जगतपुर खानेपानी योजनाको पहिलो उपभोक्ता समिती गठन

अनलाइन दर्पण 2018-04-28
img

यज्ञराज उपाध्याय

जगतपुर, १५ बैशाख । जानकी गाउँपालिका अन्तर्गत पर्ने साविक दुर्गौली गाविस वडा नम्बर ६ को मुक्त कमैया शिविर, वडा नम्बर ८ सुवर्णपुर र वडा नम्बर ९ जगतपुरलाई समेटेर जगतपुर खानेपानी योजना सुरु गरिएको छ ।

शनिबार जगतपुर सामुदायिक वनको कार्यालयमा भएको उक्त वडाका नागरिकहरुसङ्गको छलफल कार्यक्रम मार्फत जगतपुर खानेपानी योजनाका लागि पहिलो उपभोक्ता समिति समिती समेत बनाईएको छ ।

उपभोक्ता समिती बनाउदा उपस्थित नागरिक मध्य ९ जनाले अध्यक्षका लागि नाम लेखाएका थिए । त्यस्तै उपाध्यक्ष, सचिव र कोषाध्यक्षका लागि क्रमश: ४ जनाले नाम लेखाएका थिए । जसबाट अध्यक्षमा जगतपुरका भगवती दास चौधरी, उपाध्यक्षमा जगतपुरका बिजय शाह, सचिवमा सुवर्णपुरका झनक तिमिल्सिना र कोषाध्यक्षमा जगतपुरका अस्मिता गौतम सहित ४ जना सदस्यको उपभोक्ता समिती बनाईएको जानकी गाउँपालिका वडा नम्बर ६ का सचिव हरि बिष्टले जानकारी दिनुभयो ।

साविक दुर्गौली गाविस वडा नम्बर ६ को मुक्तकमैया शिविरबाट १ जना सदस्य राख्नुपर्नेमा उक्त ठाउँका कोहि पनि उपस्थिति नभएका कारण १ जना सदस्य बाहेक अरु ४ जना सदस्य उपभोक्ता समितिमा चयन भएका छन । गोरख बहादुर शाह, झंकर बिश्वकर्मा, रुपा चौधरी, रेखा नेपाली सदस्यमा चयन हुनुभएको हो ।

खानेपानी डिभिजन कार्यालय धनगढीको योजना अन्तर्गत साविक दुर्गौली गाविस्का विभिन्न २ ठाउँमा यस अगाडी नै उपभोक्ता समिति गठन भैसकेको थियो । त्यही क्रममा जगतपुर सामुदायिक वनको कार्यालय मै ओभरहेड टेंकी राख्ने गरेर शनिबार उपभोक्ता समिती बनाईएको हो ।

जानकी गाउँपालिका वडा नम्बर ६ को जिम्मेवारी पाएका हरि बहादुर बिष्टका अनुसार केही दिनपछि सामुदायिक वन भित्र वनले छुट्टाएको जग्गा छनोट गरेर तारबार गर्ने योजना रहेको छ ।

खानेपानी योजना अन्तर्गत जगतपुर खानेपानी योजनाका लागि आर्थिक बर्ष २०७४/०७५ मा रहेको ५ लाख रकम पाउनका लागि १% रकम उपभोक्ताबाट संकलन गर्नुपर्ने र उपभोक्ताहरुले नै १९% श्रमदान गर्नुपर्ने छ ।

यस अघि जानकी गाउँपालिका कै वडा नम्बर ६ अथवा साविक दुर्गौली गाविसको वडा नम्बर ४ धर्मापुरको कालिका प्राथमिक बिद्यालयमा ओभरहेड टेंकी रहने गरि उपभोक्ता समिती बनाईएको थियो । उक्त उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद उपाध्याय अबको केही दिनमै धर्मापुर कटान खानेपानी योजनाको सम्झौताका निमित्त डिभिजन कार्यालय धनगढी जाँदै गरेको बिष्टले बताए ।

सम्बन्धित समाचार