खुल्ला आकाशमुनि पढाई

अनलाइन दर्पण 2018-05-02
img

रामपुर, पाल्पा : शिक्षा ऐन नियमावलीलाई मिचेर मनपरि विद्यालय स्थानान्तरण गरेर खुला आकाशमुनि विद्यार्थीलाई राखेर पठनपाठन गराइएको छ ।

पाल्पाको रामपुर नगरपालिका–२, कागतीडाँडाको कालिका प्राथमिक विद्यालयका विद्यार्थीको शैक्षिक अवस्था देख्दा अझै पनि शिक्षा परम्परावादी सोचमा अल्झिएको अनुभूति हुन्छ ।

न्यून विद्यार्थीका कारण गाभिन लागेको यस विद्यालयमा गतवर्ष आठजना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका थिए । विद्यार्थी कम भएपछि यसै शैक्षिक सत्रदेखि गाभिने तयारीमा रहेको विद्यालय अहिले पहिलेको ठाउँबाट केही तल बस्तीनजिकै सारिएको छ ।

यसले गर्दा विद्यालयमा हालसम्म ३८ जना विद्यार्थी भर्ना भएका छन् तर विद्यार्थी पढ्ने एउटा भवन पनि छैन । घामपानी, प्रचण्ड गर्मीको तापमा बसेर खुला आकाशमुनि निकै कष्टसँग पढ्न विद्यार्थी बाध्य भएका छन् ।

विद्यालय भवनको अभावमा अहिले चौतारीमा राखेर विद्यार्थीलाई शिक्षा दिइँदै आएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो । “गाउँमा बसाइँसराइ बढ्न थालेपछि विद्यार्थी एकदमै न्यून भए, गाउँदेखि करीब ५०० मिटर तल विद्यालय सारिएपछि विद्यार्थी भर्ना बढ्दो छ”– “हामीले गाउँको विद्यालयलाई बचाउन, अन्यत्र गाभ्न नदिने उद्देश्यले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, वडावासी मिलेर नगर शिक्षा समितिसँग समन्वय नगरिकन विद्यालय स्थानान्तरण गरेर सञ्चालन गरिरहेका छाँै” उहाँले भन्नुभयो ।

गाउँका बालबालिकाले गाउँबाटै सहजरुपमा शिक्षा लिन पाउन् भन्ने उद्देश्यले विद्यालय स्थानान्तरण गर्न बाध्य भएको उहाँको भनाइ छ । अहिले टहरा बनाउने कार्य भइरहेको हुँदा टहरा सम्पन्न नहँुदासम्म बाहिरी खुला चौर चौतारीमा राखेर पढ्ने व्यवस्था सिर्जना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीरा विक बताउनुहुन्छ ।

“टहरा निर्माणको क्रममा छ, अब हप्ता दश दिनभित्र सम्पन्न हुन्छ, त्यसपछि टहरामा राखेर पढाउने छौँ” उहाँले भन्नुभयो । विद्यालय स्थानान्तरण भयो, अहिले खुला आकाशमुनि विद्यार्थीलाई पठनपाठन गराइएकोे छ । तर यस विषयमा नगर शिक्षा समिति नै बेखबर रहेको नगर शिक्षा अधिकृत रमाकान्त अर्याल बताउनुहुन्छ ।

“हामीले अहिलेसम्म औपचारिक रुपमा विद्यालय स्थानान्तरण भएको खबर पाएका छैनाँै, अब तत्काल विद्यालयमा पुगेर अनुगमन गर्नेछौँ”– “खुल्ला आकाशमुनि राखेर पढाएको भन्ने कुरा सुन्नमा आएकाले मैले विद्यालयका प्रधानाध्यापकलाई फोनमार्फत कक्षाकोठाको तुरुन्त व्यवस्था गरेर पढाउनुहोस् भनेर निर्देशन दिएको छु” अर्यालले भन्नुभयो ।

कम विद्यार्थी भएपछि विद्यालय गाभ्नु या स्थानान्तरण गर्नु ठीक कुरा हो तर यस विषयमा सम्बन्धित निकाय नै बेखबर हुनु विद्यालयको मनपरि हो । शिक्षा ऐन नियमावलीअनुसार खुलाआकाशमुनि राखेर विद्यार्थी पढाउन कुनै पनि विद्यालयलाई छुट दिइएको छैन ।

यसरी मनपरि काम गर्ने विद्यालयलाई सम्बन्धित निकायले कानून अनुसार सजाय दिन नसक्दा ठाउँठाउँमा यस्ता कार्य दोहोरिन पुगेका छन् ।

सम्बन्धित समाचार

Advertisement