मुखर्जीलाई मानार्थ महाविद्यावारिधि

अनलाइन दर्पण 2016-11-03
img

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेको छ । 

सरकारी सेवा हुँदै रक्षा, परराष्ट्र र अर्थमन्त्रीको अनुभव संगालेपछि राष्ट्रपति भएका मुखर्जीले इतिहास, राजनीतिशास्त्र र कानुनमा कोलकाता विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।काठमाडौं विश्वविद्यालद्वारा बिहीबार राजधानीमा आयोजित विशेष दीक्षान्त समारोहमा मुखर्जीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरिएको हो।

प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले मुखर्जीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेका हुन् । क्षेत्रीय सहयोग र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनलाई उक्त सम्मान प्रदान गरिएको दाहालले बताए ।

‘अन्वेषण, अनुसन्धान र विकासबिनाको उच्चशिक्षा विश्वविद्यालय शिक्षा हुन सक्दैन,’ मुखर्जीले उपाधि ग्रहण गर्र्दै भने, ‘नेपाल र भारत धार्मिक, सांस्कृतिक र राजनीतिक रुपमा समान भएकाले एकाअर्कासँग सहकार्य गरी संयुक्त रुपमा शैक्षिक विकासमा लाग्नुपर्छ ।’ उनले शिक्षामा सक्दो लगानी बढाउन पनि जोड दिए ।

मुखर्जीले विश्वविद्यालयहरूले विद्यार्थीलाई किताबी किरो बनाउनुभन्दा अनुसन्धान र खोजमूलक शिक्षा उपलब्ध गराए त्यही जनशक्ति भविष्यको कुशल नेतृत्व हुनसक्ने जिकिर गरे ।

काठामाडौं विश्वविद्यालय (केयु) थोरै समयमा समुदायमा आधारित अनुसन्धान र अन्वेषणमूलक शिक्षा दिन सफल भएकाले अगामी दिनमा विश्वविद्यालय विशिष्टताको केन्द्र हुने दाबी पनि उनले गरे । ‘छोटो समयमा केयुले हासिल गरेको उपलब्धि सराहनीय छ,’ मुखर्जीले भने, ‘नेपाल र भारत मिलेर यो क्षेत्रका विश्वविद्यालयहरूलाई उत्कृष्ट बनाउनेतर्फ लाग्नु आवश्यक छ।’

प्रधानमन्त्री एवं कुलपति दाहालले एसियाकै विशिष्ट व्यक्तित्व भारतीय राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्न पाउन विश्वविद्यालयका लागि गौरवको विषय भएको बताए । उनले विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा पाएको सफलताको पनि प्रशंसा गरे ।

दाहालले केयुले हालको परिवेशमा भारतीय राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेर दुई देशबीच सुमधुर समबन्ध कायम गर्न सराहनीय भूमिका निर्वाह गरेको उल्लेख गरे ।

काठमाडौं विश्वविद्यालयले यसअघि संस्कृतविद् सत्यमोहन जोशी र भारतीय विद्वान करण सिंहलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेको थियो ।

सम्बन्धित समाचार

Advertisement