सुरेश प्रसाद निरौला
मेरो आस्था, भरोसा र विश्वासका प्रतिमुर्ति, समकालिन राजनीतिका नवीन विचारक, जबजका सिद्धान्तकार, वाम प्रजातान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय जननेता कमरेड मदन कुमार भण्डारी र उहाँका सहकर्मी, कुशल संगठक कमरेड जीवराज आश्रित प्रति उहाँहरुको पुण्यतिथीमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नमन गर्न चाहन्छु ।
आज भन्दा ठीक ३० बर्ष अघि २०५० साल जेष्ठ ३ गते केही मानवरुपी कायर, हत्यारा, रक्त पिपाशुहरुले हत्या गरी उहाँहरुलाई त्रिसुली नदीमा बगाईदिए । विश्व इतिहासको पानामा कम्युनिष्ट पार्टीहरुको अधोगति भईरहेका बेला नेपालमा भने स्वर्गीय जननेताद्वारा प्रतिपादित ‘‘जनताको बहुदलीय जनवाद” नामक कार्यनीति तथा कार्यक्रमको दस्तावेजले कम्युनिष्ट पार्टी र जनताहरुमा देखिएको उभार, उमङ्ग र उहाँहरुप्रति जनताले गरेको सम्मान देखेर केही देशी, विदेशी प्रतिक्रियावादी , कायर, विरोधी हत्याराहरुले कायरता पूर्ण ढङ्गबाट उहाँहरुको हत्या गरे ।
हाम्रो पार्टी, कार्यकर्ता पंक्ति, शुभेच्छुक, शुभचिन्तक, समर्थक र आम नेपाली जनताहरु शोकलाई शक्तिमा बदलौँ भन्दै आन्दोलनमा उत्रिए । राष्ट्रव्यापीरुपमा आन्दोलन चर्कियो । पार्टी र सरकारको तर्फबाट छुट्टा छुट्टै छानविन आयोगहरु पनि गठन गरियो । आयोगहरुद्वारा धेरै खाले निर्णयहरु पनि भए । भिसेरा रिर्पोट पनि आयो उहाँहरुको हत्या नै भएको हो पनि भनियो तर खोई त ? आजका मितिसम्म पनि कसले, किन र के का लागि यो हत्या गरियो भन्ने कुरा खुल्न सकेन सबै कुराहरु आजका मितिसम्म पनि रहस्यकै गर्भमा लुकेको छ ।
आन्दोलनकै परिणाम स्वरुप २०५१ सालमा हाम्रो पार्टीको सरकार बन्नपुग्यो त्यसपछि पनि कहिले चमाले, हमाले हुँदै त कहिले मिलिजुली सत्तामा र कहिले प्रतिपक्षमा रहँदै आएको छ । अझ केही समयपछि त उहाँकै धर्मपत्नी कमरेड विद्यादेवी भण्डारी यो राष्ट्रमा दुई दुई पटक राष्ट्रपति नै हुनुभयो भने सरकारमा पनि केन्द्र देखी स्थानीय, वडासम्म नेकपाकै पूर्ण बहुमतकै सरकार बन्यो त्यो सरकारको नेतृत्व स्वयं पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नै गर्नुभएको थियो ।
तरपनि पहिले पहिले कहिले अल्पमतको सरकार त कहिले प्रतिपक्षमा रहँदा उहाँहरुले भन्नुहुन्थ्यो की हाम्रो केही लागेन, बहुमत छैन हत्याराहरु खुलेआम हिडिरहेका छन्, कारवाही पनि गर्न सकिएन आदी इत्यादी तर तिनै हाम्रा पार्टी नेताहरु राष्ट्रपति देखी प्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, सांसद, महानगर प्रमुख, नगर प्रमुख देखी वडा अध्यक्ष हुदै सदस्यसम्मको पूर्ण बहुमत हुँदा पनि हत्याको छानविन गर्ने, हत्यारा खोज्ने, हत्यारालाई कारवाही गर्ने जस्ता कुराहरु भने उही भाषण र गफमा मात्र सिमित हुन पुग्यो । आखिर उहाहरुले खोज्नुभएको बहुमत को सरकार कस्तो हो ? अझ त्यो सत्ता, पावर, पैसा र बहुमत हुँदा पनि उहाँहरुले बर्षमा एकपटक श्राद्ध गर्नु बाहेक हत्याकाण्डको छानविन गर्न सुरुवात पनि गर्न सक्नु भएन भने अव त उही हत्याको कुरा ‘सम्झने पानी छम्कने’ भनेझैँ मात्र होला जस्तो लाग्न थाल्यो । उही कतै अन्तमा श्री पशुपतीनाथको कृपाले कहीँ कतै केही कुराहरु पत्ता लागिहाल्छ की भन्ने एउटा झिनो आशामा बाच्नुको विकल्प बाहेक अरु केही रहेन ।
अव त समयले पनी डांडा काटीसकेर होला की किन हो राष्ट्र र जनताका लागि उहाँहरुले दिनुभएको योगदानलाई पनि सामान्यिकरण गर्न थालिएको छ । उहाँद्वारा प्रतिपादित ‘’जबज” लाई पनि आ–आफ्नै ढङ्गले व्याख्या गर्न थालिएको छ । आफुलाई के भन्दा र के गर्दा फाईदा हुन्छ त्यसैलाई आधार बनाएर जवजको मुल आशय यही हो भनेर ब्याख्या गर्न खोजिदैछ । जवजका प्रशिक्षक र व्याख्यताका रुपमा हाल नवआगन्तुक कमरेडहरु कोमल ओली, शान्ता चौधरी, दुर्गा प्रसाई, रामबहादुर थापा र टोपबहादुर रायमाझी जस्ता नव एमाले त हुदै हुनुहन्छ भने अव बाँकी अन्य विद्धान कमरेडहरुको त कुरै नगरौँ किनकी आजसम्म हामी उहाँहरु कै कुराहरु सुन्दै आईरहेका छौँ ।
आदरणीय कमरेडहरु हो ! यि माथी उठाईएका बिषयहरु मेरा आरोप पत्र मात्र होईनन् यस बिषयमा सवैलाई सर्वविदितै होला । बरु उहाँहरुको हत्याकाण्डको बिषयमा काम गरिएन, जानिएन, बुझिएन वा गर्न सकिएन भन्दा ठिकै होला तर सुर्यलाई हत्केलाले छेक्ने कोशिश नगरेकै बेश l उहाँहरुले यो राष्ट्र, जनता र पार्टीलाई दिनुभएको अमुल्य योगदानको भने अनादार नगरौँ । जबजलाई खोपीको देउता होईन परिस्कृत र परिमार्जित नवीन विचारको दस्तावेजको रुपमा यसलाई अगाडी बढाऔ । जवज जानेको, बुझेको र यसको मर्मभित्र पस्न सक्नेलाई मात्र व्याख्याकार र प्रशिक्षक बनाएर पठाउँ । यसको मर्म नवुझ्नेले प्रशिक्षण र व्याख्या गर्न थाले भने कतै जवजकै अपब्याख्या र जबज नै अपभ्रंस भई जनताको प्रीय रहेको जबज माथि अप्रीय छाप पर्न सक्छ | अरु केही गर्न नसके पनि उहाँहरु प्रति जनता र कार्यकर्ताहरुले ह्रदयमा राखि दिएको अपार माया, सद्भाव र मान–सम्मान प्रति भने अलिकति पनी आंच आउने काम नगरौँ र गर्न पनि नदिऔ, बरु आजको यो पुण्य तिथिमा नेपालमा छरिएर रहेका कम्युनिष्ट पार्टीहरु बिच सुदृढ एकता, सद्भाव र सहकार्यको हात अगाडी बढाउदै अघि बढ्न सके उहाँले प्रतिपादन गरेको जवज र उहाँहरुले देख्नुभएको समुन्नत नेपाल को सपना पुरा गर्न सकिने थियो कि भन्ने कुरा राख्दै पुनः उहाँहरु प्रति आज जेष्ठ ३ गतेको पुण्यतिथीमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेताद्व्यले देखाएको बाटोमा निरन्तर अघि बढ्न सकौँ र सदैव यहाँहरुबाट आर्शिवाद प्राप्त भईरहोस् भन्ने कामना गर्दै विदा हुन चाहन्छु उही हजुरहरुको भाई, छोरा, साथी, कार्यकर्ता वा एक स्वतन्त्र नागरिक ।।
अस्तु ।।