हचुवामा अनलाइन कक्षा- अहिले सम्भव छैन: शिक्षक महासंघ

अनलाइन दर्पण 2020-05-04
img

काठमाडौं, २२ बैशाख । निजी विद्यालयले अनलाइन कक्षा शुरू गरेको दाबी गरे तापनि अधिकांशमा पठनपाठन शुरू हुन सकेको छैन । प्याब्सनले हिजो आइतबारबाट अनलाइन कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय समितिलाई निर्देशन दिए पनि अनलाइनबाट कक्षा सञ्चालन गर्न सम्भव भएको छैन ।

कोरोना भाइरस महामारीबाट बच्न सरकारले लकडाउन गरेपछि राजधानी र सदरमुकाम छाडेर दूरदराजमा गएका विद्यार्थी सम्पर्कमा नआउन्जेलसम्म अनलाइन कक्षा निरर्थक हुने देखिएको छ ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले तत्काल केही समयका लागि पठनपाठन शुरुआत गर्न मात्र अनलाइन कक्षा शुरू गरिएको बताउनुभयो । उहाँले लकडाउन खुकुलो भई भौतिक दूरी कायम गरेर विद्यालय सञ्चालन नगरेसम्म नियमित अनलाइन कक्षाले सार्थकता पाउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब सरकारले लकडाउन खुकुलो बनाएर विद्यालय खोल्ने वातावरण तयार गर्नुपर्छ ।’

निजी विद्यालयले अनलाइन कक्षा शुरू गरे पनि सरकारी विद्यालयमा हालसम्म अत्तोपत्तो छैन । निजीले शुुल्क उठाउन र शिक्षक कर्मचारीलाई तलब खुवाउने रकम जम्मा गर्न अनलाइन कक्षा शुरू गरेको आरोप लाग्न थालेको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अहिलेको अनलाइन कक्षाको कुनै औचित्य नभएको तर्क राख्नुभयो । उहाँले भन्नुभयो– ‘विद्यालय नखुलेसम्म कुनै पनि विद्यालयमा अनलाइन कक्षा सम्भव छैन ।’

अहिलेको बजेटमा सबै विद्यालयमा इन्टरनेटको व्यवस्था गरेर आउँदो वर्षदेखि शुरुआत गर्दा सम्भव हुने उहाँको भनाइ छ । करिब ३५ हजार सरकारी विद्यालयमध्ये १५ सयमा पनि इन्टरनेटको सुविधा नभएको अवस्थामा अनलाइनबाट कक्षा सञ्चालन गर्न सम्भव छैन ।

अध्यक्ष थापाले भन्नुभयो– ‘विश्वका अधिकांश मुलुकमा सम्भव नभएको विषय नेपालमा अहिले नै कहाँ सम्भव हुन्छ ।’ उहाँले सरकारले हचुवाको भरमा कक्षा सञ्चालन गर्न आग्रह गर्नु गलत भएको बताउनुभयो । ‘केही दिनपछि मन्त्रीसँग भेटेर तयारी नपुगेको अवस्थामा हचुवाको भरमा गरेको निर्णय तत्काल कार्यान्वयन नहुने जानकारी गराउँछौ ।’ –थापाको भनाइ थियो ।

सरकारी र निजी विद्यालयबीच विभेद हुन नहुने बताउँदै बिनातयारी शुरू गरिएको भनिएको अनलाइन कक्षा हाललाई बन्द गर्नुपर्ने उहाँको धारणा थियो । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले अनलाइन कक्षा सञ्चालन गर्नु राम्रो विषय भए पनि यसलाई कार्यान्वयन गर्न चुनौती रहेको बताउनुभयो ।

अनलाइन कक्षा तयारी गर्न हिजो आइतबारदेखि इस्टुले पाँचदिने भर्चुअल तालिम शुरू गरेको छ । इस्टुले जुम क्लाउडमार्फत कक्षा सञ्चालन गरिरहेको छ । ‘हिजो उद्घाटन गरेका छौं, भोलिबाट नियमित तालिम दिनेछौं ।’ –अध्यक्ष थापाको भनाइ थियो ।

हिजो सामाजिक सुरक्षा कोषको विषयमा कक्षा सञ्चालन गरेको थियो । तालिममा गुगल एपमार्फत ई–पुस्तक डाउनलोड गरी कक्षा सञ्चालन गर्ने तयारी गरेको इस्टुले पावर प्वाइन्ट निर्माण, व्यक्तित्व विकास, स्कुलको सांगठनिक स्वरूप, पढाइको विधि, योजना र पाठ्यक्रमका बारेमा तालिम लिने कार्यक्रम रहेको छ । पाँच घन्टाको तालिमलगत्तै शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भएको थापाको भनाइ छ ।

उमेर समूह फरक भएका कारण तत्काल अनलाइनबाट सबै कक्षा सञ्चालन गर्न सम्भव नभएको तर्क राख्दै उहाँले भन्नुभयो– ‘अहिले अनलाइनबाट शुरू गरे पनि विद्यालय खुलेलगत्तै शुरूबाट नै पढाउनुको विकल्प छैन ।’

सिलेवस नभएको अवस्थामा कसरी कक्षा सञ्चालन गर्ने भन्ने विषयमा समस्या रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘शिक्षकलाई तालिम नदिइकन कक्षा सञ्चालन गर्न सम्भव छैन ।’ उहाँले ठूलामा मात्रै नभई सबै विद्यालयले अनलाइन कक्षा शुरू गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सरकारले परीक्षा क्यालेन्डर बिग्रन नदिन अनलाइन पढाइ शुरू गर्ने जनाएको थियो । सोहीअनुसार सबै विश्वविद्यालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, निजी विद्यालयको छाता संगठन प्याब्सन, एनप्याब्सनलगायतले अनलाइन, भर्चुअल, टेलिभिजन र एफएमबाट कक्षा शुरूक गर्ने जमर्को गरेका छन् ।

‘तत्काल तलब पाउनुपर्छ’

इस्टुले फागुनदेखि रोकिएको तलब तत्काल उपलब्ध गराउन आग्रह गरेको छ । अधिकांश निजी विद्यालयले चैतसम्मको शुल्क असुल गरिसकेको अवस्थामा केही ठूलाबाहेक अधिकांश विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् ।

इस्टुका अध्यक्ष होमकुमार थापाले कोरोना कोषमा रकम जम्मा गरेको बहानामा केही विद्यालयले शिक्षकको तलब काटेकोमा असन्तुष्टि जनाउँदै तलब नकाट्न आग्रह गर्नुभएको छ । तलब दिएको छैन तर कोषमा रकम काटेका छौं भनेर शिक्षकलाई धम्क्याउन थालिएको थापाको भनाइ थियो । उहाँले कोषमा रकम काटेको भए सबै शिक्षक कर्मचारीलाई प्रमाणसहित रसिद दिन आग्रह गर्नुभयो ।

इस्टुले विद्यार्थीसँग शुल्क लिएर पनि शिक्षक र कर्मचारीलाई तलब उपलब्ध नगराएकोमा आपत्ति जनाउँदै यही अवस्था भए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो । निजी विद्यालयमा करिब २ लाख शिक्षक कार्यरत छन् । -न्युजअफ नेपाल डटकमबाट 

सम्बन्धित समाचार

Advertisement