लकडाउन खुलेपछि आईपीओ निष्कासनको तयारीमा यी दुई कम्पनी

अनलाइन दर्पण 2020-04-24
img

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएका दुई कम्पनीको  कोरोना भाइरसका कारण रोकिएको छ ।

बोर्डले गैरआवासीय नेपालीको लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र एनआइसी एसिया लघुवित्तलाई आइपिओका लागि अनुमति दिएको थियो ।

बोर्डले एनआरएन इन्फ्रास्ट्रक्चरलाई फागुन ४ गते र एनआइसी एसिया लघुवित्तलाई चैत ४ गते अनुमति दिएको हो । एनआरएन इन्फ्रास्ट्रक्चरको चैत २८ गतेदेखि र एनआइसी एसिया लघुवित्तको वैशाख २ गतेदेखि आइपिओ निष्कासन गर्ने तयारी गरेको दुवैको बिक्री प्रबन्धक सानिमा क्यापिटलका बैंकिङ प्रमुख मन्दीप लुइँटेलले बताए । लकडाउन भएकाले निष्कासन रोकिएको उनले जानकारी दिए ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा भएको व्यवस्थाअनुसार बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बद्ध विवरण स्वीकृत भएको मितिबाट २ महिनाभित्र संगठित संस्थाले धितोपत्रको बिक्री गरिसक्नुपर्नेछ । नियमअनुसार एनआरएन इन्फ्रास्ट्रक्चरले वैशाख ४ गतेभित्र आइपिओ निष्कासन गर्नुपर्ने हो ।

लकडाउनले निष्कासन गर्न नपाएपछि क्यापिटलले बोर्डलाई अहिलेको अवस्थामा आइपिओ निष्कासन गर्ने–नगर्ने भनेर पत्र पठाएको क्यापिटलले बताएको छ ।

बोर्डले अहिलेको अवस्थामा निष्कासन स्थगित गरेर पछि मिलाउने जानकारी गराएको लुइँटेलले बताए । लकडाउन खुलेपछि बोर्डको सूचना आएपछि नयाँ मिति निकालेर आइपिओ निष्कासन गर्ने उनले बताए ।

एनआइसी एसिया लघुवित्तको भने जेठ ४ गतेसम्म समय अवधि अझै बाँकी रहेकाले सो वेलासम्म लकडाउन खुल्यो भने आइपिओ बिक्रीका लागि आह्वानपत्र निकालिने उनको भनाइ छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ बिक्री गर्न बोर्डबाट स्वीकृति पाएको थियो । कम्पनीले हाल कायम जारी पुँजी १ अर्ब १३ करोड २६ लाखका आधारमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

त्यस्तै, लघुवित्त क्षेत्रको हालसम्मकै सबैभन्दा ठूलो ४७ करोड ५५ लाखबराबरको रकमको आइपिओ निष्कासन गर्न एनआइसी एसिया लघुवित्तले बोर्डको अनुमति पाएको हो ।

कम्पनीले हाल कायम जारी पुँजी १ अर्ब ४८ करोडका आधारमा सर्वसाधारणका लागि ३२ दशमलव १३ प्रतिशत सेयर जारी गर्न बोर्डको स्वीकृति पाएको हो ।

सम्बन्धित समाचार

Advertisement