ट्रम्पमाथि गोली प्रहारको विश्व समुदायद्वारा विरोध

अनलाइन दर्पण 2024-07-14
img

अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारलाई लिएर विश्व समुदायले विरोध जनाएको छ। पेन्सिल्भेनिआमा आयोजित रिपब्लिकन पार्टीको र्‍यालीमा आइतबार प्रहार हुँदा उनी घाइते भएका हुन्। 

विश्वका नेताहरूले उक्त घटनाले आफूहरू स्तब्ध भएको प्रतिक्रिया व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनलगायत अमेरिकी राजनीतिज्ञले ट्रम्पमाथि आक्रमणको निन्दा गर्दै राजनीतिमा हिंसाका लागि कुनै स्थान नभएको बताएका छन्।

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले पनि उक्त आक्रमणको निन्दा गरेका छन्। “एक पटक फेरि, हामीले राजनीतिक प्रतिनिधिविरुद्धको हिंसा देखिरहेका छौँ,” उनले भने।  

बेलायती प्रधानमन्त्री किएर स्टार्मरले आइतबार अमेरिकी रिपब्लिकन पार्टीको चुनावी र्‍यालीमा भएको दृश्य देखेर आफू स्तब्ध भएको बताए। “कुनै पनि प्रकारको राजनीतिक हिंसा हाम्रो समाजमा अस्वीकार्य छ,” उनले भने।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले अमेरिका पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास ‘घृणित’ भएको बताए। स्कोल्जले एक्समा लेखेका छन्, “अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथिको आक्रमण निन्दनीय छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यस्ता हिंसात्मक गतिविधिले लोकतन्त्रलाई खतरामा पार्छ।” 

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले आइतबारको घटनालाई ‘त्रासदीपूर्ण’ भन्दै ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको विरोध गर्दै राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुन नहुने बताए। “अमेरिकी उपराष्ट्रपति ट्रम्पमाथि भएको आक्रमण दुःखद् घटना हो। राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुँदैन,” उनले भने।  

त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी रिपब्लिकन पार्टीका नेता तथा नयाँ राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि भएको गोली प्रहारप्रति प्रतिक्रिया दिँदै घटनाको निन्दा गरेका छन्। उनले घाइते ट्रम्पप्रति सहानुभूति प्रकट गरेको चीनको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

“हामी लोकतन्त्रलाई चुनौती दिने कुनै पनि प्रकारको हिंसाको विरुद्धमा दृढ रहनुपर्छ,” जापानी प्रधानमन्त्री फुमियो किशिदाले पनि राजनीतिक आक्रमणको विरुद्धमा प्रतिक्रिया व्यक्त गरे। 

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पेन्सिलभेनिआको घटना दुःखद् भएको र यसबारे आफूले जानकारी प्राप्त गरिराखेको बताइन्। साथै, उनले ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।

ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले ट्रम्पमाथि भएको आक्रमणको ‘लोकतन्त्र र राजनीतिक संवादका सबै समर्थकहरूले कडा निन्दा गर्नुपर्ने’ बताएका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले पूर्व अमेरिकी राष्ट्रपति सुरक्षित भएकोमा राहत व्यक्त गर्दै ट्रम्पको चुनावी कार्यक्रममा भएको डरलाग्दो दृश्यहरू देखेर स्तब्ध भएको बताए। “यो अस्ट्रेलिया र अमेरिकीहरूले साझा रूपमा अनुसरण गर्ने लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्रतामाथिको अक्षम्य आक्रमण हो,” अल्बनिजले भने। 

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले ‘कुनै पनि देशले यस्तो राजनीतिक हिंसाको सामना गर्नु हुँदैन’ भन्दै आक्रमणको निन्दा गरेका छन्। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पमाथि भएको आक्रमणले स्तब्ध बनाएको बताए।  यसैबीच अर्बपति एलन मस्कले ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै आक्रमणको विरोध गर्दै प्रतिक्रिया जनाएका छन्।

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति, पूर्वराष्ट्रपति र उम्मेदवारको कडा सुरक्षाबीच यसअघि पनि राजनीतिक हिंसाका घटना भएका छन्।

सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो भने सन् १९६८ मा उनका भाइ बबी केनेडीको गोली हानी हत्या गरिएको थियो। तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सन् १९८१ मा हत्याको प्रयासमा गरिएको यस्तै आक्रमणमा बाँच्न सफल भएका थिए।

सम्बन्धित समाचार