किन दाहिनेभन्दा देब्रे हातको प्रयोग कम हुन्छ ?

अनलाइन दर्पण 2018-08-20
img

हातले केही समाउन सिक्ने बेला बच्चाहरूले दुवै हातको प्रयोग गर्छन् । तर बल बढ्दै जाँदा उनीहरूले दुइटै हातको प्रयोग गर्न थाल्छन् । कतिपय बच्चाले दाहिने हातको प्रयोग बढी गर्छन् भने कतिपयले देब्रे हातको ।

हामी बच्चालाई दाहिने हातको प्रयोग गर्न सिकाउँछौँ किनकि मान्छेहरूले त्यही हातको बढी प्रयोग गर्छन् ।

तर त्यसको बावजुद केही बच्चाहरू देब्रे हातकै प्रयोग गर्छन् । यदि तपाईँको बच्चाले पनि त्यस्तो गर्छ भने त्यसो गर्ने ऊ एक्लो होइन ।

त्यस्ता धेरै बच्चा छन् जसले देब्रे हातको प्रयोग गर्छन् । हुन त संसारमा देब्रे हातको प्रयोग गर्नेहरूको सङ्ख्या थोरै नै छ ।

संसारमा देब्रे हातको प्रयोग गर्ने बच्चाहरूको सङ्ख्या किन कम होला ?

हाम्रो शरीरमा एउटा विशेष खालको असन्तुलन छ । फोनमा कुरा गर्दै केही लेख्नुपरेमा हामी देब्रे कानमा फोन राख्छौँ र दाहिने हातले लेख्छौँ ।

अर्थात् हामीलाई जसरी सजिलो हुन्छ त्यसरी नै काम गर्छौँ । शरीरका अङ्गको पनि हामीले त्यसैगरी नै प्रयोग गर्छौँ ।

सालाखाला ४० प्रतिशत मानिसले देब्रे कानको, ३० प्रतिशतले देब्रे आँखाको र २० प्रतिशतले देब्रे खुट्टाको प्रयोग गर्छन् ।

तर हातको कुरा गर्नुपर्दा संसारमा केवल १० प्रतिशत मानिसले मात्रै देब्रे हातको प्रयोग गर्छन् ।

त्यस्तो किन होला ?

मान्छेले जस्तै जनावरले पनि कतिपय कामका लागि देब्रे र कतिपयका लागि दाहिने हातको गर्छन् । उदाहरणका लागि चिम्पाञ्जी ।

तर वैज्ञानिक अनुसन्धानबाट आधा सङ्ख्यामा चिम्पाञ्जीहरूले देब्रे हातको र आधा सङ्ख्यामा दाहिने हातको प्रयोग गर्ने गरेको देखिएको छ ।

मान्छेको कुरा गर्नुपर्दा १० जनामा एकजनाले मात्रै देब्रे हातको प्रयोग गर्छन् । मान्छेले दाहिने हातको प्रयोगमा कहिलेदेखि जोड दिन थालेका होलान् ?

हामीले हाम्रा हातको प्रयोग शुरू गरेकोबारे जान्न मान्छेको विकासको इतिहास खोतल्नुपर्ने हुन्छ ।

‘नियान्डर्थल’ मानवका दाँतबाट यसको सङ्केत मिल्छ । हातको प्रयोग मज्जाले सिकिसके पनि तिनीहरू केही अव्यवस्थित थिए ।

दाँतले नै कोतरेर तिनीहरूले मासु खान्थे । मासु काट्नलाई तिनीहरूले अलि बढी बल चाहिने हातको प्रयोग गर्थे ।

तिनीहरूले जसरी औजारको प्रयोग गर्थे त्यसको बनोट हेरेर तिनीहरूले कुन हातले खाना समाउँथे र कुन हातले औजारको प्रयोग गर्थे भन्नेबारे अनुमान लगाउन सकिन्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार ‘नियान्डर्थल’ मानवले पनि दाहिने हातको बढी प्रयोग गर्थे ।

तिनीहरूमा पनि १० जनामध्ये एकजनाले मात्रै देब्रे हातको प्रयोग गर्थे । जुन प्रवृत्ति अहिले मान्छेमा देखिन्छ ।

देब्रे वा दाहिने हातको प्रयोग गर्न मान्छेलाई केले प्रेरित गर्छ भन्ने कुरा पत्ता लगाउन अनुसन्धानकर्ताले प्रयास जारी राखे पनि अहिलेसम्म उत्तर भेटिसकेका छैनन् ।

प्रश्न यो पनि छ कि देब्रे हातको प्रयोग गर्ने मानिसहरूको जीवनमा के त्यसको कुनै असर हुन्छ? यो विषयमा लामो समयदेखि बहस चल्दै आएको छ।

हाम्रो देब्रेतिरको मस्तिष्कले दाहिने हातलाई र दाहिनेतिरको मस्तिष्कले देब्रे हातलाई नियन्त्रण गर्ने गरेको बताइन्छ।

युनिभर्सिटी कलेज लण्डनस्थित मनोविज्ञान विषयका प्राध्यापक क्रिश म्याकमेनसका अनुसार देब्रे हातको प्रयोग गर्नेहरू बढी क्षमतावान् हुन्छन्।

अरूभन्दा भिन्न

उनको यो बुझाइप्रति अरू अनुसन्धानकर्ता चाहिँ सहमत देखिँदैनन् । अक्सफोर्ड युनिभर्सिटीकी प्राध्यापक डोरोथी बिशप देब्रे हातको प्रयोग गर्छिन् । उनलाई लाग्छ उनी अरूभन्दा भिन्न छिन् ।

उनी भन्छिन्, “डिस्लेक्सिया अर्थात् पढ्न-लेख्नमा हुने समस्या र अटिज्म जस्ता रोग देब्रे हात प्रयोग गर्नेहरूलाई हुने गर्छ भन्ने दावीहरू पनि छन् । अर्कोतर्फ सकारात्मक कुरा पनि छ- शिल्पकार र सङ्गीतकारहरूले धेरैजसो देब्रे हातको प्रयोग गर्छन् ।”

विज्ञानले यतिसम्म फड्को मारिसकेको छ कि बच्चा गर्भमै रहँदा जन्मेपछि उसले देब्रे अथवा दाहिने कुन हातको प्रयोग गर्नेछ भनेर थाहा पाउन सकिन्छ ।

उत्तरी आयरल्याण्डको क्वीन्स युनिभर्सिटीका डा. पीटर हेपरले यसबारे पत्ता लगाएका छन् ।

उनले गर्भमा रहेका बच्चाहरूको अल्ट्रासाउण्ड गर्दा १० जनामध्ये नौजनाले दाहिने हातको बूढीऔँला चुस्ने गरेको पाए ।

जबकि एकजनाले मात्रै देब्रे हातको बूढीऔँला चुस्ने गरेको देखियो ।

जन्मपछि ती बच्चाहरूले गर्भमा रहेको बेलाजस्तै हातको प्रयोग गरेको देखियो अर्थात् नौ जना दाहिने हातको प्रयोग गर्ने भए भने एकजना देब्रे हातको । -बीबीसी

सम्बन्धित समाचार

Advertisement