काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय नेपाली काँग्रेस प्रति बढी आक्रमक देखिएका छन् । आइतबार पत्रकार गोपाल खनालको पुस्तक भूराजनीति सार्वजनिकीकरण कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेस शिकार गरेर अघाएको बाघको संज्ञा दिएका पूर्व प्रधानमन्त्री ओलीले सोमबार फेरी काँग्रेसलाई नयाँ संज्ञा थपेका छन् टन्न घाँस कुँडो खाएर अघाएको भैंसी जस्तो ।
नेपाली कांग्रेस राष्ट्रिय र छिमेक नीति नभएको पार्टी भन्दै उनले सोमबार काठमाडौंमा आयोजित पार्टीको ३ नम्बर प्रदेशको भेलामा राष्ट्रिय मुद्धामा नेपाली कांग्रेस मौन रहेको भन्दै यस्तो आलोचना गरेका हुन् ।
कांग्रेसको शैलीप्रति टिप्पणी गर्दै ओलीले भने, ‘नेपाली कांग्रेसले यसो हेर्दाखेरी के खायो थाहा छैन । टक्क घाँसकुँडो खाएपछि भैंसीले मुख चपाएर बस्छ नि, मतलबै नभएको जस्तो । नेपाली कांग्रेस त्यस्तै भइरहेको छ ।’
उनले भने, ‘राष्ट्रिय नीति उसको के हो ? छिमेक नीति के हो ? भइरहेका काममा कांग्रेसको दृष्टिकोण के हो ? कांग्रेस आकार, प्रकार र साइजले प्रमुख पार्टीको हैसियतमा डम्म परेर बसेको तर, केही बोलेको छैन ।’