छ ।
सिनेट बैठकले स्ववियु निर्वाचनमा उम्मेदवार हुने उमेर हद २८ वर्ष कायम गरेर फागुन १४ को मितिमा सहमति जनाएको त्रिवि सभा सदस्य एवम् अनेरास्ववियुकी अध्यक्ष नविना लामाले बताइन् ।
यसअघि उमेर विवाद लगायत अन्य विषय सहजीकरण गर्न मंसिरको सिनेट बैठकले शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलमा अखिल, नेविसंघ र अखिल क्रान्तिकारीका अध्यक्ष पनि थिए ।
यसअघि नेविसंघले उमेर हद लागू गर्न नहुने अडान लिएको थियो ।
यसैबीच स्ववियु निर्वाचन अब मिश्रित प्रणालीबाट हुने भएको छ । यसअघि सभापति सहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था थियो । मतदाताले उम्मेदवारको नाममा मत दिने प्रणाली थियो ।
अब भने प्रत्यक्ष र समानुपातिक दुवै हुनेछ । सभापति, सचिव र कोषाध्यक्ष सहित बहुमत सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् ।
उपसभापति र सहसचिव सहित अन्य सदस्य भने विद्यार्थी संगठनले प्राप्त गरेको मतका आधारमा बाँडिनेछ ।