वैशाख ११, दाङ । मध्यरातमा बलात्कार गर्न खोज्ने एक जना पुरुषको महिलाको आक्रमणमा परी मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिकाकी ४० वर्षीया एक महिलाको आक्रमणबाट स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले प्रहरी नियन्त्रणमा रहेकी महिलाले खत्रीले बलात्कारको प्रयास गरेपछि लात्ताले हिकाउँदा अन्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको भन्ने बयान दिएको जानकारी दिए ।
घटना वैशाख ९ गते बिहान २ बजेको खुल्न आएको डिएसपी सापकोटाले सेतोपाटीलाई जानकारी दिए।
पक्राउ परेकी महिलाले दिएको बयान अनुसार ती महिलाको घरमा किराना पसल छ । ६४ वर्षीय खत्री ९ गते राति १ देखि डेढ बजेको बिचमा गुट्का किन्ने भन्दै ती महिलालाई उठाएका थिए।
तर गुट्का किनेपछि फेरि खत्रीले आफूलाई पानी प्यास लागेको बताएपछि उनीहरु दुबै जना महिलाको कोठामा गए । उक्त घरमा ती महिलाका छोरा छोरी पनि सँगै बस्दै आएका छन्।
त्यही क्रममा खत्रीले ती महिलामाथि जबरजस्ती बलात्कारको प्रयास गरेका थिए। त्यसले आफूलाई पीडा भएपछि लात्ताले हान्दा संवेदनशील अंगमा लागेर खत्रीको घटनास्थलमै मृत्यु भएको भन्ने बयान ती महिलाले दिएको ईप्रका प्रमुख सापकोटाले बताए।
‘मैले लात्ताले हिर्काउँदा संवेदनशील स्थानमा लाग्यो र त्यही लडे। उठाउन खोजेँ तर उठेनन्। त्यसपछि मैले शवलाई बिहान तन्ना ओढाइ दिएर छोरीको उपचार गर्न भन्दै बजार निस्केकी हु,’ ती महिलालाई उद्धत गर्दै डिएसपी सापकोटाले भने।
यसैबीच प्रहरीले ती महिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिएको छ। ५ दिन म्याद थपेर महिलामाथि अनुसन्धान सुरू गरेको डिएसपी सापकोटाले जानकारी दिए।