काठमाडौं । सरकारले यातातात क्षेत्रमा भएको सिण्डिकेट खारेज गर्ने गरी गरेका निर्णयका विरुद्ध गाडी मालिकहरुले गरेको आन्दोलनका कारण सर्वसाधारण मारमा परेका छन् । यातायात व्यवसायीहरुको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार बिहान यातातातका साधन नचलाउँदा सर्वसाधारण मारमा परेका हुन् ।
यातायात व्यवसायीहरुले शुक्रबार बिहान आठ बजेसम्म गाडी नचलाउँदा परीक्षा दिन हिँडेका परीक्षार्थीसँगै सर्वसाधारण अप्ठेरोका परेका छन् । ट्याक्सीले समेत सहजै गन्तव्यमा पुर्याउन नमानेपछि सर्वसाधारण मारमा परेका हुन् । यातायात व्यवसायीको आन्दोलनलाई इन्धन ढुवानी गर्नेहरुले पनि साथ दिएका छन् ।
व्यवसायीको आन्दोलनप्रति मजदुरहरुको साथ नभए पनि रोजिरोटीका लागि उनीहरु श्रम गर्न बाध्य छन् । व्यवसायीहरुले सिण्डिकेट खारेजीको निर्णय नसच्याए २७ गतेदेखि सार्वजनिक यातातात ठप्प पर्ने घोषणा गरेका छन् । सरकारले भने आन्दोलनका नाममा नचलेका गाडीलाई जफत गर्नेसमेत निर्णय गरेको छ ।
सरकारले केही समयअघि सिण्डकेट खारेजीको निर्णय गरेको थियो । सिण्डिकेटका कारण सार्वजनिक यातायातमा व्यवसायीको मनलाग्दी बढेको थियो भने उपभोक्ता र सरकार मारमा परेको थियो ।