काठमाडौं, २३ कार्तिक । विभिन्न माग राखेर सत्तारुढ माओवादी केन्द्रको पार्टि केन्द्रिय कार्यालय कब्जा गरेर बसेका १६९ जना पूर्व लडाकुहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ गरिएकाहरूलार्इ कोटेश्वर, टुेकु लगायतका विभिन्न वृतमा राखिएकाे छ । पक्राउ पर्नेमा केही बच्चाका आमा पनि छन्, उनीहरु बच्चासहित धर्नामा थिए ।
सोमवार दिउँसो १२ बजेदेखि उनीहरुले माओवादी केन्द्रीय कार्यलय आफ्नो नियन्त्रणमा लिएका थिए । मंगलवार विहान पुगेको प्रहरीले ‘गेट खोल्न र वार्ताबाट माग पुरा गराउन’ आग्रह गरेको थियो । शुरुमा प्रहरीको भनाई अस्वीकार गरेपछि प्रहरी आफैले गेट खोलेको थियो । प्रहरीले नियन्त्रणमा लिन थालेपछि अधिकास पूर्व लडाकु आफै प्रहरीको भ्यानमा बसेका थिए ।
संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले अयोग्य घोषणा गरेर बर्हिगमनमा परेका लडाकुले पार्टी कार्यालयमा चाबी लगाएर कसैलाई जान दिएका थिएनन् । यसको नेतृत्व लेनिन विष्टले गरेका थिए । उनी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
पूर्व लडाकुले गेटमा ताला लगाएपछि माओवादी केन्द्रका १५ जना नेता सोमवार रातभर कार्यलयमा बसेका थिए । यसरी रातभर केन्द्रीय कार्यलयमा बस्ने नेताहरुमा हितमान शाक्य, श्रीराम ढकाल, प्रकाश पोखरेल, इविन्द्र पराजुली र शिव खकुरेल लगायत थिए ।
पूर्वलडाकुले आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका लडाकुसरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुनुपर्ने, झुटा मुद्दा लगाएर जेलमा राखेका लडाकुलाई विनाशर्त रिहा गर्नुपर्ने, घाइते अपांगलाई निशुल्क उपचार र आजीवन भत्ताको व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै आएका छन्।
सेना समायोजनका क्रममा अनमिनले ४ हजार ८ जनालाई अयोग्य भन्दै शिविरबाट निकालेको थियो।