काभ्रे, १५ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव नहुने बताए ।
“अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन”, मन्त्री डा महतले भने । अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभे्रपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने बताउँदै भने, “उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्नेछ, जसका कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरुकता पैदा गर्नेछ ।”