लकडाउन जेठ ३२ गतेसम्म लम्बियो

अनलाइन दर्पण 2020-05-30
img

काठमाडौं, १७ जेठ । सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।  शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रपिरिषदको बैठकले लकडाउनको समय बढाउने, अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ  ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले  जानकारी दिए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

सँगै सरकारले असार १६ गतेसम्म सबै उडान बन्द गर्ने निर्णय गरेको छ । ‘अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने भएको निर्णयलाई २०७७ साल असार १६ गते अर्थात् जुन ३० सम्म सीमा क्षेत्रको आवागमन स्थगित गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले भने, ‘सीमामा थप कडाई गर्ने निर्णयसमेत भएको छ ।’ 

सरकारले सीमाको आवागमनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गर्ने सम्बन्धमा दुई देशबीच कुराकानी गर्ने निर्णय गरेको जानकारी खतिवडाले दिए । 

प्रवक्ता खतिवडाका अनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा निर्णय गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिलाई सरकारले जिम्मा दिएको छ । परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्ने पनि मन्त्री खतिवडाले बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।

त्यसपछि सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्बाएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्च स्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो । 

शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ । सात जनाको मृत्यु भइसकेको छ भने २१९ जनाले कोरोनालाई जितेका छन् । 

 

सम्बन्धित समाचार

Advertisement