पाल्पा, मङ्सिर ६ गते । माध्यमिक तहको पढाइका लागि तिनाउ–४, सत्यवती, लगाड, कोलडाँडालगायत गाउँका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँड्न बाध्य छन् । गाउँमा माध्यमिक तहको पढाइ हुने विद्यालय नभएपछि यहाँका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर पढ्न अन्यत्र जाने गरेका छन् ।
सत्यवती, लगाड, कोलडाँडालगायत गाउँका ३० भन्दाबढी विद्यार्थी माध्यमिक तहको पढाइका लागि तिनाउकै अर्को वडामा रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा पढ्न जाने गरेको स्थानीय अभिभावकले बताएका छन् ।
स्थानीय बासिन्दा विष्णुकुमारी गाहाका अनुसार गाउँमा मावि तहको पढाइ नभएपछि प्राथमिक तहको पढाइपछि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । उहाँका अनुसार गाउँमा मावि नहुँदा घण्टौँ हिँडेर तिलोत्तमा माविमा पढ्न जानुपर्ने बाध्यता छ । विद्यालय टाढा भएर अधिकांश विद्यार्थीले बिचमै पढाइ छाड्ने गरेका छन् ।
माध्यमिक तह पढ्न जाने अधिकांश बालबालिका नौ वर्षमाथिका छन् । विद्यालय टाढा हुँदा बिहान ७:३० बजे विद्यालय जानु पर्छ, बेलुकी उकालोमा हिँडेर आउँदा रातै पर्ने गरेको छ ।
तिलोत्तमा मावि कक्षा ९ मा अध्ययनरत जानकी घर्तीमगरका अनुसार गाउँबाट दैनिक सवारीसाधन पनि चल्दैन, यसले गाउँका विद्यार्थी कापी कलमसहितको झोला बोकेर विद्यालय जानुपर्ने बाध्यता रहेको छ । दिनहुँ हिँड्दा थकाइ लागेर केही साथीले बिचमै पढाइ छाड्ने गरेका छन् । लामो समय हिँडेर विद्यालय जाने बाध्यताले प्राथमिक तह उत्तीर्ण गरेका अधिकांश विद्यार्थी कक्षा १० सम्म पनि नपुग्ने अभिभावकको भनाइ छ । स्थानीय सुनवीर गाहाका अनुसार नजिकै विद्यालय भएको भए अभिभावकले पनि पढ्न जानुपर्छ भनेर मनाउन सक्थे । टाढाको विद्यालय हुँदा पढ्न जानुपर्छ भनेर मनाउन गाह्रो हुने गरेको छ ।
दैनिक चार/पाँच घण्टा हिँड्नु पर्छ भनेपछि विद्यार्थी पनि मनोवैज्ञानिक रूपमा हतोत्साही हुने गरेका छन् । उहाँले मावि पढ्न सकस भएपछि बिचमा कक्षा छुट्ने र पछि पढ्न छाड्दा पनि विद्यालयमै जानुपर्छ भनेर कर गर्न नसकेको बताउनुभयो ।
बर्सातको समयमा झन् यहाँका बालबालिका जोखिम मोलेर विद्यालय जानु परेको छ । स्थानीय तहले गाउँमै माथिल्लो तहको पढाइका लागि शिक्षक र भौतिक पूर्वाधारको व्यवस्था गर्न सकेको छैन । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आफ्नो आन्तरिक स्रोत नहुँदा मावि तह गाउँमै सञ्चालन गर्न नसकेको बताउनुभयो । भौगोलिक रूपमा टाढा टाढा गाउँबस्ती हुँदा मावि तह पढ्न धेरै विद्यार्थी हिँड्न बाध्य भएको उहाँले उल्लेख गर्नुभयो । गोरखापत्रबाट ।