आज देखि एसईई परीक्षा सुरु हुँदै, कैलाली बाट १६ हजार परिक्षार्थी परिक्षामा सहभागी हुने

अनलाइन दर्पण 2018-03-22
img

यज्ञराज उपाध्याय / कैलाली, ८, चैत । कक्षा १० को अन्तिममा लिईने माध्यमिक शिक्षा परीक्षा (एसईई) को कैलालीका परीक्षा केन्द्रमा सम्पूर्ण तयारी सकिएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

प्रदेश नम्बर ७ मै शैक्षिक क्षेत्रमा अगाडी रहेको कैलाली जिल्लामा एसईईको परीक्षा दिने विद्यार्थीहरु पनि धेरै रहेका छन । बिहीबार देखि शुरु हुने यस बर्षको एसईईको परीक्षामा कैलाली जिल्ला भरी रेगुलर तर्फ १६ हजार ९० र एक्जाम्टेड तर्फ ७ सय जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन ।

कैलाली जिल्ला भरी रहेका रेगुलरमा ५० र एक्जाम्टेडमा ३ वटा परीक्षा केन्द्रमा विद्यार्थीहरुको उल्लेखनिय उपस्थिति हुने र परीक्षालाई अनुशासित, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गरिने जिल्ला शिक्षा कार्यालय कैलालीका नासु बालकृष्ण जोशिले बताए । यो अन्तिम पटक राष्ट्रिय परीक्षा बोर्डले लिन लागेको एसईई परीक्षा अर्को साल देखि प्रादेशिक सरकारले नै लिने भएकाले यो पटक अरु बर्ष भन्दा परीक्षा केन्द्रहरुमा कडाई समेत गरिने भएको छ ।

बिहिबार देखि साधारण तर्फ १७ र प्राविधिक तर्फ २० गते सम्म हुने एसईईको परीक्षालाई अनुशासित रुपमा सम्पन्न गर्न प्रती परीक्षा केन्द्र १० जना सुरक्षाकर्मीको आधारमा कैलाली जिल्लामा ५३० सुरक्षाकर्मी खटाईने जिल्ला शिक्षा कार्यालयले बताएको छ । परीक्षा केन्द्र र परीक्षा हलमा कसैले पनि आपराधिक क्रियाकलाप नगरोस भन्ने हेतुले सुरक्षा क्षेत्रमा समेत कडाई गरिएको जिल्ला शिक्षा कार्यालयले दाबी गरेको छ ।

टीकापुर नगरपालिकामा एसईई परीक्षा :- बिहिबार देखि साधारण तर्फ १७ र प्राविधिक तर्फ २० गतेसम्म ८ बजे देखि ११ बजे सम्म हुने एसईई परीक्षाको लागि टीकापुर नगरपालिकामा तोकिएका सबै परीक्षा केन्द्रमा तयारी सकिएको छ । ७ वटा रेगुलर र एउटा मात्र एक्जामटेड परीक्षा केन्द्र गरि जम्मा आठ वटा परीक्षा केन्द्र भएको टीकापुरमा यो बर्षको एसईई परीक्षामा करिब १ हजार ८ सय ८५ विद्यार्थीहरु रेगुलर तर्फ र २१५ जना विद्यार्थीहरु एक्जामटेड तर्फ सहभागी हुने टीकापुर श्रोत केन्द्रका श्रोतब्यक्ती धन बहादुर शाहीले जानकारी दिनुभयो ।

टीकापुर नगरपालिकाको सबैभन्दा ठुलो परीक्षा केन्द्र मानिने बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिद्यालय भने यो पटक परिक्षार्थीको संख्याले हेर्दा दोश्रो नम्बरमा रहेको छ । जहाँ यो पटकको एसईईको परीक्षामा टीकापुर नगरपालिकाको ४ र जानकी गाउँपालिकाको १ बिद्यालय गरेर पाँच बिद्यालयका ४ सय २ जना विद्यार्थीहरु परीक्षा दिन आउनेछन ।

परिक्षार्थीको संख्या हेर्दा यो पटक टीकापुर कै कर्णाली माध्यमिक बिद्यालयमा सबैभन्दा बढी परिक्षार्थीले परीक्षा दिने भएका छन । कर्णालीमा ४ सय २७ जना परिक्षार्थी सहभागी हुनेछन । त्यस्तै टीकापुर नगरपालिका अन्तर्गत टीकापुरकै खडक स्मृति माद्यामिक बिद्यालयमा ३ सय ८९ जना, खडक मेमोरियल एकेडेमीमा ३ सय ७३ जना, जनजागृती माध्यामिक बिद्यालयमा ३ सय ४१ जना, सरस्वती माद्यामिक बिद्यालयमा २ सय १५ जना (एक्जामटेड मात्र), राष्ट्रिय माद्यामिक बिद्यालयमा १ सय ७८ जना र सेती मैया चौधरी माध्यामिक बिद्यालयमा १ सय ७७ जना गरि जम्मा २ हजार १ सय विद्यार्थी सहभागी हुनेछन ।

टीकापुर नगरपालिका कै सबैभन्दा ठूलो परीक्षा केन्द्र मानिने बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिद्यालयमा १५ जना निरिक्षक, २ जना सहायक केन्द्राध्यक्ष, ६ जना कार्यालय सहयोगी र २ जना कर्मचारी नियुक्ति गरिएको बिद्यालयका प्रध्यानाध्यापक यज्ञराज ज्ञवालीले जानकारी दिनुभयो । प्रती केन्द्र १ जना केन्द्राध्यक्ष भएकाले टीकापुरमा ८ जना केन्द्राध्यक्ष र ८० जना सुरक्षाकर्मीहरु परीक्षा केन्द्रका लागि तोकिएका छन । अरु जानकारी भने टीकापुर नगरपालिकाको शिक्षा शाखाले दिएको छैन ।

सम्बन्धित समाचार

Advertisement