मदन भण्डारीको सारथि लिटनजङ्ग(भाइराजा) सम्झनामा मात्र

अनलाइन दर्पण 2022-12-05
img

  सुरेश प्रसाद निरौला

 २०४६ साल भदौमा भएको नेकपा(माले) को चौथो महाधिवेशनवाट महासचिव निर्वाचित र चर्चित जननेता कमरेड मदन कुमार भण्डारी खुल्ला राजनीतिमा आए देखी दासढुंगा हत्याकाण्डको दुखद निधन नहुन्जेलसम्म आफ्नै रातो टोयाटा कार बा.अ.च. ७६५४ बाट स्वेच्छाले डेरा, अफिस, पार्टी काम आदीमा लैजाने ल्याउने काममा संलग्न लिटनजंग थापा (भाईहजुर) अब यो दुनियामा रहनु भएन ।  
 एउटा जिउदो इतिहास जुन समय र परिस्थिति अनुसार चल्दै आयो र आजबाट अन्त्य भयो प्रसंग काठमाण्डौ स्थित वडा नं १ नक्साल भगवती बहालको मन्दिर पछाडी अवस्थित स्वर्गीय चन्द्रजंग थापाका नाति, मेनारजंग थापा र गगनकुमारी थापाका कनिष्ठ पुत्र साथै नेमेन्द्रजंग थापाका भाई र सोमेन्द्रजंग थापाका काका जो लिटनजंग थापा (भाईहजुर) का नामले चर्चित एक समाजसेवी व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको आज १३ औं दिनको पुण्यतिथिमा सम्झना स्वरुप उहाँप्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै सिंगो जंग थापा परिवारजनलाई शोकलाई शक्तिमा बदल्दै धैर्य धारण गर्न सक्ने क्षमता श्री पशुपतिनाथले प्रदान गर्नुहोस् भनी प्राथना गर्दै सुख दुःखमा समेत यहाँहरुकै साथमा रहिरहनेछु भन्ने प्रण पनि गर्न चाहन्छु ।
 आजको पुण्यतिथिमा उहाँलाई सम्झदै दुई चार शब्द कोर्ने जमर्को गरेको छु । २०४६ सालको जनआन्दोलनमा आन्दोलनकै दौरानमा लड्दा लड्दै पुतली सडकको प्रहरी घेराबाट मुक्त गरी मलाई नक्साल स्थित आफ्नो घरमा लैजाने भाईहजुरसंग न त चिनजान थियो न त नाता नै । तर पनि उहाँसँगको लामो उठ बस भने सम्झन लायकको नै छ । त्यसबेला म डल्लु स्थित कन्चनजंगा बोर्डिङ स्कुलमा कार्यरत थिएं । त्यसबेला तात्कालिन माले कालका नेतागणहरु  मध्ये स्वर्गीय जननेता मदन कुमार भण्डारी र जिवराज आश्रित लगायत नेताहरु पार्टी संचालनको लागि आउने, बस्ने र खाने ठाऊँ स्कुल  नै थियो । त्यतिवेला नै मेरो सवैसंग भेटघाट र उठबस भयो। मदन र जिवराज कमरेड धेरै जसो त्यही रहनुहुन्थ्यो । मसंग त्यतिबेला ९० सि. सि. को सानो रातो होण्डा मोटरसाईकल थियो, त्यहि मोटरसाईकलवाट मदन कमरेड र म पार्टी कामको सिलसिलामा काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा संगै जाने गर्दथ्र्यौ । उहाँ ७०÷७५ किलो  म भने ४०÷४५ किलोको मान्छे । हामीसंगै हिड्दा उहाँ भन्नुहुन्थ्यो “ओई केटा तेरो गाडी उनार होलानी ? कति विस्तारै हाँकेको ? अलिक यस्को कान बटार्न ”आदी इत्यादी कुरा सुन्दा हांसो उठ्थ्यो अनि म भन्थे “यो उनार पनि हुँदैन, ढिला गए ठाऊँमा पुगिएला – छिटो गए भन्न्न पनि सकिन्न” अनि उहाँ हास्नुहुन्थ्यो । पार्टी निर्माणका दौरान हामीसंग धेरै साथीहरु जोडिदै जानुभयो उहांहरुमध्येका नक्साल मालिगाऊँ निवासी अच्युत प्रसाद न्यौपाने, नक्साल चारढुङ्गा निवासी कृष्णनिधि तिवारी, नक्साल भगवती मन्दिर संगै रहनु हुने लिटनजंग थापा जो अव भने  यो धर्तिमा रहनु भएन तर अहिले पनि त्यो टिममा रहनुहुने  नक्साल चारढुङ्गे निवासी अनिल कुमार मानन्धर, सोही स्थानका भरतलाल श्रेष्ठ छन् भने स्वयं म पनि छंदै छु ।
 
२०४७ सालमा मदन कमरेड खुल्ला भईसकेपछि भने उहाँको सुरक्षालाई ख्याल गर्दै उहाँको अनिच्छाका बाबजुत पनि गाडी प्रयोग गर्नुपर्ने स्थिति आउँदा मेरो असाध्यै घनिष्ठ साथी हुनुभएको कारणले मैले थापाजीलाई  प्रस्ताव गरे, मेरो प्रस्ताव सहस्र स्विकार गरि उहाँको गाडी संचालनमा ल्याईयो तर दुई–चार दिन पछि नै ड्राइभरबाट यो काम हुँदैन म आफैँ चलाउँछु भन्दै उहाँले नै लिएर हिड्न थाल्नुभयो । मदन कमरेड रहेसम्म कहिले कार त कहिले जिपमा उहाँनै हिडी रहनु भयो । धेरैले बिभिन्न आरोप प्रत्यारोप गरे तर मदन कमरेडले एक कानले सुन्ने र अर्को कानले उडाउने मात्र गर्नु हुन्थ्यो । झण्डै झण्डै ६०÷६५ जिल्लाहरुमा हामीलाई मदन कमरेडसंगै हिड्ने, बस्ने र खाने सौभाग्य प्राप्त भयो । उहाँको हत्यापछि पनि केही समय हालका महामहिम राष्ट्रपति बिध्यादेवी भण्डारीज्यूलाई पनि यो सुविधा उहाँले नै दिनुभयो । जव उहाँ मालीगाऊँ छाडेर चावहिल बस्न पुग्नु भयो त्यसपछि भने म मामा प्रदिप नेपालसंगै बस्न पुगें भने थापाजी आफ्नो घर कम्पाउण्ड भित्र मात्र सिमित रहनु भयो । मलाई अहिले पनि सम्झना छ कि त्यो समयमा थापाजी आफु बसेको घर र केही जग्गा जमीन पार्टीलाई दिन चाहनुहुन्थ्यो उहाँले मदन कमरेडलाई प्रस्ताव पनि राख्नु भयो तर मदन कमरेडले मान्नु भएन ।  त्यसैगरी मदन कमरेडले पनि उहाँलाई राष्ट्रिय सभामा लैजान्छु भन्दा थापाजीले पनि मान्नु भएन बरु थापाजीले भन्नु भयो पार्टी ईतिहासमा लामो समय काम गर्ने साथीहरु हुनुहुन्छ यो पद उहाँहरुलाई नै दिनुहोला म त्यसमा नै खुशी हुनेछु उहाले त्यसो भन्दा मदन कमरेड मुसुमुसु हाँसी मात्र रहनु भयो ।
 मदन कमरेडसंगको त्यो सामिप्यताले होला अहिले पनि थापाजीको भतिज सोमेन्द्रजंग थापा लगायतका जंग थापा परिवारहरु नेकपा एमालेकै सहयोगी, सुभेच्छुक, शुभचिन्तक भएर सतिसाल झैँ उभि रहनुभएको छ  । उहाँहरु उच्च घराना सम्पन्न वर्गको हुँदाहुँदै  पनि जंग थापाहरुको सिङ्गो परिवारलाई नै नेकपा एमालेको सूर्य अंकित झण्डा मुनी गोलवद्ध गर्न सफल लिटनजंग थापा (भाईहजुर) लाई १३ औं दिनको पुन्य तिथीमा पुनः भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, सवैको जय होस् । अस्तु !!!

सुरेश प्रसाद निरौला
मदन आश्रित स्मृति प्रतिष्ठान
गोठाटार, काठमाण्डौ ।

सम्बन्धित समाचार

Advertisement