रूपक ढुङ्गाना, चाँगुनारायण । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र उपलब्ध खाद्य वस्तुको गुणस्तर र सुरक्षामा ध्यान दिन बजार अनुगमनलाई नियमित रूपमा अगाडि बढाइरहेको छ। नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै अखाद्य वस्तु, मिसावटयुक्त सामग्री, म्याद नाघेका वस्तुहरूको बिक्री वितरण रोक्न तथा अत्यधिक मूल्यवृद्धिबाट उपभोक्तालाई जोगाउन विविध कदम चालिरहेको छ।
नगरपालिकाले वडाहरू क्रमशः वर्गीकरण गरी वडा नम्बर १ देखि ९ सम्म नियमित रूपमा अनुगमन गर्दै आएको छ। यो कार्य विशेष गरी किराना पसल, मार्ट, होलसेल पसल, माछा मासु पसल, डेरी, तरकारी र फलफूल पसलहरूमा केन्द्रित छ। उपभोक्ताको उजुरीका आधारमा समेत विषयगत शाखाको प्रतिनिधिहरूले तत्काल अनुगमन गर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले उपभोक्ता हित संरक्षण समितिको मासिक बैठक आयोजना गर्दै अनुगमनको समीक्षा र आगामी रणनीति तय गर्ने व्यवस्था मिलाएको छ। यस क्रममा अनुगमन टोलीले बजारको स्थिति, समस्या, र समाधानका उपायहरूमाथि छलफल गरी थप सुधारका उपाय अपनाउने जनाइएको छ।
व्यवसायी र उपभोक्तालाई कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रचार सामग्री तयार गरी नगरभर वितरण गरिएको छ। सबै वडामा उपभोक्ता र व्यवसायीलाई लक्षित सचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जसले अनुगमनलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
अनुगमनका क्रममा तोकिएको मापदण्ड पालना नगरेको पाइएमा सम्बन्धित व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ। साथै, उपभोक्ता हित सम्बन्धी सङ्घ(संस्थाहरूलाई परिचालन गरी अनुगमनलाई थप व्यवस्थित बनाउन प्रयास गरिएको छ।
चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ। यसबाट उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा योगदान पुग्ने विश्वास लिइएको छ।